४८ घन्टे ‘क्वारेन्टाइन’मा परेको नेपाल एयरलाइन्सको जहाज आजबाट उड्ने

चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज मंगलबारबाट नियमित उडान गर्ने भएको छ।

जहाजले मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहा उडान गर्ने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म लैजान प्रयोग गरिएको बसलाई ४८ घण्टा क्यारेन्टाइनमा राखिएको थियो।

उद्धारमा प्रयोग भएका ७ वटा पर्यटकीय बसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वपट्टीको छुट्टै ‘पार्किङ वे’ मा राखिएको छ। नेपाल वायुसेवा निगमको एयरबस ३३० (वाइडबडी) र एम्बुलेन्सलाई पनि सँगै ‘रिमोर्ट पार्किङ वे’ क्यारेन्टाइनमा राखिएको छ। 

भाइरस फैलन सक्ने भन्दै उनीहरुले प्रयोग गरेको क्यारेन्टाइनमा राखिएको हो । प्रवक्ता खड्काका अनुसार जहाज भोलि दिउँसो 'डिप क्लिनिङ' गरेर रातिको उडानका लागि तयार पारिनेछ।

‘अहिले जहाजको ढोका बन्द गरिएर राखिएको छ। भोलि दिउँसो मज्जाले सफा गरिन्छ, सिटको कपडा सबै अर्को हालिन्छ,’ उनले भनिन्। 

वुहानबाट नेपाली लिएर जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार बस चालकलाई भने क्यारेन्टाइनमा राखिएको छैन।

विमानस्थल भित्र प्रवेश गर्नु अघिनै चालक सबैले सुरक्षित तरिका अपनाएको कारण डाक्टरको सल्लाह अनुसार क्यारेन्टाइनमा नराखिएको उनले बताए। 

जहाजका पाइलटसहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि चाँगुनारायण नगरपालिकास्थित नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएको छ।

उद्दार गरेर ल्याइएका नेपालीलाई भने खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिएको छ।

प्रकाशित मिति: : 2020-02-18 21:03:54

प्रतिकृया दिनुहोस्