भक्तपुरको खरिपाटीमा स्थानीयका लागि छुट्टै हेल्थ डेस्क

भक्तपुरको खरिपाटीमा स्थानीय बासिन्दाका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ। चीनको वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखेपछि हेल्थ डेस्क स्थापना गरिएको हो।

चाँगुनारायण–७ घुमाउनेमा रहेको सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक डाक्टर र एक नर्ससहितको टोली उपचारमा खटिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए।

आइतबार पहिलो दिन भएकाले स्वास्थ्य परीक्षणका लागि कोही नआएको डाक्टरले बताएका छन्। 

यसैबीच, चीनबाट ल्याइएका १ सय ७५ जना नेपालीको रगत र र्‍यालको नमुना संकलन गरिएको छ। संकलन गरिएको नमुना परीक्षणका लागि टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

चीनबाट विशेष विमानमा आज बिहान ४ बजेतिर त्रिभुवन विमानस्थल ल्याइपुर्‍याइएका १ सय ७५ जनालाई स्वास्थ्य सामान्य पाइएपछि खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो। 

नेपाल ल्याइएको १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालक, चालकदलका सदस्य चिकित्सक लगायतलाई १४ दिन डाक्टरको निगरानीमा राखिनेछ। 

प्रकाशित मिति: : 2020-02-17 10:34:58

प्रतिकृया दिनुहोस्