वुहानबाट उद्धार गरिएका नेपालीलाई चढाइएको विमानस्थल, बस र एम्बुलेन्स क्यारेन्टाइनमा

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म लैजान प्रयोग गरिएको बसलाई ४८ घण्टा क्यारेन्टाइनमा राखिएको छ। बसबाट भाइरस फैलन सक्ने भन्दै उनीहरुले प्रयोग गरेको सात वटा बसलाई क्यारेन्टाइनमा राखिएको हो । 

मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार बस चालकलाई भने क्यारेन्टाइनमा राखिएको छैन। विमानस्थल भित्र प्रवेश गर्नु अघिनै चालक सबैले सुरक्षित तरिका अपनाएको कारण  डाक्टरको सल्लाह अनुसार क्यारेन्टाइनमा नराखिएको उनले बताए। 

उनले भने,‘बसमा यात्रु र चालक बस्ने छुट्टै कोठा छ, ढोका खोल्न हाइड्रोलिक प्रयोग भएको छ, यात्रु र चालकको भेट नभएको कारण चालकलाई क्यारेन्टाइनमामा नराखिएको हो।’ 

उद्धारमा प्रयोग भएका ७ वटा पर्यटकीय बसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वपट्टीको छुट्टै पार्किङ वे मा राखिएको छ। नेपाल वायुसेवा निगमको एयरबस ३३० (वाइडबडी) र एम्बुलेन्सलाई पनि सँगै क्यारेन्टाइनमा राखिएको छ। 

प्रयोग भएका सबै सामाग्रीहरु विश्व स्वास्थ्य संगठनको नियमअनुसार ४८ घण्टासम्म ग्राउण्डेड हुनेछ।
 

प्रकाशित मिति: : 2020-02-17 03:59:37

प्रतिकृया दिनुहोस्