महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले आमसर्वसाधारणले परिवर्तनको महसुस गर्ने गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा मातहतका सबै प्रहरी इकाइका अधिकृतहरुलाई निर्देशन दिँदै उनले परिणाममुखी प्रहरी चाहिएको बताए। उनले उपत्यकाको प्रहरीलाई वाह! भन्ने बताउन कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए।
‘राजधानी जस्तो संवेदनशील क्षेत्रको कमाण्डरका रूपमा उल्लेख्य परिवर्तन पनि ल्याउन नसक्ने र परिणाम दिन नसक्ने तर सरूवा बढुवाको समयमा अवसरको खोजी गर्ने प्रवृत्ति मान्य हुन सक्दैन। सरकारको पहिलो तस्विर नेपाल प्रहरी हो। त्यसैले सुधारको अगुवाई पनि नेपाल प्रहरीले नै गर्नुपर्छ’, उनले भनेका छन्।
उनले ड्यूटी परिचालनमा कमजोरी देखिए ठाउँको ठाउँ कारबाही गर्ने पनि बताए। ‘बर्दी लगाएर बाटो मात्र उभिने र उपस्थिति जनाउने मात्र प्रहरी हामीलाई चाहिएको होइन। प्रहरी सेवामा परिवर्तनको अनुभूति दिलाउने प्रहरी चाहिएको हो। तपाईको विकल्पमा अरू कोही छैन भन्ने अहम कहिल्यै नपाल्नु होला’, पोखरेलले भने।
उनले नेतृत्व परिवर्तन पश्चात माथिल्लो दर्जामा भएको अवकाशको समयमा जनतामा एक प्रकारको कौतुहलता सृजना भएको बताउँदै भने, ‘यस्तो अवस्थामा सरकारले हामीलाई पूर्ण विश्वास गरेको छ। सरकारको विश्वासमा हामीले आफ्नो व्यवसायिकता, रचनात्मकता र परिणाममुखी कार्यसम्पादनको माध्यमद्वारा आफूलाई प्रमाणित गर्नु जरूरी छ।’