खरिपाटीका स्थानीय र प्रहरीबीच ढुङ्गा हानाहान

चाँगुनारायण नगरपालिका–६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ।

चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको विरोधमा स्थानीयवासीले विरोध गर्दै शुक्रबार गरेको आन्दोलनमा प्रहरीसँग झडप भएको हो। 

कार्यालय अगाडि सडक बन्द गराएर अवरोध गरी टायर बालेर विरोध गरेपछि झडप भएको वडा ६ का वडाध्यक्ष सन्तबहादुर तामाङ्गले बताए। सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको र दुवैतर्फका सामान्य घाइते भएको उनले बताए।

स्थानीयले एक सातादेखि विरोध गर्दै आएको र आज पनि दिनभर नै विरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताए। त्यसपछि आज साँझ ६ बजेसम्म भएको छलफलमा पनि समस्या समाधान नभएको बताएको छ।
 

प्रकाशित मिति: : 2020-02-15 09:26:29

प्रतिकृया दिनुहोस्