साम्राज्यवाद र इण्डो-प्यासिफिक

डा. उत्तम गौली

काठमाडाैं

साम्राज्यवाद बुझ्न सर्वप्रथम साम्राज्य बुझौं। साम्राज्य भनेको सामान्यतया (निरङ्कुश) सम्राट को महत्वाकांक्षाबाट संचालित शाषन प्रणाली हो। त्यस्तै साम्राज्यवाद भन्नाले शक्ति र प्रभुत्वको विस्तार गर्ने राज्य नीति वा अभ्यास हो। साम्राज्यवाद अहिलेको आधुनिक सभ्य समाजले पचाउने कुरा होइन। तसर्थ खोज्दै जॉंदा अलोकतन्त्रिक संरचना भएका देशमा साम्राज्यवादका जरा भेटिन्छ्न्।

प्राचीनकालमा साम्राज्यवादको उदय चीन र पश्चिमी एशिया बाट शुरु भयो। भूमध्यसागर क्षेत्रमा अशुरको अत्याचारी साम्राज्यलाई फारसीले प्रतिस्थापन गरेपछि मानिसलाई मानवीय व्यवहार गर्ने उदार खालको साम्राज्यवाद पनि आयो। उदार साम्रज्यको नमुनाको रुपमा ग्रीसमा साम्राज्यवादको जन्म भयो।

अलेक्ज्याण्डर द ग्रेट ९३५६ (३२३ ईसापूर्व) को अधीनमा ग्रीक साम्राज्यवाद पूर्वी भूमध्यसागर क्षेत्रमा पश्चिमी एशिया समेतलाई एकत्रित गरी चरम उत्कर्षमा पुग्यो। अलेक्ज्याण्डरले विश्वका सबै नागरिक समानताका आधारमा मिलेर बस्ने एकल राज्यको परिकल्पना गरे। त्यस्तो एकल राज्य स्थापना गर्ने अलेक्ज्याण्डरको सपना पुरा त भएन तर रोमनले बेलायतबाट इजिप्टसम्म आफ्नो साम्राज्य निर्माण चाहीँ गरे।

मानवीय चेतनाको बिकाससँगै मानवसभ्यता अघि बढ्दै जाँदा अहिलेको दुनियामा खुल्ला रुपमै म सम्राट हुँ भन्ने कोही पनि छैन। किनकी सबै शासकले जनताको अभिमत आफूसँग रहेको देखाउन रुचाउँछन् हात्तीको देखाउने दाँत भनेजस्तो भित्रभित्रै जनतालाई झुट, दमन र त्रासमा शासन गर्ने शासकले पनि प्रजातन्त्रको देखाउने दाँत लगाएका हुन्छ्न्। उदाहरणका लागि यो संसारकै सबैभन्दा अलोकतन्त्रिक देश उत्तर कोरियाले पनि आफ्नो देशको आधिकारिक नाम नै ‘डेमोक्र्याटिक पीपल्स रिपव्लिक अफ कोरिया’ राखेको छ। 

साम्राज्यवादी शासकले आफ्ना प्रतिद्वन्दिलाई सफाया गर्ने र आफू सधै शक्तिकेन्द्रमा रहिरहने मेसो मिलाएका हुन्छन्। हालसालैका उदाहरण हेर्ने हो भने रुसमा पुटिनले, चीनमा सी चिनफिङले, भेनेजुएलामा मादुरोले, उत्तर कोरियामा किम जुन उङ्ले, सिरियामा बसर–अल–असद्ले र साउदी अरेबियामा बिन सलमानले यस्तो व्यवस्था मिलाएका छन्। यी मध्ये केहीले देखावटी रुपमा चुनाब पनि गराएर आफैले अत्यधिक मत ल्याएको घोषणा गर्ने गरेका छन्। 

साम्राज्यवादको अभ्यास दुई किसिमले हुने गरेको छ– विशेष गरी प्रत्यक्ष क्षेत्रीय अधिग्रहणमार्फत वा राजनीतिक र आर्थिक नियन्त्रण प्राप्त गरेर। चाहे सैन्य, आर्थिक वा कुनै अन्य सूक्ष्म रूप–जुनसुकै रुपमा पनि साम्राज्यवादलाई अक्सर नैतिक रूपमा निन्दनीय मानिएको छ।

अमेरिकि जनताले सम्राज्यवादविरुद्ध लडेर आफ्नो देश स्वतन्त्र बनाएका हुनाले साम्राज्यवादको समर्थन गर्दैनन्। तर यो शब्द प्रायः अन्तर्राष्ट्रिय प्रचारमा विपक्षीको विदेश नीतिलाई निन्दा गर्ने र बदनाम गर्नमा प्रयोग गरिएको छ। हालका दिनमा तानाशाहले प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउन सोसल मीडियाको प्रयोग गरी मानिसलाई दिग्भ्रमित गराउने निन्दनीय काम गरेका छन्। यसबाट हामी चनाखो हुन जरुरी छ। 

जसरी सन १८१४ मा बलभद्र कुँवरको नेतृत्वमा नेपालीले बेलायका जनरल जिलेस्पीलाई हराएका थिए। त्यसरी नै जर्ज वाशिङटनको सैन्य कमाण्डमा साम्राज्यवादी शक्तिलाई १७८३ मा परास्त गरेपछि अमेरिकीले स्वतन्त्रताको अनुभूति गरे। जर्ज वाशिङटनसँगै साम्राज्यवादीसँग लडेका सहकर्मी साथीले उनलाई यसरी सम्मान गरेका थिए:"First in war—first in peace—and first in the hearts of his countrymen". 

यसरी सर्वत्र उनको चर्चा भएपछि जर्ज वाशिङटन अमेरिकाका राजा घोषित हुने निश्चित भयो। तर अचम्म! जर्ज वाशिङटनले श्रीपेच बहिष्कार गरे। उनले भने–‘राजा, सम्राट जस्ता थोत्रा परम्पराबाट हामी अघि बढ्नुपर्छ। हामीले गणतन्त्रको स्थापना गरौं।’ त्यसपछि अमेरिकामा जनताद्वारा चुनिएका व्यक्ति राष्ट्रपति हुने र उनकै अधीनमा सेना रहने संवैधानिक व्यवस्था सहितको गणतन्त्र स्थापना भयो।

जर्ज वाशिङटनले सारा अमेरिकी शक्ति आफ्नो हातमा आएको बेला राजीनामा दिंदै भने–‘नेतृत्व लिने मान्छेले सत्ता प्राप्त गर्न वा सत्तामा टिकिरहन काम गर्ने होइन। जनताको मन जित्न काम गर्नुपर्छ।’ जीवनमा उनले हारेको भनेकै अमेरिकी जनतासँग थियो। आफ्नो पदबाट राजीनामा दिएर किसानको जीवन बिताइरहेका जर्ज वाशिङटनलाई अमेरिकी जनताले त्यत्तिकै बस्न दिएनन्। उनलाई राष्ट्रपतिमा उठ्न आग्रह गरियो। नभन्दै उनी १७८९ को चुनावबाट अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भए।

उनले आफ्नो नाम जहॉंपनि टॉंस्नेजस्ता प्रचारबाजी मन पराउँदैन्थे। तर पनि पछि उनकै नाममा देशको राजधानीको नामाकरण भयो। यसै क्रममा एक सिंङगो राज्यले र कैयौं शैक्षिक संस्था समेतले उनको नाम राखे। अमेरिकी नेतृत्वको यहि आदर्शका कारण लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताप्रति अमेरिकीको अकंटक विश्वास रहिआएको छ। पुनश्च: जन–अकांक्षाबाट विधिको शासनको मुताविक संचालित राष्ट्रमा सम्राट हुँदैनन्। आवधिक निर्वाचन बाट जन–आकांक्षाको प्रतिनिधित्व गर्दै चलेका हुन्छन्। यदि उनीहरुमा सम्राट बन्ने स्व:आकांक्षा पलायो भने जनप्रतिनिधिबाट महाअभियोग ल्याएर हटाइन सकिने डर हुनेभएकोले विधिको शासन रहुन्जेल यस्ता आकांक्षी सम्राट बनिहाल्न चाहीँ सक्दैनन्। 

साम्राज्यवादका केही पछिल्लो समयका आक्रामक उदाहरण यस्ता छन्। सन् १९९१ मा इराकका सद्दाम हुसेनले कुवेतमाथि हमला गरे (तर कुवेतले अमेरिकाको गुहार मागेपछि भएको गल्फ–वारमा इराक पराजित भएको थियो)। रुसले ५ बर्ष अघिमात्रै क्रिमियालाई आफ्नो भूभागमा गाभ्याे। युक्रेनलाई पनि रुसले निल्ने योजना बनाउँदै छ तर युक्रेनले अमेरिकाको सहारा लिन खोज्दैछ। अमेरिकी जनता प्रजातन्त्रका पक्षपाति छन्। तर प्रजातन्त्रकै लागि पनि अन्य देशमा हस्तक्षेप गर्ने काम न्युन गर्दै जाने नीति लिएका छन्।

राष्ट्रपति ट्रम्पको परराष्ट्र नीतिको अमेरिकाभित्रै विरोध भइरहेको छ। हालसालै अमेरिकी तल्लो सदनले यस विषयमा संकल्प प्रस्ताव पारित गरेको छ र माथिल्लो सदनमा छलफल भइरहेको छ। तर चीनले हालसालै दक्षिण चीन सागर (साउथ–चाइना सी) का व्यापारिक मार्गमा अवरोध सिर्जना गरेकोमा अमेरिका असन्तुष्ट छ। 

वाशिङटनले दक्षिणी चीन सागरमा दाबी गरेको छैन तर बेईजिङले जलमार्गलाई सैन्यकरण गरेको र अवैधानिक क्षेत्रीय दावी गरेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम जलमार्गलाई स्वतन्त्र र खुल्ला रहन दिनु जरुरी छ। अमेरिकाको इण्डो–प्यासिफिक नीतिले पनि उक्त व्यापरिक मार्गलाई एकलौटी रुपमा चीनले मात्रै उपभोग गर्ने होइन। बरु, जापान, फिलिपिन्स, भियतनाम, इन्डोनेशियालगायतका सबै राष्ट्रले खुल्ला रुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भन्दै आएको छ।

अन्तर्राष्ट्रिय संस्था अन्तर्गत शान्तिपूर्ण तरिकाले राष्ट्रको वैधानिक आकांक्षालाई पूरा गर्ने र उनीहरूको अवैधानिक दावीलाई निरुत्साहित गर्ने प्रयास गरिएको छ। त्यसैकारण सो समुद्री मार्गलाई पनि चीनले मात्रै एकलौटी उपभोग गर्ने होइन, बरु जापान, फिलिपिन्स, भियतनाम, इन्डोनेशियालगायतका सबै राष्ट्रले खुल्ला रुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भनिदै आएको हो। अब खुल्ला अर्थव्यवस्थामा रहने वा चीनको एकलौटी बजारमा समाहित हुने भन्ने कुरा यी विभिन्न देशको सामुहिक नीतिगत सहमतिमा निर्भर गर्नेछ। 

चीनमा निर्भर रहेको उत्तर कोरियामा आर्थिक विकासको कुनै लक्षण नदेखिएकोले यो क्षेत्रका सबै जसो देशले स्वतन्त्र र खुल्ला प्रशान्त क्षेत्रको पक्षमा उभिने संकेत देखाएका छन्। तर आफ्नो एक्लौटी गर्ने आकांक्षा पूरा गर्ने प्रयास स्वरुप चीनका शासकले अमेरिकालाई साम्राज्यवादी भनेर आरोप लगाउने विकल्प भने खुल्ला नै छ। स्मरण रहोस, जनताप्रतिको जवाबदेही र पारदर्शिता नभएका देशका शासकले बेइमानीपूर्वक सोसल मीडियाबाट भ्रम फैलाइरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-15 10:10:00

प्रतिकृया दिनुहोस्