के दृष्टिबिहीनको मुटु हुँदैन? 

जीवन बनिया

काठमाडाैं

साङ्ग व्यक्तिका लागि जीवनमा प्रेम जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ हामी दृष्टिबिहीनका लागि पनि। 

हामीलाई पनि प्रेमी–प्रेमिका बनाउन मन लाग्छ। एकअर्काको हात समाएर सुख–दुःख बाढ्न मन पर्छ। पिढा हुँदा अंगालोमा बाँधिएर रुन मन लाग्छ। 

बिछोडमा जसरी तपाईहरू तडपिनु हुन्छ। हो, हामी पनि त्यसरी नै रुने गर्छौ। प्रेममा हुँदा जसरी तपाईहरू प्रेमी अथवा प्रेमिकालाई देख्न वा बोल्न नपाउँदा पीडा बोध गर्नुहुन्छ। हामी पनि यस्तै पीडा महसुस गर्छो। 

त्यसो भए के हामी तपाईहरू भन्दा फरक छौं? 

सेलिब्रिटीको प्रेम कथा हामी सहजै पढ्न र सुन्न पाउँछौं। तर, दृष्टिबिहीनको हकमा अझसम्म उनीहरूको प्रेम प्रसंग बाहिर आएको छैन। 

आज फेब्रुअरी १४ अर्थात प्रेम दिवस (भ्यालेन्टाइन डे)। आज पहिलो पल्ट म दृष्टिबिहीनको प्रेम प्रसंगलाई लिएर प्रस्तुत हुँदैछ। म आफै दृष्टिबिहीन। त्यसैले प्रेमको विषयलाई अतिरञ्जित गर्नु पनि मेरो उद्देश्य होइन। मैले खाली एउटा कुरा जोड्न मात्र आँटेको हो–के दृष्टिबिहीनहरूको मुटु हुँदैन? 

मलाई कसैले तिमीहरूको प्रेम हुँदैन? केटी कस्ती छ? अनि तिमीहरू कसरी प्रेम व्यक्त गर्छो? भनेको सुन्दा हाँसो उठेर आउँछ। दृष्टिबिहीनमा यस्ता थुप्रै जोडी छन्, जसले प्रेम विवाह गरेका छन्। अझै धेरै प्रेम सम्बन्धमा बसेका छन्। 

युट्युबर मधुसुदन घिमिरे, जो झन्डै ६ महिनादेखि प्रेम सम्बन्धमा छन्। भन्छन्, ‘प्रेम जोसँग जहाँ पनि हुन सक्छ।’ युट्युबमा  कार्यक्रम सञ्चालन गर्दै आएका मधुसुदनलाई एक पल्ट मुक्तक दिने निहुँमा नेपालगञ्जकी एक युवतीले सम्पर्क गरिन्। सुरुका दिन उनीहरू बीच सामान्य संवाद मात्र हुन्थ्यो। काठमाडौंको गोल्डेन गेटमा बिए प्रथम वर्षमा अध्ययनरत मधुसुदनको झुकाव विस्तारै ती युवतीतर्फ बढ्यो। र, एकदिन दुबैले आफ्नो मनको बह पोखे। 

मधुसुदनकी प्रेमिका भने साङ्ग हुन्। उनीहरूले चितवनमा पुगेर डेटिङ समेत गर्न भ्याइसकेका छन्। यसपालिको प्रणय दिवसमा उनको प्रेमीका ब्यस्त छिन्। त्यसैले फोनबाट कुराकानी हुने उनी बताउँछन्। ‘के गर्ने उनी काममा व्यस्त छिन्। फेरि नेपालगञ्ज र काठमाडौंको दूरी पनि लामै छ नि। त्यसैले फोन गरेरै भ्यालेन्टाइन डे मनाउनु पर्ला,’ उनले बिएल नेपाली सेवासँग भने। 

प्रेम दिवस प्रेमी–प्रेमिकाबीच भेटघाट गर्ने, खुसी साटासाट गर्ने दिन पनि हो। धनकुटाकी दुष्टिविहिन अस्मिता पनि तीन महिनादेखि कसैको प्रेम सम्बन्धमा बाँधिएकी छिन्। धरानमा बिए पहिलो वर्षमा अध्ययनरत उनी यसपालि मन्दिर गएर प्रेमीसँग ‘भ्यालेन्टाइन डे’ मनाउने योजना रहेको बताउँछिन्। उनको प्रेमी पनि दृष्टिबिहीन नै हुन्। ‘दृष्टिबिहीनको मार्का दृष्टिबिहीनलाई नै थाहा हुन्छ। त्यसैले मैले प्रेमी पनि यस्तै रोजे,’ उनले भनिन्। 

कीर्तिपुरमा बसोबास गर्ने मनिसाले अहिलेसम्म प्रेमी भेटेकी छैनन्। तर, उनको पनि चाहना छ, स्वरको धनी भएको, हल्का कमेडी गर्ने र आफूलाई केयर गर्ने केटालाई प्रेमी बनाउने। उनको प्रयासले अर्को वर्ष सार्थकता पाओस् भन्ने कामना उनका साथीहरू गरिरहेका छन्। 

यस्तै, धरानकी रिना लिम्बु विगत ५ वर्षदेखि प्रेमजालमा छिन्। उनलाई आफ्नो प्रेमीको आफूलाई केयर गर्ने बानी खुब मनपर्छ। 

तर, धरानकै विनिता सतारको भने कहानी अर्के छ। उनी आपसी सम्झदारी बन्न नसक्दा छिटै प्रेम सम्बन्ध टुँगिएको दुःखेसो गर्छिन्। उनी करिब आठ महिना सम्बन्धमा रहिन्। प्रेमीबाट बिछोड हुँदा आफू रुएको उनको भनाई छ। ‘उसले भनेको केही कुरा म गर्न सक्दिन्थे। त्यसैले बिछोड भयो,’ उनले भनिन्, ‘सम्बन्धमा हुँदा हामी फोनबाटै प्रायः माया साट्ने गथ्र्यो।’

धरानको हरियो वन घुम्दा आँखा नदेखे पनि चिडियाघरमा राखिएको चराचुरुङ्गीको आवाजले आफू मिठो कल्पनामा डुब्ने गरेको उनले बताइन्। 

विनिता जस्तै सुनिता साहको पनि प्रेम सम्बन्ध स्थापित भएको दुई महिनामै ‘ब्रेक अप’ भएको थियो। उनी फोनमै माया बसेको र फोनमै टुँगिएको बताउँछिन्। ‘हामी जस्ता दृष्टिबिहीन केटीलाई आँखा देख्ने केटाहरूले फसाउन खोज्ने रहेछन्’, उनी नौ महिनादेखि आफू सिङ्गल रहेको बताइन्। 

उनी दृष्टिबिहीनको पनि वेदना हुने हुँदा प्रेमी आफूहरूलाई पनि चाहिने बताउँछिन्। तर, त्यो प्रेम समानता र परस्पर सम्मानमा आधारित हुनुपर्ने उनको ठ्म्याई छ। 
 

प्रकाशित मिति: : 2020-02-15 03:40:00

प्रतिकृया दिनुहोस्