अमेरिकाको न्युह्याम्पसायर प्राइमरीमा सिनेटर स्याण्डर्स विजयी

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेद्वारीका लागि मंगलबार सम्पन्न 'न्युह्याम्पसायर प्राइमरी'मा बर्नी स्याण्डर्स विजयी भएका छन्। छिमेकी राज्य भ्रमण्टका सिनेटर स्याण्डर्सले जिते पनि दोस्रो स्थानमा रहेका मेयर बटिजजसँग उनी बराबरी डेलिगेट बाँड्न बाध्य भए।

९६ प्रिसिङ्ट मत रिपोर्टिङ हुँदा २५.९ प्रतिशत मतका साथ सिनेटर बर्नीले अग्रता हासिल गरेका छन् भने २४.४ प्रतिशत मतका साथ मेयर बटिजज उनलाई पछ्याइरहेका छन्। यसैगरी सिनेटर एमी क्लोबचर १९.७ प्रतिशत मतका साथ तेस्रो स्थानमा हुँदा सिनेटर एलिजावेथ वारेन  ९.३ प्रतिशत र पूर्व उपराष्ट्रपति बाइडेन ८.४ प्रतिशत मतका साथ क्रमश: चौथो र पाँचौ स्थानमा छन्।

न्युह्याम्पसायरमा डेमोक्रेटिक पार्टीले २४ डेलगेट पाउँछ । २४ मध्ये स्याण्डर्स र बटिजजले ९ ९ बाँड्नुपर्ने भएको छ भने बाँकि ६ डेलिगेट क्लोबचरको खातामा ग्उका छन्। सिनेटर वारेन र पूर्वराष्ट्रपति वाइडनको पक्षमा भने एक डेलिगेट पनि परेनन् ।

आयोवा ककस र प्राइमरीपछि डेलिगेट संख्यामा भने मेयर बटिजजले  सिनेटर स्याण्डर्सलाई उछिनेका छन्। अब बटिजजलाई २३, स्याण्डर्सलाई २१, वारेन र क्लोबचरलाई ७-७ र वाइडनलाई ६ डेलिगेट मिलेका छन्।  

अमेरिकामा यसै वर्षको नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि दुई ठूला पार्टीले उम्मेद्वार छान्ने आन्तरिक चुनावी प्रक्रिया गत फेब्रुअरी ३ देखि सुरू भैसकेको छ। त्यही क्रमममा मंगलबार न्युह्याम्पसायर प्राइमरी सम्पन्न भएको हो। 

न्युह्याम्पसायर प्राइमरीको चुनावी दौडसम्म आइपुग्दा डेमोक्रेटिक पार्टीबाट १२ र रिपब्लिकन पार्टीबाट तीनजना उम्मेद्वार मैदानमा छन्। 

यसैबीच न्युह्याम्पसायर प्राइमरीको परिणाम आउने क्रमसँगै डेमोक्रेटिक पार्टीमा उम्मेद्वार छाँटिन् क्रम पनि सुरू भएको छ। व्यापारी एन्ड्यु याङ र कोलोराडोमा सिनेटर माइकल बेनेटले उम्मेद्वारी स्थगित गरेको घोषणा गरेका छन्। डेमोक्रेटिक पार्टीबाट अझै पनि १० जना उम्मेद्वार बाँकि रहेका छन्। 

प्रकाशित मिति: : 2020-02-13 00:48:56

प्रतिकृया दिनुहोस्