सरकारले चीनमा रहेका नेपाली लिन जाने जहाजको चालक दलका सदस्यलाई तालिम दिने

सरकारले बुधबार चीनमा रहेका नेपाली लिन जाने जहाजको चालक दलका सदस्यलाई तालिम दिने तयारी गरेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो  ।

त्यस्तै बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। चीनबाट नेपाल फर्कन आवेदन दिएका १ सय ८० जनालाई आउँदो शनिबार नेपाल ल्याउने सरकारको योजना छ ।

चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ। 

कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चारवटा ब्लकमा सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताए। विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने उनले जानकारी दिए। 

चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक  फागुन ३ गते नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताए। 

चीनबाट ल्याउनुअघि त्यहाँको विमानस्थलमा पनि जाँचिने र नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण हुने भएकाले सङ्क्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे।

प्रकाशित मिति: : 2020-02-12 21:22:47

प्रतिकृया दिनुहोस्