मोदीलाई केजरीवालले दिएको जबरजस्त धक्का 

भारतको राजधानी दिल्ली विधानसभाको चुनावमा फेरी एक पटक आठ वर्ष अघि मात्र निर्माण भएको आम आदमी पार्टी बिजयी भएको छ । भारतको केन्द्रीय सरकार चलाईरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले प्रधानमन्त्री, सम्पूर्ण मन्त्री र सांसदहरुलाई चुनावी प्रचारमा परिचालन गर्नुका बावजूद दोश्रो स्थानमा चित्त बुझाउनु परेको छ । २०१३ अघि दिल्ली सरकार चलाएको भारतको सबैभन्दा पुरानो राजनीतिक पार्टी कांग्रेस एक सिट पनि नजितेर कमजोर तेश्रो भएको छ । 

याे पनि: हारेपछि कप्तान मल्लले पत्रकारलाई सोधे– कसरी खेल्नुपर्ने हो?, भन्नुस् न (भिडियाे)

दिल्ली विधानसभाको निर्वाचन भारतमा मात्र नभएर नेपालमा पनि चासोसाथ हेरिन्छ । खासगरी बैकल्पिक राजनीति गर्छु भन्नेहरुका लागि अरबिन्द केजरीवालको आम आदमी पार्टी प्रेरणाको श्रोत रहेकाले पनि दिल्लीको चुनावमा नेपाली राजनीतिको चासो छ । योसँगै उग्र हिन्दूत्वको राजनीतिलाई अघि बढाएको भारतीय जनता पार्टीको विजय नरुचाउनेहरुलाई पनि आपले आकर्षित गर्नेगरेको छ । भारतमा धर्मलाई राजनीतिसँग मिसाउने रणनीति अघि बढाइरहेको भाजपाको विजय रथ अघि बढिरहेमा त्यसले नेपाली राजनीतिलाई पनि उग्र दक्षिण ध्रुवमा लैजाने आशंकाले उनीहरु कुनै शक्तिले भाजपालाई रोकोस् भन्ने चाहन्छन् । 

याे पनि: एमसीसी कार्यदलको सिफारिश पार्टीका लागि बाध्यकारी हुन्छ : झलनाथ खनाल

भारतीय राजनीतिका लागि त त्यहाँको राजधानी दिल्लीको चुनाव महत्वपूर्ण हुने नै भयो । सुरक्षा र जमिनको अधिकार नरहेको आधा राज्य भएर पनि दिल्लीको राजनीतिले पूरै भारतलाई प्रभावित गर्ने हैसियत हुँदा त्यहाँका सबै पक्षको चासो छ । यस्तो चासोका बीच केजरीवालको पार्टीले सर्वेक्षणहरुले संकेत गरे अनुसार नै आगामी पाँच वर्षका लागि सरकार बनाउनेगरी विजय प्राप्त गरेको छ । 

पक्षबिपक्षका रणनीति

नरेन्द्र मोदीलाई दोश्रो पटक प्रधानमन्त्री बनाउनेगरी सन् २०१९ मा भएको लोकसभा चुनावमा दिल्लीका सातै सीट भाजपाले बिजयी पाएको थियो । २०१५ को विधानसभा चुनावमा दिल्लीका ७० मध्ये ६७ सीट जितेको आप २०१९ को लोकसभा चुनावमा दिल्लीका दुई सीटमा मात्र दोश्रो भएको थियो, पाँच सीटमा कांग्रेसभन्दा पछि भएर तेश्रो बनेको थियो ।

त्यस्तोमा, आपका बिपक्षीले ‘यो पटक हाफ, अर्काे वर्ष साफ’ भन्न थालेका थिए । २०१४ को लोकसभा चुनावमा पंजाबमा ४ सीट जितेकोमा २०१९ मा एक सीट मात्र जित्न सकेको थियो । उसका अरु प्रभाव रहेका राज्यहरु हरियाणा र गोवामा पनि उ अरु कमजोर बनेको थियो । यस्तोमा दिल्लीमा यो विजय प्राप्त नगरेको भए भारतीय राजनीतिमा अकस्मात उदाएको आप त्यसैगरी समाप्त हुनसक्थ्यो । त्यसैले दिल्लीको यो चुनाव आपका लागि ‘गर या मर’जत्तिकै महत्वको थियो । 

याे पनि: धमाधम बन्दै छ, २२ तल्ले धरहरा (भिडियाे सहित)

त्यो सबै विचार गरेर केजरीवाल र उनको टिमले लोकसभामा भाजपाले पाएको बिजय र भारतमा विकास हुँदै गएको अन्धराष्ट्रवाद र अति हिन्दूत्वको माहोललाई सम्झदै आफ्नो रणनीति अघि बढाउन सुरु गर्यो । त्यसको सुरुवातका रुपमा मोदी सरकारले जम्मू कास्मिरको विशेष हैसियत समाप्त पारेको कदममा उसले आफूलाई निरपेक्ष राख्यो । त्यस विषयमा कांग्रेस र कम्युनिष्ट पार्टीहरुले जसरी सरकारको विरोधमा उसले आफूलाई उभ्याएको भए भाजपाले आपलाई पनि कांग्रेसलाई जसरी मुश्लिम पक्षधरका रुपमा चित्रित गर्न सक्थ्यो । जसले, दिल्लीका ८५ प्रतिशतभन्दा धेरै हिन्दू मतदातालाई प्रभावित पार्न सक्थ्यो । 

यही रणनीति अनुसार, मोदी सरकारले संसदबाट पारित गराएको नागरिकता सम्बन्धी नयाँ कानुनमा पनि आप निरपेक्ष बस्यो । त्यसैको श्रृंखलाका रुपमादिल्लीको शाहिनवागमा धर्ना बसिरहेका मुश्लिमहरुप्रति भाजपा नेताहरुको आक्रमक टिप्पणीमा केजरीवाललगायत आपका नेताहरु बचिरहे । पाकिस्तान, काश्मिर र मुश्लिम विषयमा भाजपाले जति तान्न खोज्दा पनि बच्नसक्नु आपले अहिले पाएको सफलताको मुख्य कारण हो । 

लोकसभा चुनावमा पनि आपले आफ्नो सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधार र प्राप्त गरेको सफलता जनताबीच लगेको थियो र त्यसका नाममा मत मागेको थियो । बिजुली र खानेपानी निशुल्क गरेको जश पनि उसलाई छँदैथियो । तर, राष्ट्रिय सुरक्षाका नाममा गरिने पाकिस्तानको विरोध रमुश्लिम धर्मप्रति चरमघृणा त्यो चुनावको मुख्य मुद्धा बनाउन भाजपाले सफलता पाएको तथा राष्ट्रिय राजनीतिमा आपको उपस्थिति सम्भव नरहेको मान्दै मतदाताले आपलाई जित्नेगरी मत दिएनन् । त्यही कारण भाजपालाई नरुचाउने मतदाताको ठूलो संख्याले कांग्रेसलाई मत दिँदा दिल्लीमा आप कमजोर तेश्रो बन्न पुगेको थियो । 

याे पनि: लेबननबाट फर्किएर चटपटे व्यवसाय थालेकी दीपा भन्छिन्– छोरीलाई उच्च शिक्षा दिनुछ (भिडियो)

तर, दिल्ली प्रदेशमा २०१५ देखि सरकार चलाइरहेकाले विधानसभा चुनावमा आपले उस्तै जीत दोहोर्याउन सम्भव रहेको मनोबिज्ञान दिल्लीका मतदाताको हुने नै भयो । यस्तोमा केजरीवालले आफ्नो सरकारले गरेका काम र उपलव्धीहरुलाई मुख्य एजेण्डाका रुपमा मतदातामा लगेर त्यो मनोविज्ञानलाई अरु बलियो बनाउने प्रयास गरे । एक वर्षअघि मात्र लोकसभा चुनावमा भाजपाले ५६ प्रतिशत मत पाएकाले ती मतदातालाई फर्काउन उनले सार्वजनिक सवारी साधनमा महिलाका लागि निशुल्क यात्राको कार्यक्रम ल्याए ।

बृद्धबृद्धालाई निशुल्क तिर्थयात्रा गराए । यसलाई बिपक्षीले आप सरकारले मतका लागि सरकारी बजेट खन्याएको भनेर विरोध गरेकोमा आप नेताहरुले विपक्षीले जिते त्यो सुविधा खारेज हुने प्रचार लगेपछि बिपक्षी प्रतिरक्षात्मक बने । केजरीवाल तेश्रो पटक मुख्यमन्त्री बन्नेगरी अहिले आएको दिल्ली वधानसभा चुनावको यो परिणाम यिनै रणनीतिहरुको जोड हो । 

उता, गत वर्ष लोकसभा चुनावमा दिल्लीमा पनि ठूलो मतान्तरले जितेकाले विधानसभामा नजित्दा प्रधानमन्त्री मोदी र भाजपाको लोकप्रियता घटेको मानिने भएकाले यो चुनाव भाजपाका लागि पनि ठूलो महत्वको थियो । हरियाणामा गठवन्धनको सहयोगमा सरकार बनाउनु परेको, महाराष्ट्रमा चुनावी गठवन्धनमा रहेको शिव सेनाले अर्काे खेमाका कांग्रेस र राष्ट्रवादी कांग्रेससँग मिलेर सरकार बनाएको तथा झारखण्डमा पराजय बेहार्नुपरेकाले दिल्लीको चुनावमा बिजयी पाउनु भाजपाका लागि महत्व हुन गएको थियो । 

याे पनि: बाच्नलाई काठमाडाैंकाे चिसाेमा मकै बेचिरहेकी ७० वर्षीय आमा (भिडियाे)

आफूले जितेको दिल्ली नगरका कामहरु उल्लेख गर्ने प्रकारका नहुँदा तथा केन्द्रीय सरकारका उपलव्धीहरु पनि देखाउनेखालका नहुँदा भाजपाका लागि लोकसभा चुनावमा प्रयोग गरिएका रणनीति दोहोर्याउनुको विकल्प थिएन । त्यसैले उसले मुश्लिम  र पाकिस्तान विरोधमा मतदातालाई ध्रुविकरण गरेर हिन्दू मतदातालाई आकर्षित गर्न तथा विपक्षलाई आफूलाई अनुकूल हुनेगरी तिनै मुद्धामा तान्न भरमग्दुर प्रयास गर्यो ।

त्यसका लागि उसले प्रधानमन्त्री मोदी, मन्त्रीहरु र ३०० भन्दा बढि लोकसभा सांसदहरुलाई दिल्लीमा उतार्यो । ५००० साना ठूला सभाहरु गर्यो । तर, झण्डै २ करोड जनसंख्या रहेको दिल्लीमा ६० लाख पार्टी सदस्य रहेको बताउने भाजपाले २०१५ को विधानसभा चुनावभन्दा मत प्रतिशत बढाएपनि जित्न सकेन । 

शिला दीक्षितले लगातार १५ वर्ष सरकार चलाएको दिल्लीमा कांग्रेस निकै कमजोर बन्नु आपले बिजय पाउनुको अर्काे कारण रह्यो । लोकसभा चुनावमा भाजपाभन्दा निकै पछि परेपनि दोश्रो मत ल्याएकाले कांग्रेसको पुनर्जागरण हुने केहीको आँकलन थियो । तर, चुनावी माहोल तात्नथालेसँगै कांग्रेस प्रतिस्पर्धाभन्दा बाहिर देखिनथाल्यो । यस्तोमा, भाजपा र उसका एजेण्डा मन नपराउनेहरु कांग्रेस जित्न नसक्ने देखेर भाजपालाई हराउन सक्ने आपतर्फ एकोहोरिए । यसले, दिल्ली तथा भारतको राष्ट्रिय राजनीतिमा पनि कांग्रेसको पुनर्जागरणको सम्भावनालाई कमजोर बनाएको छ । 

परिणामको महत्व

गत वर्ष लोकसभा चुनावमा ठूलो बिजय पाएको भाजपालाई दिल्ली विधानसभा चुनावको यो परिणामले ठूलो धक्का लागेको छ भने सम्पूर्ण बिपक्षलाई उत्साहित बनाएको छ । यो परिणामले छिटै निर्वाचन हुन लागेको बिहारमा पनि कुनै न कुनै प्रकारको प्रभाव पार्न सक्छ भन्ने भारतीय संचार माध्यमहरुको आँकलन छ । यो किन भने, बिहारमा भाजपासँग सत्तासाझेदारी गरिरहेको नितिषकुमार नेतृत्वको जनता दल युनाइटेड भर्खरै छाडेका चुनावी रणनीतिकार प्रशान्तकिशोर आपको चुनावी अभियानमा संलग्न थिए तथा उनको आडमा आपले बिहारको राजनीतिमा प्रवेश गर्न सक्ने उनीहरुको बुझाई छ ।

याे पनि: लेबननबाट फर्किएर चटपटे व्यवसाय थालेकी दीपा भन्छिन्– छोरीलाई उच्च शिक्षा दिनुछ (भिडियो)

 

भाजपा र जेडियु गठवन्धनलाई चुनौति दिइरहेको लालु यादव नेतृत्वको आरजेडी र कांग्रेस गठवन्धन त्यहाँ छँदैछ तथा भारतीय राजनीतिमा बिपक्षीको आवाजका रुपमा उदाईरहेका भारतीय कम्युनिष्ट पार्टीका नेता कन्हैया कुमार पनि बिहारको राजनीतिलाई प्रभावित पार्ने क्षमता राख्छन् । त्यस्तोमा बिपक्षी गठवन्धन बनेमा सत्तारुढ गठवन्धन अप्ठ्यारोमा पर्न सक्छ । 

दिल्लीको चुनावी परिणामले धर्मलाई राजनीतिसँग मिसाएर चुनाव जित्ने भाजपाको रणनीतिलाई विकास र आम मानिसका समस्यालाई चुनावी एजेण्डा बनाउने आपले पराजित गरेकाले अबका चुनावहरुमा यी एजेण्डा प्रभावी हुनसक्ने भारतीय राजनीतिका केही विश्लेषकहरुको अपेक्षा छ । भारतको एउटा सानो राज्यको चुनाव र परिणामले त्यहाँको राजनीतिको दिशा परिवर्तन गर्ने क्षमता कति राख्ला भन्ने प्रश्न छँदैछ, तर भाजपाको साम्प्रदायिक राजनीतिलाई कसरी पराजित गर्ने भनेर दिमाग खियाइरहेकालाई यो परिणामले एउटा सम्भावित बाटो भने उपहारका रुपमा दिएको छ । यस्तोमा भाजपाका बिपक्षीहरुले यो नयाँ बाटो अवस्य प्रयोग गर्नेछन् । 

तर, आपले पत्ता लगाएको बाटो हिड्न अरुलाई त्यति सजिलो भने हुनेछैन । किनभने, इतिहास, सिद्धान्त र मान्यताहरुमा हिडिरहेका पुराना राजनीतिक दलहरुलाई केजरीवालले जसरी परिस्थिति अनुसार आफूलाई ढाल्न र मतदाताको मुड अनुसार सम्पूर्ण नीतिहरु प्रिवर्तन गर्न सजिलो हुने छैन । जबकि, आपले भाजपाको रणनीति असफल पार्न उसले तयार पारेका एजेण्डाको जालमा पर्नबाट आफूलाई बचाएको थियो तथा चुनावभन्दा अघि हनुमानको पूजा गर्नेसहित ‘सफ्ट हिन्दूत्व’ नीति लिएको थियो । 

भारतको समग्र राजनीति जस्तो दिशामा गएपनि परिस्थितिलाई ठिक ढंगले विश्लेषण गरेर सही निश्कर्ष निकाल्ने हो तथा त्यही अनुसार आफ्ना नीतिहरु बनाउने हो भने अपराजित मानिने शक्तिलाई पनि हराउन सम्भव छ भन्ने यो चुनावले देखाएको छ । यसैगरी, राजनीतिको मैदानमा नयाँ र पुरानो शक्तिको कुनै अर्थ नरहने बरु उसको जनतालाई जोड्ने क्षमता जित र हारका लागि महत्व रहने पनि दिल्ली विधानसभा चुनावको परिणामले स्पष्ट पारेको छ ।     
 

प्रकाशित मिति: : 2020-02-12 04:39:41

प्रतिकृया दिनुहोस्