कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुग्याे, ४२ हजारभन्दा बढी सङ्क्रमित

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ। ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन्।

गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ। भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ।

यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ।

त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ। 

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ  ।

हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको थियो। 

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा टोली सोमबार चीन पुगेको छ। अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-02-11 19:49:38

प्रतिकृया दिनुहोस्