गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई काठमाडौं अदालतले दिएको आदेश बदर गर्दै उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै उच्च अदालतले सोमबार थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अदालत स्रोतका अनुसार प्रमुख नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको हो। अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।
आपराधिक गिरोहसँग मिलेर व्यवसायीलाई धम्क्याउँदै रकम असुल गरेको अभियोगमा प्रहरीले नरेशलगायतका ६ जनालाई पक्राउ गरी ‘आपराधिक लाभ र संगठित अपराध’मा मुद्दा चलाइएको थियो।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो।
गत १ असोजमा काठमाडौं जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा नरेशलाई छाड्न आदेश दिएको थियो। तर, सोही मुद्दाका अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो ।