पिर्काले हानेर पूर्वसचिव पत्नीको हत्या गरेको आशंका

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको अस्पतालमा मृत्यु भएको छ।  सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको  महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशीले पुष्टि गरेका छन्। उनले भने, ‘स्टार अस्पतालका चिकित्सकहरुले कार्कीको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन्।’ 

सोमबार बिहान सानेपास्थित निवासमा रगतले लत्पतिएर अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि तत्काल स्टार अस्पताल लगिएको थियो। मुनाको टाउकोमा चोट लागेको थियो। अचेत अवस्थामा फेला परेकी उनीसँगै कामदार विजय चौधरी  मृत फेला परेका  थिए। उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ।

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको बताए।

अनुसन्धानको क्रममा भान्सा कोठामा रगत लागेको पिर्का पेटिएको छ। ‘घटना स्थल नजिकै रगत लागेको पिर्का भेटिएको छ’, एक अधिकृतले भने,‘पहिला मेडमलाई पिर्काले टाउकोमा हानेर आफू पनि झुण्डिएको हुनसक्छ।’

कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन्। घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन्।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ। 

याे पनि

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती र कामदार आफ्नै निवासमा मृत भेटिए

प्रकाशित मिति: : 2020-02-11 03:42:15

प्रतिकृया दिनुहोस्