‘चीनबाट फर्काउने नेपालीलाई भक्तपुरमा राख्न नदिने’ {भिडियो}

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले चीनबाट फर्किने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी गरेपछि स्थानीयले यसको चर्को विरोध गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा गत मंगलबार बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको थियो। स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न भक्तपुरस्थित विद्युत प्राधिकरणको दुईटा भवनमा सरसफाई र अन्य तयारी थालेको थियो।

तर, भक्तपुरको खरिपाटीलाई सम्भावित स्थलका रुपमा छनोट गरेपछि अहिले विरोध सुरु भएको छ। उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न माग गरेका छन्।  भक्तपुरका राप्रपा अध्यक्ष धनबहादुर लामाले घनाबस्तीमा कतै पनि क्वारेन्टाइन बनाउन नहुने भन्दै चाँगुनारायण क्षेत्रभित्र घना बस्ती भएकाले यहाँ राख्न नमिल्ने बताए।

‘सुरूमा विद्युत प्राधिकरणमा राख्ने निर्णयको विरोधपछि नगरकोटको खानेपानी केन्द्रमा राख्ने सरकारी निर्णयमाथि हामीले विरोध गरेका हौ,’  उनले भने, ‘त्यहाँ धना बस्ती भएका कारण त्यहाँबाट अन्यन्त्र सार्न माग गरेका थियौं तर सरकारले नगर सभाले गरेको निर्णय विपरीत यहाँ नै राख्ने भनेपछि विरोधमा उत्रिएका हौं।’

मानवबस्ती बीचमा उनीहरुलाई राख्दा जटिल रूप लिने लामाले बताए। ‘मानवबस्ती बीचमा विद्यार्थीलाई राख्दा त्यसले जटिल रूप लिन्छ। हामीले त्रासपूर्ण तरीकाले बाँच्न नपरोस् भन्ने हो। हामीले चाँगुनारायण नगरपालिकाको मेयरलाई पनि ध्यानाकर्षण गराएका छौं। उहाँले सरकारलाई चिठ्ठि लेख्छौं भन्नु भएको छ।’ उनले भने। 

कोरोना भाइरसको उद्गम स्थल वुहानमा १८० जना नेपाली नागरिकले आफूहरूको उद्धार गर्न विवरण पेस गरेका छन्। केही दिनअघि चीनस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई विवरण पेस गर्न आग्रह गरेको थियो। दूतावसको आह्वान अनुसार १८० जना नेपालीले विवरण पेस गरेको दूतावासले जनाएको हो।उद्दारपछि पनि उनीहरुलाई कम्तिमा पनि १४ दिन आइसोलेसन सेन्टरमा राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ। 

उनीहरुलाई लिन  आगामी १५ तारिख अर्थात फागुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ।

वुहानबाट नेपालीलाई फर्काएपछि कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्ने भय कतिपयमा छ। त्यसको लागि पनि सरकारले क्वारेन्टाइनमा राखिने व्यक्तिहरुमा विशेष निगरानी राक्नुपर्ने अधिकारीहरुको जोड छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार क्वारेन्टाइन अवधिभर त्यहाँ स्वास्थ्यकर्मीबाहेक अन्य व्यक्तिहरूको आवतजावत हुनुहुँदैन। उनले १४ दिनको बीचमा कसैलाई सम्भावित लक्षण देखिए विरामीलाई तुरुन्त आइसोलेसन वार्डमा राख्नुपर्ने बताए। सो अवधिमा कुनै पनि लक्षण नदेखिए त्यस्ता व्यक्ति ‘कोरोना फ्री’ हुने पुनले बताए।

आइतबारसम्म चीनको वुहानबाट फैलिएको नोभल कोरोना भाइरसका कारण ९ सय १० जनाको मृत्यु भएको छ भने ४० हजार बढी संक्रमित छन्।

प्रकाशित मिति: : 2020-02-11 03:29:29

प्रतिकृया दिनुहोस्