कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ९१ जनाले ज्यान गुमाए

एजेन्सी

काठमाडाैं

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ। 

ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो। हाल्सम्म २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ। जहाजमा कोरोना संक्रमित पनि रहेको आशँकामा ३ हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन रोक लगाइएको थियो।
 
जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ।

जापानमा यस्तै एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन्। एकजना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको खबरमा उल्लेख छ। 

प्रकाशित मिति: : 2020-02-10 20:06:49

प्रतिकृया दिनुहोस्