बनौको चित्रे गाउँमा प्रा.वि स्कुल बन्ने भयो। केही चन्दा केही श्रमदान अनि केही सरकारले रकम दिने भयो। गाउँले किसान काउरबोटे साइला दाइ र लामघादे काइला दाइले स्कुल बनाउन ४५ दिन बिहान बेलुकी श्रम दान गरे। त्यो बाहेक कयाैं दिन खटे। भवन बन्यो। ऊद्घाटन गर्न जिल्ला शिक्षा अधीकारी, प्रदेस सभा सदस्य, लगायत कयौं उच्च पदस्थहरु आए। त्यहाँ भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरियो। काउरबाेटे साइला र लामघादे काइला दाइलाई श्रमदान गरेकोमा घन्यवाद भनेर माइकबाट फुकियो। एकछिन पछि एउटा ठुलो प्रमाण पत्र र मालासहित नाम घोषणा गरियो।
'समाज सेवी कुसल व्यापारी अभयनन्द ज्यूले यो स्कुल निर्माण को लागि ११ हजार १ सय ११ रुपियाँ सहयोग गर्नु भएकोमा उहाँलाई यो कदर पत्र हस्तान्तरण गरिदिन प्रदेस सभाको माननीय लाई हार्दिक अनुरोध गर्दछौं' भनेर माइकमा भनियो। सबैबाट गड गड ताली बज्यो। अभयनन्द ज्यूले कदर पत्र लिनुभो।
मनमनै सोचे अहिले गाउँमा हलो, जोत्ने घर बनाउने, गारो लगाउने श्रमिकको न्युनतम ज्याला दैनिक १ हजार छ। लौ एक हजार पनि नभनाैं, आधा श्रमदान, आधा ज्याला गरेलपनि ४५ दिनको श्रम दान बराबर न्युनतम २२ हाजर पाँच सय बराबरको काम त गरे नी उनीहरुले। तर उनीहरुको श्रमको कदर गरिएन। आखिर समाज सेवी ११ हजार १ सय ११ दिने अभयनन्द भए।
गाउँमा सन्ते अर्ध पागल थियो कसैको विगार गर्दैनथ्यो। बिहान ९/१० बजे तिर प्रत्येक घरको आगन चाहर्दथ्यो। कसैले मकैकाे रोटी दिए खान्थ्यो। पैसा दिए लिदैनथ्यो। कहिले बेलाबेलामा एकोहोर बर्बराई रहन्थ्यो। गाउँका सबैले उसलाई केही न केही खान दिन्थे। गाउँका उमा प्रसाद पन्डित उनी कपडा व्यापारी पनी हुन्। उनले उसलाई कयौं पटक भाटाले हानेर लखेटेको सबैले देखेका छन्। 'बिहान बिहानै आयो। मेरो आजको दिन असुभ भो' भन्दै लखेट्ने यीनै उमाप्रसाद हुन्।
गत हप्ता सन्तेको मृत्यु भयो, जाडोले। सन्तेको दाहसंकार गर्नलाई मल्याङ्गदी नदिमा लानु पर्याे। दाह संकार गर्ने दाउरा अगाडि लैजाने कात्रो जुटाउन थाले। सेतो ११ हात कपडा र दाउरा तिनै उमाप्रसादले दिए। अनि लासको अगाडि गएर भने, 'गाउँमा यो अर्ध भए पनि दिन भरि घुमेर रातभरि करायर गाउँको सुरक्षा दिएको थियो। मर्याे। यसको आत्मले सान्ती पाओस्।' उमाप्रसादले आँसु खसाले। अनि भने, 'यसको दाहसंकार, कात्रो र दाउराको पैसा म व्योहोर्दछु' भन्दै समाज सेवीमा आफ्नो नाम दर्ज गरे।
त्यहाँ उपस्थित गाउँलेले खासखुस गरे। यी कस्ता समाजसेवी ? जसले कहिल्यै १ गिलास पानी खान दिएनन्। उल्टो भाटाले हानेर लखेटे। आज चै यीनले किन यत्रो नाटक गर्नु परेको ? प्वाक्क एउटाले भनी हाल्याे। अनि अर्कोले भन्यो, 'उहाँ आधुनिक समाजसेवी।'
म सुनीरहेँ अनि मन मनै गुन्जीरह्यो आधुनिक समाजसेवी। उता विदेशतिर हेर्याे। त्यँहा पनि त्यस्तै छ। कोही नेपालबाट विदेश आए भने स्वागत गर्न विमानस्थलमा अब फूलमाला लगाइदियाे। एअरपोर्टमा फोटो खिच्यो अनि हिड्यो। पछि फेरी फर्कीदा एअरपोर्ट पुग्यो फोटो खिच्यो। अनि उहाँलाई स्वागत र विदाई गरियो भनेर फोटो सामाजिक संजालमा राख्यो। बाहिर समाजसेवी देखायो। आफू बसेको समाज अनि टोलमा केही माखो मार्नु छैन। तर आधुनिक समाजसेवी बन्ने म्याराथनमा भने भाग लिएकै छ।
नेपाल जानु परे ट्राभलमा गयो। टिकट उधारो किन्यो। २/४ जनालाई गफले लठ्ठै पार्याे। १/२ हजार युरो डलर सरसापटी गर्याे। नेपाल गयो। फेरी विदेश फर्क्याे। न काम छ न सीप। विदेशमा खुलेका दर्जनौं संस्था मध्य एककाे कुनै पदमा जवर्जस्ती घुस्यो।
अनि कुनै कार्यक्रममा जानै पर्ने। त्यहाँ अतिथिको व्याच लगाउनै पर्ने। अनि माइक समातेर २/४ शब्द बाेल्नै पर्ने। त्यसपछि घर आयो व्याच सहितको फोटो खिच्यो माइकमा बाेलेको फोटो कसले खिचीदीएको छ माग्यो। अनि आज फलानो कार्यक्रममा आथित्यता ग्रहण गरियो र समाजको लागि २/४ शब्द बाेलियो भनेर फोटो राख्यो। आधुनिक समाज सेवी बन्यो।