कोरोना भाइरस प्रकाेप: चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

एजेन्सी

काठमाडाैं

 चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ। यस्तै, ३१ हजार २ सय जनामा कोरोनाको संक्रमण देखिएको छ।

अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ। चीन बाहिर २५ देशका २ सय ७० जनामा पनि कोरोना को संक्रमण भएको पाइएको चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ।

यसैबीच, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ। चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एकजनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले शनिबारदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो। 

हङकङ पुग्ने आगन्तुक १४ दिन होटलभित्रै वा सरकारले संचालन गरेको क्वारेण्टाइनमा जानुपर्नेछ भने हङकङका नागरिक आफ्नै घरभित्र बस्नुपर्ने नियम आजदेखि लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2020-02-08 20:08:25

प्रतिकृया दिनुहोस्