१. ‘स्वेच्छाचारी प्रधानसेनापति, सेनापति आफैं सुधारका वाधक’ भन्ने विषयमा यसै साता एउटा साप्ताहिकमा समाचार प्रकाशीत भयो। नाम चलेको उक्त पत्रिकाले कुसित्व मनशायको प्रकाशीत समाचारले राष्ट्रका सच्चा सिपाहीको चित्त साच्चिकै दुःखेको छ।
किन र के कारणले नाम चलेका सम्पादक/ पत्रकारहरू आफ्नो विश्वसनीयता माथि नै प्रश्न तेर्सिने गरी नेपाली सेनामाथि प्रहार गर्ने हदसम्म पुग्न सक्दा रहेछन्, ताजुव लागेको छ।
पत्रकारिता क्षेत्रको बफादारिताको विश्लेषण गर्ने ल्याकत मेरो विज्ञता र सेवाको ज्ञानले दिँदैन, न त पत्रिकासम्म पुग्ने हिम्मत मेरो सैनिक अनुशासनले दिन्छ। तर, त्यो खबर नेपाली सेनाको वर्तमान वास्तविकता र धरातलीय यथार्थ भन्दा विल्कुल विपरीत छ।
केही काम नगरे पनि मुख बजारेको र पाउ मोलेको भरमा नेपाली सेनामा योग्यता र क्षमता भन्दा ठूलो दर्जा थापेकाहरू, आफ्नालाई र अरूलाई पनि लेनदेनका आधारमा नेपाली सेनामा घुसाउन नपाएकाहरू, यहाँ कार्यरतलाई आफ्नो मनमर्जीले सरूवा, बढुवा र शान्ति सेना पठाउन नपाई फौजको कमाण्डर होइन (हाकिम हुन नपाएकाहरू, नेपाली सेनाका सिपाहीका मालिक बन्न बञ्चितहरू, सेनाको खरीद तथा निर्माणबाट विगतमा झैं आफ्नो भण्डार भर्न नपाएका असन्तुष्टहरु र तिनका सञ्जाल, कीर्ते कागजात र नक्कली प्रमाणपत्रका आधारमा सेवामा रहेकाहरुको चिच्याहट र रोदन तथा आफ्नो ओहदा र दर्जाको मर्यादा कायम राख्न नसक्नेहरुको छटपटीको पुलिन्दा तपाईँको प्रतिवेदन नियोजित हो। त्यो पढिसकेपछि म एउटा सिपाही किंकर्तव्यविमुढ भएको छु।
२. नेपाली सेनामा थालिएका सुधार योजनाको कार्यान्वयनसँगै विभिन्न एक पाने साप्ताहिक पत्रिकामा व्यक्तिगत असन्तुष्टि नपोखिएका होइनन्, अहिले पनि यो क्रम जारी देख्छु। हामी नेपाली सेनाका सिपाहीले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको पालामा अनुभव गरेको र देखेको वास्तविकतासँग सम्पादक/पत्रकार महोदयको लेखाइ विल्कुलै मेल खाँदैन। सम्पादकीय लेख्न आधार मानिएको नियोजित प्रतिवेदन निराधार र गलत मात्रै होइन, सम्पूर्ण विपरीत छ। प्रतिवेदन नेपाली सेनाप्रति पूर्ण पूर्वाग्रही छ।
हामी आम सिपाहीका लागि नेपाली सेना र नेतृत्वको नियोजित चरित्रहत्या गर्ने प्रयास बाहेक यो अरु केही होइन। समग्र नेपाली सेनामाथि नै गुहु छ्याप्ने तपाईँको उद्देश्य स्पष्ट छ।
संगठनमाथि घात गर्दै खान पल्केका र अहिलेका प्रधान सेनापतिको पारदर्शीताको नीतिका कारण आफ्नो दुनो सोझ्याउन बञ्चित भई आत्तिएका स्रोतको प्रयोग भएको छ। तपाईँको नियत सफा र साँचो हुँदो हो त हामी आम सिपाहीबिच खुला र बृहत् अनुसन्धान गरि वास्तविक प्रतिवेदन निकाल्नुहुन्थ्यो। यसबाट दीर्घकालमा नेपाली सेना र यो राष्ट्र नै लाभान्वित हुने थियो। तपाईँको नियत त्यस्तो थिएन। नेपाली सेना वा प्रधान सेनापतिज्यूको तर्फबाट किन कुनै प्रतिक्रिया आएन, त्यो त जान्दिनँ। तर, सही सत्य के हो त्यो त मैले अहिले मात्रै होइन विगतदेखि नै भोगेको छु। अनि संगठनलाई यो अवस्थामा पुर्याउने र दोहेरो खानेहरुको अहिलेको हालत पनि मैले हरेक दिन अनुभव गरिरहेकै छु।
आफ्नो राष्ट्रिय सेनाप्रति नेपाली जनतामा रहेको विश्वास डगमगाउने तपाईँको प्रयास किन नियोजित छन् प्रष्ट पार्दै वास्तविकता अनुसन्धानका लागि तपाईँलाई खुला चुनौति पनि दिन चाहन्छु।
३. आदरणीय सम्पादकज्यू, मेरो नियुक्तिका कारणले नेपाली सेनामा विकसित हरेक परिस्थितिका बारेमा त म जानकार छैन। तर मेरो १६ वर्षको सैनिक सेवामा बल्ल अहिले यो प्रधान सेनापतिको पालामा नेपाली सेनामा आएको सुधारको प्रभाव प्रत्यक्ष रुपमा देख्ने, सुन्ने र अनुभव गर्ने मौका भने पाएको छु।
कथा आफैंबाटै शुरू गर्छु, कोही नचिनेको र माथि आफ्ना कोही नभएको कारण योग्यता हुँदाहुँदै पनि काठमाडौं सरूवा हुन पाएको थिइनँ। म र म जस्ता २०७५ सालमा छानिछानि काठमाडौं सरूवा भयौं। केही काठमाडौं कहिल्यै नछोड्ने पनि थिए, हरेक चिफसा’पहरुको पालामा हेडक्वाटरमा नै घुमिरहने उपल्ला अधिकृतहरु पनि काठमाडौं बाहिर सरुवा भए, त्यस्तालाई जोडको धक्का लागेको पक्का हो।
अहिले सरूवा सम्बन्धि नीतिगत व्यवस्था नै सोहि बमोजिम लागू भयो। हामी स्टाफ कलेज गर्न नसक्नेलाई त काठमाडौं बाहिर ठेक्कै जस्तो थियो, न घरपायक सरूवा, न त अब्र्जरभर, दोस्रो वर्गका अधिकृत भएका थियौं। अहिले त्यो नीतिमा नै परिवर्तन आएको छ। स्टाफ कलेज नगर्ने ७० प्रतिशत भन्दा बढि अधिकृतका लागि विशेष कार्यक्रम र नीतिहरु आएका छन्। सरुवा त भइहाल्यो, अव्जरभर जाने, माथिल्लो तहमा बढुवाको पनि अवसर मिल्ने गरी व्यवस्था भएको छ।
आफ्नालाई छानिछानि दोहोर्याई तेहेर्याई कहिले नियमविपरीत र कहिले नयाँ नियम नै बनाएर पनि अवसर दिइन्थ्यो, विस्तारै समान अवसरको वातावरण सिर्जना भएको छ। त्यही आफ्नाहरु अहिले आगोमा खुट्टा परेझैं अत्तालिएर उफ्रिएका छन्। अझै पनि आफ्नाहरूको पृष्ठपोषण गर्नेहरु स्टाफ कलेज नगरेकालाई पहिलाको जस्तै सबै अवसरबाट बञ्चित गरिनु पर्दछ, भन्नेहरु बाँकि नै छन् भन्ने सुनिन्छ। आफ्नाको भलो गरिदिन बञ्चितहरुको असन्तुष्टि पनि मैले दैनिक सुनेको छु।
४. माथिल्लो तहका केही जर्साप र कर्सापहरु संगठनका लागि केही नगरे पनि चिनजान र मुखका भरमा उमेर छउन्जेल टर्म थपिथपि दोहन गरिरहन्थे। गोरूले गाई ओगटे जसरी पद ओगट्ने तर केही नगर्नेहरुले गर्दा तलका धेरै योग्य र गर्छु भन्ने अधिकृतहरु तल्लो तहमा नै रिटायर हुन वाध्य थिए, करियर नै चौपट थियो, यसको असर संगठनमा प्रत्यक्ष रुपमा पर्दै गएको थियो, समाधानको सूत्र चाहीँ सधैं सेनालाई आवश्यक भए पनि नभए पनि दर्जा थप्ने हुन्थ्यो। तर, अहिले क्षमता, योग्यता, चरित्र र कार्यसम्पादनका आधारमा टर्म थप हुने, पदोन्नति हुने थिति वसेको छ। यहि थितिबाट पारदर्शी भएको नीतिले आफ्नो सेवा अर्को ६ महिना वा एक वर्ष थप गर्न नपाएका र नपाउनेको छटपटिहरु तपाईको प्रतिवेदनमार्फत् प्रष्फुटित भएको छ। तसर्थ तिनै केहीको करियर वा भाग्यमाथि खेलवाड भइरहेको तपाईँको दाबी सरासर झुट हो। सेनाको शैक्षिक प्रमाणपत्र र जन्ममिति सम्बन्धमा पूर्व रक्षासचिवज्यूको हवाला दिँदै तपाईँले ‘प्रधान सेनापतिले ठिक छ भनेर पठाएका कागजात जाँच्दा नक्कली भेटिएका उदाहरण धेरै छन्’ भन्दै पहिलाको कुरालाई अहिलेको प्रधान सेनापतिले पनि त्यसै गर्नु भएको छ भन्ने तपाईँको तर्कमा मैले कुनै दम देखिनँ। अहिले पनि प्रमाणपत्रहरू रक्षा मन्त्रालय गइरहेका छन्, तिनको परीक्षण पनि तहतहमा हुन्छन् नै होला र स्वीकृत वा अस्वीकृत भएका पनि छन्। रक्षा मन्त्रालय पठाएका कागजातमा गल्ती नरहुन् भन्नकै लागि जंगी अड्डामा नै प्रमाणपत्र र नागरिकताहरुको व्यापक छानबिन भईरहेको हामीलाई थाहा छ।
यो कामलाई तपाईले स्वेच्छाचारी निर्धारण गरिदिनु भएका प्रधान सेनापतिले नै गरेका हुन्। महोदय, यसरी शैक्षिक प्रमाणपत्र र जन्ममिति सम्बन्धमा नेपाली सेनाभित्रै शुद्धिकरणको सिलसिला शुरु भइसकेको कुरा तपाईँको प्रतिवेदनमा नसमेटिनु आश्चर्यजनक मात्रै छैन, त्यसले शंसय पनि उत्पन्न गरेको छ (कि त तपाईँ फर्जिलाई सेवामा ससम्मान रहिरहन दिनुपर्छ भन्न खोजिरहनु भएको छ, होइन भने तपाईँ तिनको मोहर बन्नु भएछ। राष्ट्रिय सेनामा त्यस्तै फर्जि चरित्र विकास होस् भन्ने तपाईँको चाहना हो?, मेरो प्रश्न तपाईँलाई। यदि होइन भने गरिदिनुस् न तपाईहरुले यस्ता फर्जि चरित्रहरुको पर्दाफास। तपाईँले त तथ्यहरु तिनीहरुका पक्षमा बङ्ग्याउनु भयो, हामीलाई त त्यो छटपटि कस कसको हो भन्ने पनि एक एकको नाम थाहा छ। नेपाली सेनाभित्रै फर्जीको छानविन हुनुपर्छ भनेर हरेक अन्र्तक्रियाहरुमा विषय उठान हुन्छन्, पहिलो पटक नेपाली सेनामा गलतमाथि प्रश्न उठाउन पाइएको छ। जे भएको छ, ठिक भएको छ। महोदय, तपाईँले चिन्ता नलिनुस्, यसबाट आफू पनि योग्यताका आधारमा बढुवा हुने ठाउँ सिर्जना भयो भनेर नेपाली सेनाका मध्यम र तल्लो तहका हजारौं अधिकृतहरु उत्साहित भएका छन्।
पहिलाको जस्तै सेवा थप्न पाइएन, पदोन्नति पाइएन, खान पाइएन, भर्ना गराउन पाइएन, शान्ति सेना पठाउन पाइएन, घरमा सिपाही राख्न पाइएन, ठेक्काबाट हसुर्न पाइएन भन्नेहरुको हुटहुटीलाई तपाईँले आफ्नो प्रतिवेदनको नाम दिनु भएको छ, त्यसैले महोदय कतै तपाईँ कसैको साधन पो हुनु भयो कि?, सम्झाउन चाहन्छु। तपाईँको प्रतिवेदन आधारहीन छ। अझै तपाईँले उल्लेख गर्नु भएका जस्ता केहीको ‘भाग्य’ माथि प्रहार नगरी अन्य धेरै जुनियर र मध्यम तहका योग्य अधिकृतहरुको भाग्य निर्माण हुँदैन भन्ने नेपाली सेनाको समस्याको चुरोसम्म त तपाईको प्रतिवेदन पुग्नै सकेन। तपाईँले पदोन्नतिको अवसरबाट बञ्चित गरिएका भनि उल्लेख गर्नु भएकाहरुलाई सैनिक कमाण्डरको रुपमा हामीले सैनिक नेतृत्व क्षमता र योग्यताका आधारमा राम्रै परख गर्न पाएका हौं, हामीलाई उहाँहरू रहँदा, रहेको अनुभव पनि भएन, रिटायर भएर जाँदा मिस पनि भएन।
उहाँहरुको योग्यता र क्षमताको राम्रै जानकारको रुपमा तपाईले प्रतिवेदनमा उहाँहरूको अभावमा नेपाली सेना भड्खालोमा जाकिएको तरिकाले वर्णन गर्नुभएको छ। सम्पादक महोदय, नेपाली सेनाले कहिले नदेखेको र सोच्न पनि नसक्ने तहमा सुधारको अभियान विगत डेढ वर्षदेखि शुरु भएको छ। यो नेपाली सेनाका हरेक सिपाहीको जिब्रो जिब्रोमा झुण्डिएको छ – ‘ओहो गर्यो भने त हुने रहेछ नि, बल्ल नेपाली सेनाले वास्तविक सेनापति पायो।’ तर तपाईंको प्रतिवेदनले त्यो स्वत: प्रवाहित वास्तविकताको त स्पर्शसम्म पनि गर्न सकेन, किन होला? संस्थाको भलो गर्दागर्दै हाम्रा प्रधानसेनापति कसरी ‘स्वेच्छचारी’ भए ? नेपाली सेनाको अहिलेको वास्तविकता कसरी नेतृत्वको स्वेच्छाचारी परिभाषामा पर्न आउँछ मैले ठम्याउन सकिनँ।
काखापाखा
५. सम्पादक महोदय, तपाईँको प्रतिवेदनले हाम्रा आदरणीय प्रधानसेनापतिले काखापाखा गरेको तथ्य पनि सही पहिचान गर्न सकेको छैन। कि त तपाईँ मानमर्दन गर्ने तवरले नै लाग्नु भएको हो, होइन भने तपाईँले स्रोतको भक्तिगाथाको वर्णन मात्र गर्नुभएको छ।
हो, प्रधान सेनापतिले कार्यकालको शुरूमा नै भर्ना सम्बन्धि अनियमिततामा संलग्नलाई पाखा लगाए, भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन तथा सक्षम र योग्य युवाहरुलाई नेपाली सेनामा भर्ना गर्ने वातावरण सिर्जना गरे। कारण त अनेक होलान्, तर नेपाली सेनामा मात्रै होइन मालदार मन्त्रालयहरुमा समेत चर्चित भुवन अधिकारी र पाइलट सुधिर जर्सापहरु चरित्रकै कारण राजीनामा दिई आफैं पाखा लागे जस्तो लाग्छ।
फास्टट्रयाकका खाँड जर्सापलाई पनि त रिटायरमेण्ट पछि यही चिफसापको पालामा सम्भावित अनियमितताको छानविनमा ल्याइएकै हो। यस्तो नेपाली सेनामा कहिल्यै भएको थियो र ? सुधीर जर्साप अझै पनि छानविन कै प्रक्रियामा छन् भन्ने मैले सुनेको छु। विगत खराव भएका र चरित्रमा दाग लागेका, तर टिकीरहेकाहरु आफैं पाखा लागेका छन्। तपाईँले उल्लेख गर्नु भएकाहरु मात्रै होइनन्, अन्य अनियमितता र सैनिक मर्यादा विपरितका कार्यहरुमा पनि छानविन भइरहेको छ भन्ने हल्ला सेनाभरि व्याप्त छ।
अहिले त्यही छानविनको दायरामा आएका र आउन सक्ने सम्भावितहरु आफूमाथि रणनीतिक सुराकी भइरहेको आरोपमा उत्रिएको हुनुपर्छ। मेरो अनुमान हो। शैक्षिक प्रमाणपत्र र नागरिकतामा शंकास्पद देखिएकाहरु पनि धमाधम स्वेच्छिक राजीनामा दिई पाखा लागेको हामीले देखिरहेकै छौं।
कट्वाल चिफसापका छोरा प्रमुख सेनानी शुभांगद कट्वालको पनि प्रमाणपत्रकै कारणले गर्दा टर्म थप नभई निवृतिभरण भएको हामीले देखेका छौं। फर्जि शैक्षिक प्रमाणपत्रवालाहरू पनि पाखा लागेकै हुन्, तपाईँले चाहीँ आफ्नो नियोजित प्रतिवेदनमा प्रधान सेनापतिले पाखा लगाए भन्नुभयो। त्यसैले महोदय, यो तपाईँको स्रोतको व्यक्तिगत स्वार्थी मनोविज्ञान हो, जसले आफूले पाउँदा अरु बञ्चित भएको कहिल्यै देख्न सकेन, आफूले नपाएपछि ब्रमाण्ड ध्वस्त भएको प्रतिवेदन तयार गर्ने माध्यम बन्न पुगे। तिनै हुन् सर, संगठनमा रहुञ्जेल पनि कुम्ल्याउनमा नै मग्न, रिटायर भएपछि पनि जसले मानमर्यादा दियो, त्यही संगठनमाथि विष बमन गर्नेहरु।
गुटका कुरा
६. गुटका सन्दर्भमा तपाईँको प्रयास प्रधान सेनापति कसैको परामर्शमा चलेको भन्ने प्रमाणित गर्ने तर्क गरिएका देखिन्छन्। नेपाली सेनामा सुधारको खाँचो छ, नेपाली सेनालाई संबैधानिक जिम्मेवारी पुरा गर्न सक्षम बनाउन परिवर्तन आजको अपरिहार्य आवश्यकता हो, प्रधान सेनापतिका रुपमा यो आफ्नो दायित्व हो भनेर घोषित रुपमा नै विसंगति र विकृतिहरुलाई ध्वस्त पारी भविष्यमुखी र अभिप्रेरित संगठनको आधार तयार गर्छु, सकिन भने ३ वर्षे कार्यकाल पुरा गर्नु पूर्व नै फेल भएर जान तयार छु भनेर पदभार सम्हालेका हाम्रा प्रधान सेनापतिज्यूको सुधारको दृढतालाई कसैको परामर्शमा चलेको, रथी उपरथी भन्दा तल ओर्लेर छुट्टै गुटको अभ्यास गरेको भन्ने लाञ्छना लगाउन खोज्नु परिवर्तनको संवाहकका रुपमा प्रधान सेनापतिको कर्म र दृष्टिमा निराधार दोष लगाउनु हो।
तपाईँको पत्रिकामा गुटका कुरा अहिले निक्लेको हो, यो त नेपाली सेनामा विगतको जस्तै मेवा खान बञ्चित भएका असन्तुष्टहरुको सञ्जालमा हामीले सन्दै आएको नियमित भलाकुसारी हो। तपाईँले प्रधान सेनापतिको गुट भनेर परिभाषित गर्नु भएका केही कर्सापहरुलाई म नजिकबाट राम्रोसँग चिन्दछु, जसको चरित्रमा खोट लगाउने ठाउँ मैले देखेको छैन, तिनलाई अहिले धारे हात लगाउनेहरु कतै तपाईँका स्रोत त होइनन्, सम्पादक महोदय। केहीलाई चाहिं म चिन्दिनँ, म तपाईंले जसरी स्रोतका भरमा खोट लगाउन सक्ने अवस्थामा म छैन। तर एउटा कुरा चाहिं मैले के पाएको छु भने ती कर्सापहरुले कुनै ब्यक्तिगत लाभ लिएको र कहिँ कसैलाई प्रभावित गरेको चाहिं मैले देखे सुनेको छैन।
तपाईँलाई यसमा पनि थप खोज अनुसन्धान गरेर तथ्य बाहिर ल्याइदिनु हुन अनुरोध गर्छु, यदि तिनीहरु पनि प्रधान सेनापतिज्यूको नीतिविपरीत मोलाहिजामा लागेका छन् भने कारबाही गर्ने आधार तपाईँको प्रतिवेदनले देओस्, पूर्वाग्रही स्रोतलाई कसरी प्रमाणित गर्न सकिन्छ र सम्पादकज्यू?
७. प्रधान सेनापतिप्रति नेपाली सेनामा असन्तुष्टि चुलिएको तर्क प्रमाणित गर्न तपाईँले बाहिनीपति र पृतनापतिहरु असन्तुष्ट देखिन्छन् भन्नुभएको छ। यो तपाईको कुरो सही हो। युनिट युनिटबाट रकम असुल्न, सिपाहीका रासनबाट आफ्नो भुँडी भर्न नपाएकाहरु, विभिन्न कामका लागि आएको बजेट कसैलाई जानकारी नै नगराई विल मिलाएर खान पल्केका केही अहिले एकदमै असन्तुष्ट छन्।
बाहिनी, पृतना र विभिन्न निकायहरुलाई बिनियोजित बजेट पारदर्शी र अधिकत्तम सदुपयोग हुने गरी खर्च होस्भन्नका लागि प्रधान सेनापतिले निरीक्षणहरु विभिन्न तहबाट नियमित भइरहेका छन्। म पनि यस्तै एउटा टोलीको सदस्य भएर निरीक्षणमा जाने मौका पाएको थिए। म आफैंले पृतनापतिको त होइन, एक जना बाहिनीपतिज्युको मुखबाटै तपाईले भन्नु भएजस्तै असन्तुष्टि प्रत्यक्ष सुनेको छु, जसले सिपाहीको राशनको विवरण दोहोरो राखि लुकाएका थिए, जसले गरेका निर्माण कार्य गुणस्तरहीन थिए, जसबाट कागजमा गरिएको खर्च वास्तविकतामा गरिएकै थिएनन्।
सम्पादक महोदय, तपाईँले उल्लेख गर्नुभएका असन्तुष्टि उहाँहरूकै हुनुपर्छ। यस्तै प्रकारका असन्तुष्टिहरू पृतनापति जर्सापहरु र तपाईँले भन्नु भएजस्तै चिफसापले भरोसा गर्न नसक्नु भएका माथिल्लो ओहदाका जर्नेलहरुको पनि हुनसक्छ। तर यो कुरा चाहीँ म ठोकुवा नै गर्ने आधार चाहीँ मसँग छैन, न त मसँग असन्तुष्टि नाप्ने औजार छ। हाम्रा प्रधान सेनापतिज्यूले नेपाली सेनामा लिनु भएको यो नीतिको सकारात्मक प्रभाव हरेक सिपाहीले गरेको छ। ‘यो चिफ सापले मात्र गरेर कहाँ हुन्छ, अर्को आउनेले पनि फेरि यस्तै गर्छन् र?’ भन्ने प्रश्न सन्तुष्टले मात्रै होइन, किन यस्तो कडाई गरेको खान पाइएनु भन्ने असन्तुष्टहरुले पनि खुलस्त रुपमा नेपाली सेनाभित्रै भन्ने गरेका छन्। सम्पादक महोदय, यो प्रगति र वातावरण नेपाली सेनामा आएको सुधार र परिवर्तनको आधार हो, यो पनि तपाईंका लागि छुट्टै खोजको विषय हुनसक्छ। ती असन्तुष्टहरुलाई संगठनको हितमा सन्तुष्ट बनाउने सिफारिस पनि तपाईको प्रतिवेदनमा आओस् महोदय।
८. वास्तविकता थाहा नपाउनेका लागि नातेदारको गुटसम्बन्धमा तपाईँको स्रोतको दावी साच्चिकै हो कि भन्ने सुनिन्छ। रघु भण्डारी र राजेन्द्र कार्की जर्साप चिफ सापको सांढुभाई हुनुहुन्छ वा होइन त्यो त म जान्दिनँ, यदि नाता नै हो भने पनि उहाँहरूलाई कुनै न कुनै जिम्मेवारी त दिनै पर्छ। अरु पनि नातेदार वा नजिकका जर्सापहरु हुनुहोला नेपाली सेनामा, तपाईँले उहाँहरूको कुरो त राख्नु नै भएन। राजेन्द्र कार्की र रघु भण्डारी जर्सापहरु अहिले तपाईँले भनेको विभागमा हुनुहुँदैन। तपाईँको स्रोतको पूर्वाग्राही विचार चाहिँ अझै बाँकी रहेछन्। त्यसैले तपाईको नियोजित प्रतिवेदन तयार हुन थालेको धेरै भइसकेको अनुमान गर्न सकिन्छ।
रघु भण्डारी जर्साप सम्भाररथी हुँदा प्रवन्धरथी पनि हुनुहुन्थ्यो। सम्भाररथी र प्रवन्धरथी विभाग नेपाली सेनामा मालदार अड्डा हुन्, सबै उपरथीको आँखा यसै विभागमा हुन्छ, रिटायर हुनु अघि भुँडी भर्ने ताकमा शायद। बरू तपाईँले रघु भण्डारी जर्सापले ती अड्डामा बसेर अनियमितता गरेका केही प्रमाण भए प्रतिवेदनमा राखिदिनु भएको भए हामी धन्य हुने थियौं।
पहिले खरीद प्रक्रियामा गएको बुट एक दिनमा नै विग्रेको प्रमाण दिएर तपाईँले तथ्य लुकाउन खोज्नुभएको चाहीँ मलाई थाहा छ। किनकि, रघु भण्डारी जर्सापको कार्यालयमा एकदिन करिव ५० जना जति सम्मिलित एउटा खरीदसम्बन्धि बैठकमा म पनि थिएँ। उहाँले यो कुरा सबैलाई सुनाउनुभएको छ, यस प्रकारको बुट खरीद गर्नेहरु गद्दार हुन्। वास्तविकता तपाईँको स्रोतलाई निकाल्न लगाइदिनुहोस् कृपया।
९. रथी प्रभुराम शर्मालाई सम्भारमा ल्याइएको छ, यो विवाद निम्त्याउने विभाग हो। पहिल्यै सम्भारमा काम गरिसकेका शर्मालाई दोहोर्याएर सम्भारमा ल्याउनु जरूरी थिएन। उनी विवादमा पर्लान कि, सानो विवादले पनि प्रधान सेनापति हुने बाटो अवरोध हुने हो कि भन्ने तपाईँको चासो देखिन्छ। तर, सम्भाररथी विभागमा कसलाई ल्याउनुपर्ने थियो भनेर तपाईँले तपाईंको स्रोत आकांक्षीको नाम चाहीँ खुलाउन भुल्नुभएछ। त्यो नाम पनि दिनु भएको भए प्रधान सेनापतिज्यूलाई तपाईंले भन्नु भएकै व्यक्ति चयन गर्न सजिलो हुने थियो कि? प्रमुराम जर्साप सम्भारमा नियुक्ति भएर कोही त्यहाँ जान बञ्चित भएको आभाष मिल्छ। शर्मा जर्साप पहिला पनि सम्भारमा काम गरिसकेको भनेर भन्नु भयो, कहिले हो मलाई चाहिँ थाहा छैन। उहाँसँगै जोडेर रथी गौरव तण्डुल सेवानिवृत भएपछि चैत १९ र वैशाख १९ मा उथलपुथल निम्तिन सक्ने अड्कलवाजी जंगी अड्डामा चल्न थालेको छ भन्ने तपाईँको तर्क छ। चैत १९ त आउला नि, वैशाख १९ पनि त त्यसपछि आउला, अनि वास्तविकता पनि बाहिर आउला। कहाँ को आउने र अवको प्रधान सेनापति को बन्ने भन्ने ऐनकानुनले नै गर्ला। नेपाली सेनाभित्र र बाहिर पनि गलत रुपमा आमधारणा निर्माण गर्न उद्दत तपाईँको प्रतिवेदन संगठनका लागि घातक हुनसक्ने मेरो आंकलन हो। हाम्रो नेपाली सेनामा तीनतारे जसरी बनें चिफ पनि त्यसै गरी हुन्छन् हाम्रो जर्साप भन्नेहरु पनि छन्।
सम्पादक महोदय, काल्पनिक तर्कका आधारमा तपाईँले हाम्रा प्रधान सेनापतिज्युलाई स्वेच्छाचारी र परिवर्तनको वाधक प्रमाणित गर्न खोज्नु भएको छ। बरु तपाईँलाई नेपाली सेनाको साच्चिकै चिन्ता हो भने अव हुने प्रधान सेनापति भनि तपाईँले तोक्नु भएका प्रभुराम शर्मा जर्सापलाई हालका प्रधान सेनापतिले बसालेको प्रणालीलाई चाहीँ निरन्तरता दिन प्रतिवेदनबाट सिफारिस गरिदिनु भएको भए तपाईँको प्रकाशन सार्थक हुन्थ्यो कि, भविष्य केन्द्रित हुन्थे कि – आम सिपाहीको इच्छा नै यही हो महोदय।
प्रधान सेनापतिको कदम र नीति नरूचाउने बढीमा दुई तीन सय होलान् सम्पादकज्यू, तपाईँको प्रतिवेदनले बढिमा तिनै २०० जनाको प्रतिनिधित्व गरेको छ, म यही संगठनको सदस्यका हैसियतले ठोकुवा गर्दै यसमा पनि थप खोज अनुसन्धान गरी वास्तविक प्रतिवेदन तयार गर्न तपाईँलाई अनुरोध छ।
१०. आफ्नो कोर ग्रुपका भनि तपाईँले भन्नु भएका सहायक रथी प्रेम शाही जर्सापलाई म खासै चिन्दिनँ। उहाँकै कारणले चिफसाप र जर्नेलहरुबिच फाटो आइरहेको छ भन्ने तपाईँको स्रोतको दावी विना प्रमाण राख्नुभएको छ। हामी त फाटो आएको देख्दैनौं। आफ्नो स्वार्थपूर्ति गर्न नपाएका तपाईँका स्रोतहरुको मनोकांक्षामा अवश्य पनि फाटो आएको हुनुपर्छ।
भ्रष्ट विगत बोकेका, आचरणहीनताको मानसिकतामा डुबेकाहरु पाखा लागेका छन्, अझै पनि हामीले केहीलाई पर्ख र हेरको अवस्थामा देखेका छौं सम्पादकज्यू। कोही अब चाहिं आफ्नो मस्ति गर्न यो चिफसाप रिटायर नहुञ्जेल पाइँदैन भनेर अहिले खोल ओढेर बसेका छन्, तिनका बोली र व्यवहारमा हामी सँधै स्पष्ट देख्छौं। तिनको बदलिएको बोली र व्यवहार हाम्रो चिफसापकै कारणले हो, यसमा हामीलाई कुनै द्विविधा छैन।
चिफसाप भन्दा अगाडि रिटायर हुनेहरू, सम्भाररथीमा बसेर खान पाइन भनेर व्यक्तिगत गुनासो साँच्नेहरु, करतुतहरुमाथि भइरहेका छानविन भइरहेकाहरुको मनमा फाटो अवश्य पनि आएको छ। आफ्ना मनोकांक्षा पुरा नभएका असन्तुष्टहरुको नजरमा चिफसाप र जर्नेलहरुको विचमा फाटो आएको होला, जो तपाईको प्रतिवेदनका स्रोत हुन्। हालका प्रधान सेनापतिको बोली र व्यवहारमा मैले चाहीँ समानता पाएको छु सम्पादकज्यू। बरू मिडियाहरु कै सामु हाम्रा प्रधान सेनापतिज्युले बोल्नु भएका के चाहिं व्यवहारमा लागू गर्नुभएन, त्यो चाहिं विषयमा प्रतिवेदन तयार गरिदिनु भएको भए नेपाली सेना लाभान्वित हुने थियो।
११. एमटी मा अनुभवी कर्नेललाई जिम्मेवारी दिने गरिन्थ्यो भनेर त्यहाँ गएर कुम्ल्याउन नपाएकाहरुको सुस्केरा पनि तपाईँको प्रधान सेनापतिको व्यवहार बोलीसँग मेल खाँदैन भन्ने तर्कसँग मिल्दैन।
एमटीमा यसअघि जिम्मेवारी पाएका अनुभवी कर्नेलको करतुत पनि तपाईँको थप खोज अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने मुख्य क्षेत्र हुनसक्छ। स्टाफ अधिकृत हुँदैमा वा नातेदार हुँदैमा एमटीको जिम्मेवारी दिनुहुँदैन भन्ने तपाईँको कुतर्कसँग कोहि पनि सहमत हुनसक्दैन। यसबाट तपाईँको स्वनामधन्य प्रतिवेदन आफैंमा पूर्वाग्रही र निराधार छ। यदि तपाईंको स्रोतसँग क्षमता छ भने बरू जयराम थापा कर्सापले कुनै अनियमितता गर्नुभएको भए पर्दाफास गरिदियोस्।
सम्पादक महोदय, धेरैपछि एमटीमा सुधार भएको हामीले अनुभव गरेका छौं। जयराम कर्साप मेरो सिनियर भएको नाताले म राम्ररी चिन्छु। टंक भट्ट कर्सापको लेवनानको ५० हजार डलरको घोटालाको बारेमा चाहीँ म अनभिज्ञ छु र आफ्नो धारणा बनाउन सक्ने अवस्थामा छैन। तपाईँले नेपाली सेनाबाट प्रमाणिकरण गरि राखिदिनु भएको भए पाठकका लागि विश्वसनीय हुने थियो।
फास्ट ट्रयाक
१२. फास्ट ट्रयाकको बारेमा मलाई खासै जानकारी छैन, त्यसैले तपाईँको यस सम्बन्धि प्रतिवेदनमा प्रतिक्रिया गर्नसक्ने अवस्थामा छैन। तर, चिफसापको सम्बोधनमा अनियमितता र ढिलासुस्तीका घटनाका उजुरीहरू छन्, छानविन गरिन्छ भन्ने उल्लेख थियो।
त्यसपछि शरदलाल श्रेष्ठ जर्सापलाई निलम्बन नै गरेर छानविन भएको, पछि पुनः आयोजना प्रमुखमा नियुक्त भई कार्य गरिरहेको, खाँड जर्सापलाई रिटायर भएपछि समेत जंगी अड्डामा ल्याई छानविन गरिएको सम्म मैले थाहा पाएको थिएँ। तपाईँको पत्रिका पढेपछि के भएको रहेछ भनेर बुझ्दा अहिले पनि विभिन्न विषयमा छानविन भइरहेको, आयोजनाका जिम्मेवार पदाधिकारीहरुलाई नै मनलाग्दी गर्न नपाउँदा सकसमा रहेको बुझको छु।
यस आयोजनाको कार्यविधिमा गैर प्राविधिक राख्ने गरी सिफारिस गर्नु पर्नाको कारण त म जान्दिनँ। तपाईँले के परख गर्नु भएको छ, नेपाली सेनाका प्राविधिकलाई हामीले चिनेका छैनौं र ? कसै कसैको पहुँच र सम्पत्तिको भण्डार कति छ, तिनको तलव कति हो, तिनीहरुको आम्दानीको स्रोत के हो? तपाईँले विस्तृतमा अध्ययन गर्नुपर्ने क्षेत्र हो। प्राविधिक र गैरप्राविधिक आयोजना प्रमुखको विषय किन भन्ने प्रश्नको जवाफ शायद त्यसै प्रतिवेदनले स्पष्ट दिनसक्छ। होइन भने पनि किन प्रस्ताव गरियो, गैर प्राविधिक भन्ने विषय रक्षा मन्त्रालय र जंगी अड्डाको विचमा छलफल नभई जंगी अड्डाबाट लिखित प्रस्ताव जाने कुरै आउँदैन। प्रतिवेदनलाई वास्तविक बनाउनका लागि अनुमान होइन, प्रमाण जुटाउन तपाईँले त्यो पनि निकाल्न सक्नुपर्नेछ।
भारी बिसाउने कथा
१३. हाम्रा प्रधान सेनापतिज्यूको लामो भाषण शायद तपाईँलाई साह्रै घत लागेछ। हामीलाई पनि पहिलो पटक सत्य बोल्ने प्रधान सेनापति पाएर एकदमै घत लाग्यो। कसरी भयो थाहा छैन। तर, नेपाली सेनाका देशैभरका निकायमा अहिले सकल दर्जाले शुद्ध पानी पिउन पाएका छन्, जुन चिफसापको पहिलो भाषणमा उल्लेख थियो।
हाम्रो रासनको स्तरमा अहिलेका प्रधान सेनापति आएपछि आएको सुधारको प्रतिवेदन तयार गर्न म तपाईँलाई व्यक्तिगत तर्फबाट नै आव्हान गर्न चाहन्छु।
२१५० रूपैयाँ व्यक्तिगत खर्च गरेर प्राप्त हुने ट्रयाक सुट यो चिफ साप आएपछि १७ सयमा बसुन्धरा क्यान्टिनबाट पायौं, अहिले त त्यो पनि सरकारी कोषबाटै पाउने व्यवस्था भएको छ भन्ने मैले बुझेको छु।
आदरणीय सम्पादक महोदय, नेपाली सेनामा दुइटा मण्डीमा सुत्ने देशका सिपाही म्याट्रेसमा सुत्न शुरु भएको छ। दराज व्यक्तिगत पाउन थालेका छौं। विदाको रासन पनि पाउन थालेका छौं। बासस्थान र व्यारेकको वातावरणमा गुणात्मक सुधार आएको छ। भर्ना भएकाहरु मध्येबाट पनि आफूले भर्ना गरेका र सेनामा छिराएकाहरुलाई काठमाडौंका निकायमा सरूवा गर्ने संस्कार प्रधान सेनापतिले भत्काउनुभयो, सरूवा नियुक्तिको पनि निर्देशीका नै बनाएर लागू भयो। शान्ति सेना छनोटसम्बन्धि कार्यविधि आफ्नो कार्यकालको शुरुमा नै शंसोधन गरी शान्ति सेना पठाउन पाउने कोटा आफ्नो समेत आफैंले काटे।
घरकाजमा राख्ने प्रणालीलाई विविध वाधाविरोधका बावजुद नियमन गरे। यसबाट भुपु चिफसाप र जर्सापहरु पनि प्रधान सेनापतिसँग रूष्ट छन् भन्ने हामीले सुनेका छौं। बहालवालाहरू त बोल्न नसकेर मात्रै हो। हाम्रा प्रधान सेनापतिज्यूको कामबाट पहिलो पल्ट सुधारको दिप बलेको छ, हामी उत्साहित भएका छौं, आशावादी भएका छौं। बुट खरीदको विषयमा तपाईँले उठाउनु भएको मुद्दामा मलाई जानकारी छैन। तर एउटा कुरा म तपाईँलाई के भन्न सक्छु भने हामीले यस अगाडि पाउने र लाउने बुटको स्तर कमसल नै हो।
१६ वर्षे मेरो सैनिक सेवामा मैले कहिल्यै सजिलो जुत्ता लाउन पाइनँ। एक महिना नटिकेको पनि मैले देखे सुनेकै हो। बुटसम्बन्धी एकलौटे ठेकेदारको स्वार्थ यस अघि पनि विभिन्न पत्रपत्रिकामा नआएका होइनन्। तर, ठेकेदारले फेरि पहिलाको जस्तै कमशल बुट ल्याएर नाफा कुम्लाउन पाएन भनेर देखिएको असन्तोष हो कि यो?
नेपाली सेनामा सिपाहीको वर्दि लगाएका ठेकेदारका ठेकेदार जागिरेहरु पनि छन्, तपाईँले बुझ्नु जरूरि छ सम्पादक महोदय। बुटको सम्बन्धमा प्रधान सेनापतिज्यूले ‘नेपाली सेनामा नै बुट कारखाना स्थापना नगरी ठेकेदारको चक्रव्यूहबाट बाहिर आउन सकिँदैन, स्तरीय बुट कल्पना मात्रै हुन्छु’, एउटा अन्र्तक्रियात्मक कार्यक्रममा भन्नुभएको कुरा तपाईसंग साट्न चाहन्छु।
सम्पादक महोदयलाई यसमा पनि विस्तृत खोज अनुसन्धान गरी नेपाली सेनालाई राम्रो बुट प्राप्त गर्ने किसिमको प्रतिवेदन तयार गरिदिनु हुन अनुरोध गर्छु।
प्रचारवाजी
१४. तपाईँले ‘सिपाहीसँग प्रधान सेनापति’ प्रत्यक्ष संवाद कार्यक्रमलाई सस्तो प्रचार भन्नुभयो, म चाहीँ नेपाली सेनामा सुधार र परिवर्तनको आधार भन्न रुचाउँछु। पहिलो कार्यक्रममा प्रधान सेनापतिज्यूले पाँच घण्टा जति आफैंले उठेका सबै जिज्ञासाको जवाफ दिनुभयो।
त्यसपछि आ-आफ्ना विभागीय प्रश्नहरुमा विभागीय प्रमुखलाई प्रधान सेनापतिज्यू कै उपस्थितिमा जवाफ दिने प्रचलन राखिदिनुभयो। प्रधान सेनापतिलाई देखाएर छुट लिने गरेका, आफ्ना विभागको वारेमा जानकारी नराख्ने र सिपाहीको समस्या पहिचान गर्न र सुन्न नसक्ने जर्सापहरुको कष्ट पो तपाईँले प्रतिवेदनमा समावेस गर्नु भएको हो कि।
सम्पादक महोदय, प्रश्नोत्तरको कार्यक्रम भइरहेकै बेलामा आम सिपाहीका सकस र समस्याहरुको जवाफ दिन नपरे हुन्थ्यो भन्ने प्रवृतिका हाकिमहरुले सो प्रश्न उत्तरको कार्यक्रम छिटो सिध्याउन कार्यक्रम सञ्चालकलाई निर्देशन दिएको कार्यक्रमकै दौरान मैले प्रत्यक्ष देखेको छु। तपाईँले कसरी यसलाई सस्तो प्रचारवाजी भन्नुभयो। विभागीय प्रमुखहरुलाई सिपाहीले गर्ने प्रश्नहरुले परेको सकारात्मक प्रभाव हामीले अनुभव गरेका छौं, महाशय जवाफ दिन नपरे हुन्थ्यो भन्ने र जवाफदेही हुन नसक्ने गुटको प्रतिनिधित्व तपाईँको प्रतिवेदनले गरेको छ। आफू जवाफदेही हुन नसक्नेले सिपाहीले आफ्नो कमाण्डरलाई आफ्ना सरोकारका विषयमा इमिडियट कमाण्डरलाई नटेर्ने शसस्त्र प्रहरीको नियति हुनसक्छ भन्ने तर्कसँग म सहमत हुन सकिनँ।
मेरो कमाण्डर म र मेरा सेवा, सुविधाहरु प्रति उत्तरदायी छ र जवाफदेही छ भने मेरो विश्वास त्यो कमाण्डरमाथि हुन्छ, अनि म परेको बेला त्यो कमाण्डरका लागि, नेपाली सेनाको लागि र यो राष्ट्रको लागि गोली थाप्न तत्पर हुन्छु। महोदय, मेरा सरोकारका विषय पुरा गर्ने त कुरा छोडौं, जवाफ पनि सही तवरबाट दिन नसक्ने हाकिमलाई म रिटायर भएपछि विर्सन्छु, मेरो भरोसा त्यस्तो कमाण्डरमा किञ्चित रहँदैन। यो रिटायर भएपछि हाम्रा धेरै जसो जर्साप कर्सापहरुको वास्तविक भोगाई हो, तपाईँले यसमा पनि अनुसन्धान गर्न सक्नुहुन्छ। हाम्रा आदरणीय प्रधान सेनापतिज्यूको सस्तो प्रचारवाजीको कुरा छोडौं। उहाँको कार्यकालमा भएका कार्यको मात्र प्रचारप्रसार गर्ने र आफ्नो महिमा गाउन खोज्नु भएको भए, तपाईँको नियोजित प्रतिवेदन बाह्य पाठकलाई साच्चिकै जस्तो लाग्दैन थियो।
सस्तो प्रचारमा होइन, नेपाली सेनाको स्तर उकास्न र सम्मान अभिवृद्धि गर्न उहाँ लाग्नुभएको छ। तर, मालिक प्रवृति भएकालाई यो पाच्य हुने कुरै भएन। तपाईँको प्रतिवेदनको स्रोत त्यही मालिक गुट हो। तपाईँको प्रतिवेदन प्रकाशीत भएपछि दंग पर्ने गुट र पत्यार नगर्ने दुई गुट नेपाली सेनामा छ। पहिलो गुटमा तपाईँका स्रोतहरु र खान नपाएकाहरु पर्छन्, दोस्रो गुटमा आम सिपाही पर्छन्, जसमा आफ्नो नेतृत्वको नैतिकता, चरित्र र सत्यप्रति पूर्ण विश्वास छ।
१५. प्रचारवाजी कै कथामा हाम्रा प्रधान सेनापतिज्यूले सम्पति विवरण सार्वजनिक गर्नुलाई पनि तपाईँले सकारात्मक लिन सक्नुभएन। सही हो, नीतिगत व्यवस्था नहुँदा सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्य कसैका लागि वाध्यकारी छैन। हाम्रा आदरणीय प्रधान सेनापतिज्यूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो, यो उहाँको नैतिक धरातल हो जस्तो मलाई लाग्छ। अब सेवा निवृत भएर जाँदा पनि उहाँलाई सम्पत्ति विवरण सार्वजनिक गर्न वाध्यकारी भयो कि जस्तो मलाई लाग्छ।
स्वेच्छाचारी भएर आफ्ना इच्छाहरु लाद्न खोज्ने र कमाउ व्यापार संगठनमा चलाउन खोज्नेले सार्वजनिक गर्लान र सम्पत्ति विवरण। जुन अनर्गल आरोप तपाईले लगाउनुभयो, के का लागि भन्ने प्रश्न आफैंलाई सोध्नुभयो भने त्यसको जवाफ तपाईँ आफैंले पाउनुपर्ने हो। सम्पत्ति विवरण सार्वजनिक गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने भनेर तपाईँले भन्नु भन्दा आफ्ना प्रधान सेनापतिले सार्वजनिक गरिसकेपछि पनि त्यो नैतिकता देखाउन नसक्ने अकुत कमाएकाहरु, कानपुरमा सम्पत्ति थुपार्नेहरुलाई एक पटक प्रश्न गर्नु भए बेश हुने थियो।
हाम्रा प्रधानसेनापतिमाथि हरेक विषयमा प्रश्न तेर्साउनु भन्दा सम्पत्ति विवरण सार्वजनिक गर्न नसक्नेलाई तपाईँको पत्रिका मार्फत् दवाव दिनु भएको भए बेश हुने थियो कि? कतै तपाईँको प्रतिवेदन अनैतिकको गुटबाट प्रेरित पो पर्नु भयो कि – एकपटक समिक्षा गर्नुहोला। नेपाली सेनामा पहिलो पटक प्रधान सेनापति लोभानीपापानीबाट टाढा रहेको मेरो अनुभव हो। मेरो अनुभव गलत सावित गर्नुहुन पनि म तपाईँलाई चुनौति दिन चाहन्छु।
समष्टिगत विश्लेषणर मेरा सुझाव
१६. श्रीमान सम्पादकज्यू, तपाईँलाई लाग्ला यो प्रधान सेनापतिको गुटको हो, त्यसकारण प्रधान सेनापतिको रक्षा गर्दैछ। नेपाली सेनामा पहिलो पटक ‘सेनाभित्र व्यापक सुधारको खाँचो औंल्याउने सेनाप्रमुख पूर्णचन्द्र थापाको पारदर्शी र विश्वसनीय क्रियाकलाप’ हरुको ठिक विपरीतसुर्यलाई हत्केलाले छोप्न खोज्ने, असत्यलाई सत्य सावित गर्न खोज्ने, व्यक्तिगत स्वार्थ प्रताडित हुँदा सांगठनिक हितका विषयमा भएका सुधारका कार्यलाई पचाउन नसक्नेहरुको गुटको प्रतिनिधित्व गर्ने तपाईँको प्रतिवेदनले यो देशका सच्चा सिपाहीको छातिमा घोच्यो, असह्य पीडा हुने गरी। त्यसकारण मात्रै मैले पत्र लेख्ने साहस जुटाएको हुँ। तपाईँहरू सञ्चारकर्मी वा सम्पादकले जस्तै मपनि थाहा नपाएका र अप्रमाणित कुरामा अड्कल काट्न सक्दिनँ, पेशाको धर्मले। मैले लेखेका कुरा नेपाली सेनामा अहिले आएको सुधारको विम्व हो, यो मेरो नितान्त ब्यक्तिगत अनुभव हो। मैले सिपाहीको रुपमा सत्यको रक्षा गर्नैपर्छ।
१७. संगठनका गल्ती कमजोरी र विकृतिहरुमा सुधारको आवश्यकता पहिचान गरी त्यसलाई परिवर्तन गरेर तीन वर्षमा नेतृत्व हस्तान्तरण गर्छु भन्ने हाम्रा प्रधान सेनापतिज्यूको दृढताले गर्दा नेतृत्वप्रति पहिलो पटक अपार विश्वासको उभार आएको छ। बल्ल ‘हाम्राले होइन राम्राले, कर्णेले होइन गर्नेले’ अवसर पाउने मेरिटोक्रेसीको अवधारणा, समानता र समताको वातावरण सिर्जना भएको छ। अफसोच तपाईँ त्यही खानबाट बञ्चित यथास्थितिवादी संगठनभित्रैका परिवर्तनका बाधकहरुको पक्षमा उभिनुभयो। तपाईँले त लेखिदिनु भयो, केहीले पत्याए पनि होला, केहीले यसमा आनन्दाभूति पनि गरिरहेका होलान्, तर सम्पादकज्यू नेपाली सेनामा आएको परिवर्तनको वास्तविकता भन्दा तपाईँको प्रतिवेदन विल्कुल विपरीत छ। परख नै नगरी पूर्वाग्रही भई स्वार्थी स्रोतका आधारमा कसैको परीक्षण गर्नाले तपाईँको प्रतिवेदन सरासर गलत भएको छ। हाम्रा प्रधान सेनापतिज्यूको मात्रै होइन, तपाईँका स्रोतहरू सहित तपाईले उल्लेख गर्नु भएका अन्यको हकमा समेत तपाईको प्रतिवेदन दुर्भावनापूर्ण, एकतर्फी र तथ्य विपरीत छ।
तपाईको प्रतिवेदनले नेपाली सेनामा तत्काल सुधार गर्नुपर्ने गलत संस्कार र प्रवृतिलाई बढावा दिन खोजेको छ। नेपाली जनता र चौंथो अंग सञ्चार जगतले चाहेको नेपाली सेना त्यस्तै हो त सम्पादकज्यू? तपाईँले अरू पक्षहरुबाट पनि हेर्ने र नेपाली सेनाबाट प्रमाणित गराउने कोशिश समेत गर्नुभएन जस्तो लाग्छ। सेना र प्रधान सेनापतिलाई मात्रै होइन, तपाईँ, तपाईँको पत्रिका र तपाईँ आवद्ध मिडिया हाउसको पनि विश्वसनीयतामा यसबाट प्रश्न तेर्सिएन र ? विश्वसनियता भत्किँदा एक दिन तपाईँको पत्रिका पनि अरू साप्ताहिक जस्तै हुनसक्ने तर्फ पनि ध्यान दिनु उपयुक्त होला महोदय।
१८. हाम्रा आदरणीय प्रधान सेनापतिज्यूले पहिलो पटक नेपाली सेनामा पारदर्शिताको छनक दिने गरी आफ्नो नितान्त सांगठनिक सम्बोधनमा नै पत्रकार मित्रहरुलाई सहभागी गराउनुभयो। मैले यस भन्दा माथि राखेका विषयमा पनि नेपाली सेनाको सही च्यानलबाट अनुरोध गर्नुहोस्, हाम्रा प्रधान सेनापतिले तपाईँलाई विस्तृत अध्ययन अनुसन्धान गर्न दिनुहुन्छ होला जस्तो लाग्छ। तपाईँले हाम्रा प्रधान सेनापतिज्यूको कुटनीतिक विनम्रता र शालीनताका बारेमा जान्नुभएको रहेछ, हामीले प्रधान सेनापतिज्यूको जनरलसिप महशुस गर्न पाएका छौं।
एउटा सैनिक कमाण्डर जस्तो, संगठनमा सुधार ल्याउन देखाउनु भएको कठोर रुप त हामीले देखेका छौं। सत्य र सही कुरा स्वीकार्ने र संगठनको दृष्टिकोणबाट गलत कुरालाई गलत भन्ने, व्यक्ति होइन संगठन महत्वपूर्ण हो भन्ने। चिफ सापसँग पहिला काम गरेका सिनियरबाट सत्य र सही कुरामा अडिग रहने चिफसापको चरित्र नै हो भन्ने मैले सुनेको छु।
चिफ भएपछि उहाँले सुधारका लागि क्रमभंगताको कठिन बाटो रोज्नुभयो। प्रधान सेनापतिज्यूको ओपन सेक्रेट दृढता, अपारदर्शीता हो जस्तो मलाई लाग्दैन। सम्पादकज्यू, आफ्नो कार्यकालको ५० प्रतिशत समय बिताएका हाम्रा चिफसापलाई तपाईले हेक्का राख्न पनि सुझाउनु भएको छ, जुन एकदमै सकारात्मक छ। यसै प्रसंगमा आफ्नो कार्यकाल आधाआधी बाँकी रहेका आदरणीय चिफसापलाई मेरो पनि एउटा अनुरोध छ -चिफसाप तपाईँको नीति र कार्यप्रणाली सकारात्मक र प्रभावकारी छन्, पत्रपत्रिकामा प्रकाशीत यस्ता समाचारहरुमा हाम्रो विश्वास छैन। नेपाली सेनामा अझै सुधारको खाँचो छ, तपाईको दृढताको आवश्यकता छ। आफ्नो दुनो सोझ्याउँदै आएकाहरु तपाईँको नीतिबाट प्रभावित भई अत्तालिएको यसबाट प्रष्टै देखिन्छ। शमशानको गन्ध पाएपछि पर्ख र हेरमा रक्षात्मक बसेकाहरू अब प्रतिक्रियात्मक भएका छन्। चिफसाप परिवर्तनको चाहना पुरा हुने अवस्थामा आएको संकेत हो यो। सर, तपाईँको अवको ५० प्रतिशत कार्यकालमा पनि बाँकी रहेका नेपाली सेनाका क्यान्सरहरुलाई जो गर्नुपर्ने सो गरी ठिक पारेर मात्रै जानुहोस्। तपाईँको पदीय दायित्व पनि यही नै हो जस्तो मलाई लाग्छ। नेपाली सेनाको हित चाहने हामी सबै सिपाहीहरु तपाईँको साथमा छौं, अनि आफ्नो सेना राम्रो भएको देख्न चाहने नेपाली जनताको सदभाव पनि हजुरको साथमा अवश्य नै रहन्छ। स्वार्थीहरु परिवर्तनविरोधी खेमामा उभिन्छन्, अहिले तिनै संगठनहित विरोधीहरुलाई सही जस्तो देखाउन खेजिएको छ। सत्यको सधैं जित हुन्छ सर, नैतिक व्यक्तिले कसैसंग डगमगाउनु पर्दैन।
कुकुरले भुक्दा हात्ति रोकिनुपर्ने कुनै जरूरत छैन चिफसाप।
१९. अन्त्यमा आदरणीय सम्पादकज्यू तथा नेपाली सेनासँग सम्बन्धित प्रतिवेदन तयार पार्न सहभागी मित्रलाई अनुरोध गर्न चाहन्छु। नेपाली सेनामा पहिलो पटक अनुभव गर्न सकिने गरी सुधारको अभियान शुरु भएको छ। तपाईँहरूले पच्छगामीहरुको वकालत गर्नुभयो। तपाईहरूको प्रकाशनले फेरि नेपाली सेनामा पहिला कै पुनरावृति हुने डर हामीलाई जागेको छ, यसबाट असत्यको स्वर उँचो हुनसक्छ।
कृपया तपाईँको व्यक्तिगत र संस्थाको विश्वसनीयताको कसैले कसैमाथि प्रहार गर्ने साधनको रुपमा प्रयोग गर्न नपाउन्। वास्तविकतालाई आम जनतामाझ उजागर गरी सही विषय र व्यक्तिले संगठन र देशमा स्थान पाउन्, नत्र कसरी चौंथो अंगको स्वार्थ र दायित्व पुरा होला त। अरूलाई दायित्वबोध गराउन खोज्नेले आफ्नो दायित्व पनि सही रुपमा निर्वाह गर्नुपर्ने वास्तविकता तपाईहरुका आगामी खोज र प्रकाशनमा देख्न पाइयोस्।
२०. तपाईको प्रकाशनले मेरो संगठनका लागि मैले केही समय खर्चन वाध्य भएँ। धरातलीय यथार्थलाई हेर्ने हो भने र यदि बहुपक्षीय अनुसन्धान गरी प्रतिवेदन तयार गर्नुभएको भए मलाई लाग्छ ‘वास्तवमा तपाईँको हेडलाइन’ स्वेच्छाचारी प्रधान सेनापति, परिवर्तनका वाधक ‘होइन कि’ निस्वार्थ र दुरदर्शी प्रधान सेनापति: नेपाली सेनामा परिवर्तनका संवाहक हुने थियो। सम्पादक महोदय, सञ्चारजगत झुक्किएर वा नियतवस अवास्तविक खेमामा पुग्दा यसको असर वा प्रभाव समाजमा के पर्लारु के पर्यो होला? यसले कसको पृष्ठपोषण गर्ला? अहिलेलाई त्यति अनुमान मात्रै गरौं। तर, आदरणीय सम्पादकज्यू हाम्रा प्रधान सेनापतिज्यूको नेतृत्वमा नेपाली सेनामा अग्रगामी छलाङ मार्ने किसिमको वातावरण निर्माण भएको छ। आफ्ना व्यक्तिगत स्वार्थहरु सिद्ध नभएकाहरु विचलित भएका छन्, तर, आम नेपाली सेनामा उत्साह थपिएको छ। देखेसुनेको वा सुनाइएको वा प्रायोजित गरिएको होइन, यो अनुभव मेरो हो, समग्र नेपाली सेनाको पनि हो।
नोटः लेखक नेपाली सेनाका एक अधिकृत हुन्। पदीय दाहित्वका कारण उनको नाम हामीले गोप्य राखेका छौं। यो उनको निजी विचार हो।