चीनबाट ३२३ जना भारतीयको उद्धार

बिएल संवाददाता

नयाँदिल्ली

एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको वुहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ। कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६४७ जना पुगेको छ। 

वुहानबाट आइतबार बिहान ३.१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो। आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए। 

चीनको वुहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ। गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ। 

चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2020-02-03 04:27:36

प्रतिकृया दिनुहोस्