कर्णाली प्रदेशमा दैनिक ७१ वटा सवारी साधनलाई ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गरेका छन्। चालु आर्थिक वर्षको छ महिनामा बस, ट्रक जीप, कार, ट्याक्टर, मोटरसाइल र टेक्पो गरेर १२ हजार सात ९२ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गरेका छन्।
ट्राफिक नियमको पालना नगरी यात्रु बढी बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सडक लेन पालना नगर्नेलाई यातायातका साधनहरुलाई ट्राफिक प्रहरीको कारवाही गर्ने छ।
कर्णाली प्रदेशमा विगत तीन वर्षदेखिको ट्राफिक कारवाहीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७३/०७४ मा ३२ हजार १५, आर्थिक वर्ष २०७४/०७५ मा ४१ हजार पाँच सय ९३ र आर्थिक वर्ष २०७५/०७६ मा ५८ हजार तीन सय ४१ सवारी साधन कारवाहीमा परेका छन्।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म कर्णाली प्रदेशमा १२ हजार सात सय ९२ सवारी साधन कारवाहीमा परेका छन्। जसमा, एक हजार पाँच सय ९२ बस, एक हजार पाँच ४३ वटा ट्रक, दुई हजार पाँच सय १३ जीप, एक हजार एक सय ६९ ट्याक्टर कारवाहीमा परेका छन्। त्यो बाहेकका अन्य सवारी साधनहरु ७७ वटा कारवाहीमा परेका छन्।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा सबैभन्दा बढी साना सवारी साधन मोटर साइकल र टेम्पोहरु ट्राफिक कारवाहीमा परेका छन्।
छ महिनाको अवधिमा मोटर साइकल तीन हजार छ सय ८२ र टेम्पो एक हजार नौ सय ३७ ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । कारवाही परेको टेम्पोहरु सुर्खेतमा चल्ने टेम्पो संख्याभन्दा बढी रहेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवत्ता मेघराज प्रसाद चौरासियाले बताए । ‘कर्णाली प्रदेशका हिमाली पहाडी जिल्लामा खासै टम्पो चल्दैनन्।’ उनले भने,‘टेम्पो कारवाही परेको संख्या वीरेन्द्रनगरमा चल्ने संख्याभन्दा बढी हो।’
सवारीका साधन बृद्धि हुँदै गएकोले पनि ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बृद्धि भएको प्रवत्ता चौरासियाले बताए। नेपालमा ट्राफिक नियमको उल्लंघनका घटना बढ्दै जान थालेपनि जरिवानाको बृद्धि गरेर कम गर्ने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
विगतमा ट्राफिक नियम उल्लंघन गर्नेलाई एक हजार पाँच हजार रुपैयाँ जरिवाना गर्ने नयाँ संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा प्रस्ताव गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालले बताए। ‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले भने ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको छ । त्यसकारण जरिवाना बढाउन लागेका हौं।’
विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग पुसको दोश्रो साता छलफल गरिएको खनालले जानकारी दिए। ‘प्रदेश सरकार र स्टेक होल्डरसँग गरेको छलफल अन्तिम चरणमा पुगकोले मन्त्रालयमार्फत संसदमा जाने तयारीमा रहेको छ।’ उनले भने,‘संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ।’
अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिने गरेको छ । यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा पाँच हजार जरिवाना लगाउन पाउने छ।
सवारी कारवाहीबाट २२ करोड सात लाख राजश्व
प्रदेशमा १२ हजार सात सय ९२ सवारी साधन कारवाहीमा परेका छन्। कारवाही परेका सवारी साधनबाट २२ करोड सात लाख ५७ हजार एक सय राजश्व संकलन भएको छ।
जसमा, बसबाट ११ लाख ९४ हजार, एक हजार, ट्रकबाट १६ लाख ६९ हजार पाँच सय, जीपबाट २३ लाख २९ हजार चार सय, ट्याक्टरबाट आठ लाख ८६ हजार, जसमा, बसबाट ११ लाख ९४ हजार, एक हजार, ट्रकबाट १६ लाख ६९ हजार पाँच सय, जीपबाट २३ लाख २९ हजार चार सय, ट्याक्टरबाट आठ लाख ८६ हजार, मोटरसाइकलबाट ३१ लाख ९० हजार र टेम्पोबाट १५ लाख ९१ हजार पाँच सय र अन्य सवारी साधनहरुबाट ४१ हजार पाँच सय राजश्व संकलन भएको हो।