यदि जीवनलाई किताबको पानासँग दाँज्ने हो भने मेरो जीवन कति पानाको हुनेछ, थाहा छैन। तर यति अन्दाज गर्न सक्छु कि ती पल्टिन र पढिन बाँकी पानाहरूमा अनुभवका अनेकौं वाक्यहरू बनिसकेका छन्, अनगिन्ती शब्दहरू कोरिइसकेका छन्, जुन मैले पढ्न बाँकी छ र जसको सार बुझ्न पनि बाँकी नै छ।
अनि, सार बुझ्दै जाने क्रममा परिवर्तन संसारको नियम हो भनेर पनि बुझ्न थालेकी छु। सँगै यो परिवर्तित संसारको नियममा जसको, जति पानाको कहानी छ, त्यही हिसाबले पानाहरू पल्टिने, वाक्यहरू बन्ने र शब्दहरू कोरिने स्वाभाविक हो भनेर पनि जान्न थालेकी छु। आज मेरो बुझाईको यस संघारमा उभिएर मलाई एउटा सङ्कल्प गर्न मन छ, मेरा जीवनका हरेक पानाहरूमा मैले सोचेजस्तो वा नसोचेजस्तो जेजस्ता मोड आऊन्, घटना घटून्, तिनलाई म सहर्ष स्वीकार गर्नेछु, इमान्दारीपूर्वक काखमा लिनेछु, शिशुलाई माताले स्नेहपूर्वक काखमा लिएजस्तै। नियतिले जबसम्म अनुमति दिइरहनेछ, म हरेक पानाहरूसँग इनआउट–इनआउटको खेल खेलिरहनेछु।
सानोमा एउटा ठूलो गोलो घेरा बनाएर इनआउट खेलिन्थ्यो। सरले इन भन्नुहुन्थ्यो, घेराभित्र उफ्रिएर जान्थ्यौं। आउट भन्नुहुन्थ्यो, घेरा बाहिर उफ्रिएर फेरि जान्थ्यौं। अनि हेर्दाहेर्दै यति छिट्छिटो इनआउट भन्नुहुन्थ्यो कि कतिखेर घेरालाई नाघ्ने र निस्किने भन्ने निर्णय गर्नै मुश्किल हुन्थ्यो।
यो जीवन यस्तो रफ्तारमा कुदेको छ कि कतिखेर इन र कतिखेर आउटमा उभिनुपर्छ भन्ने कुरा कसले सिकाउन सक्छ र ? तर, म भने चाहे इनआउटको घेरा होस् वा सामाजिक बन्धनको आँगन होस्, जीवनको अन्तिम पानाको अन्तिम शब्द नउदाउन्जेल एउटा लयमा हिंड्ने प्रयास गर्नेछु– नियममा चलिरहनेछु, एकाग्ररुपमा, तपस्याभावले, समयको आँधीमा अठोटको दियोलाई जोगाएर। कतिखेर, कहाँनेर कथा सधैंका लागि सिद्धिने हो भन्ने कुराको मलाई चासो हुनेछैन र हुनेछ त केवल यात्राको रोमाञ्चलाई महसुस गर्ने।
धेरै घटनाहरू मेरा मनभित्रै घटेका छन्। कति रहस्यहरू भित्रै दबाएर राखेकी पनि छु। त्यही मनभित्रै धेरै कुराहरू उम्लिएका छन् र त्यसभित्रै धेरै कुराहरू सेलाएका पनि छन्। कहिले मनले सुखी हुने निर्णय गर्यो, कहिले त्यही मनले दुःखको दुनियाँको सफर गर्ने अठोट पनि गर्यो। दिमागले सोच्न प्रेरित गर्यो र त्यही दिमागले नसोच्न पनि उक्सायो। जेजति इत्यादि जे भयो, मेरो मनमा भयो, मेरो मनले गर्दा भयो।
हरेक परिस्थितिको दोष म कसैलाई दिन्नँ। म नै सफल हुँ, म नै असफल हुँ, म नै गुणी हुँ, म नै दोषी हुँ, म नै भाग्यमानी हुँ, म नै अभागी हुँ, मैले जे गरें र गर्छु, म आफैं त्यसको भागीदार हुँ, म आफैं हुँ, हरेक कार्यको परिणाम म हुँ, मात्र म। त्यसैले पनि अब आउने हरेक परिस्थितिमा म आत्तिनेछैन। सबै कुरालाई सहर्षै स्वीकार्नेछु– बिना कुनै गुनासो।
म नौ रसले निर्मित एक मानव हुँ। आफूभित्र शृंगार, हाँस्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भुत र शान्त सबै स्वभाव लिएर जन्मिएको एउटा व्यक्ति हुँ। यस व्यक्तिबाट हजारौं गल्ती भए होलान्, हजारौं पुण्यका काम पनि भएका छन् होलान्। म हार्दै जित्नेछु अनि जित्दै हार्ने पनि छु। म लड्दै उठ्नेछु र उठेपछि लड्नुको सत्यलाई पनि स्वीकार्नेछु।
बिहान मन लागेको बेला उठ्छु। उठ्ने बित्तिकै कालो कफी र एक बट्टा चुरोट लिएर अपार्टमेन्टको बरन्डामा जान्छु। आफ्नो बरन्डाबाट देखिएको व्यस्त मेल्बर्न शहरलाई साक्षी राख्दै चुरोट सल्काउँछु र चुरोटको धुवाँसँगै कफीको प्याला चियर्स गर्छु र दिउँसो कफी सपमा घोटिन जान्छु।
बेलुका सरासर यही अपार्टमेन्टमा आउँछु। लाग्छ, अपार्टमेन्टमा यो बरन्डा मेरो बाटो हेरेर बसेको छ, वाइन र चुरोट पनि। त्यसपछि एउटा हातमा रेड वाइन हुन्छ, अर्को हातमा चुरोट हुन्छ, आँखाले भ्याएसम्म मेल्बर्न शहरको झिलिमिली हुन्छ। यो रात मेरै पेवा हो भनी सोच्छु। विगत, वर्तमान र भविष्यलाई एकसाथ केलाउँछु। मनमा अनगिन्ती कुराहरू खेलाउँछु।
मैले प्रेम पाएँ अनि प्रेम गुमाएँ, प्रेमको आवेगमा डुबेँ अनि त्यही प्रेममा तैरिएँ पनि। तर सबै खुसीहरू र सबै दुःखहरू हाम्रो मुठ्ठीमा कसेर राख्न मिल्दैनरहेछ। यो पानामा मेरो लागि खुशी नै खुशी छ भनेर अड्केर बस्छु भन्दा पनि नमिल्ने रहेछ, यो पानामा मेरो लागि अति पीडा रहेछ भनेर छिटोछिटो पाना पल्टाउन पनि नमिल्ने रहेछ। समयको पाना उसकै हैकममा पल्टिरहेछ र म पनि त्यस पानासँगै सरकसरक पल्टिरहेको छु, पल्टिरहेकी छु, बस् पल्टिरहेछु।