धरहरा पुन: निर्माणले विस्थापित बन्दै काठमाडाैं मलका व्यापारी (भिडियाेसहित)

नेपालको सम्पदा सुचिमा धरहरा अग्र स्थानमा पर्दछ। भिमसेन स्तम्भ नामले परिचित धरहरा हाल निर्माणाधिन अवस्थामा छ।  २०७२ को विनासकारी भुकम्पले गज देखिनै धरहरा तहसनहस पारेको थियो। भुकम्प गएको ४ वर्ष बित्न लागिसक्दा धरहराको पुन निर्माणको काम खासै अगाडी बढेकाे थिएन।

तर  पछिल्लो अवस्था हेर्ने हो भने धरहराको निर्माण कार्य तीब्रगतिमा अगाडी बढिरहेकाे छ। 

धरहराको निर्माण कार्य सुचारु हुँदा यति बेला वरिपरिका अन्य भवन भत्कदैं गएका छन्। पुननिर्माण प्राधिकरणले लगभग ५ महिनाअघि हुलाक सेवा कार्यालय भत्काएको थियो। अब पालाे काठमाडौँ मलको ब्लक बीकाे आएकाे छ। 

काठमाडौं मलको पछिल्लो भाग धरहराको निर्माण क्षेत्रभित्र पर्ने हुनाले प्राधिकरणले भत्काउन आदेश दिएको हो। धरहरालाई ब्यवस्थित र ठूलो चौर बनाउन हुलाक कार्यालयसहित काठमाडौं मलको पछाडिको भाग भत्काउन लागिएको छ। 

पुननिर्माण विभागले सूचना जारी गर्दै ब्लक बीका सटरलाई खाली गर्न भनेको थियो। मल पछाडिको पर्खाल माघ १३ सम्म भत्काउने आदेश थियो। मलको ब्लक बीमा ६५ सटर थिए, जसमा ४५ वटा सञ्चालनमा थिए। 

भत्काउन आदेश दिँदा पनि केही ब्यापारी सामान सार्न आतुर देखिदैनन्। ब्लक बीमा सञ्चालनमा रहेका ४५ सटरमध्ये लगभग खालि भइसकेकाे अवस्था छ। 

व्यवसायीहरु यति बेला पसलका सामान कता लगेर राख्ने भन्ने विषयमा अन्यौलमा  देखिन्छन्। 

उनीहरु आफू अन्यायमा परेको बताउँछन्। तर मलका प्रमुख राजेन्द्र केसी भन्छन्, ‘अर्को ठाउँको व्यवस्था नभएसम्म व्यवसायीलाई आफ्नो सामान अन्यत्र सार्न र ठाउँको व्यवस्था भएपछि उनीहरुलाई उतै सारिने बताएका छौं।’

ब्लक बीमा व्यापार गरेर बसेका खेम भुजेल बैंकमा लालपुर्जा राखेर ऋण लिएर पसलमा लगानी गरेको बताउँछन्। उनी भन्छन्, ‘मेरो त सब कुरा सकिन्छ। चितवनमा भएको घरजग्गा बैंकमा धितो राखेर ऋण लिएको छु। यस्तो भयो भने कसरी ऋण तिर्न सक्छु।’ 

उनले काठमाडौँका सुरुवाती दिनमा पत्रिका बेचेर पसल खोलेका थिए। बीचैमा पसल खालि गर्नुपर्दा सडकमा आउने उनले बताए। भने, ‘देशमै बसेर केही गर्नुपर्छ भनेर विदेश गएर पनि फर्किए। तर, अहिले यस्तो भयो।’ 

आफूहरुलाई ब्लक बी बाट बिस्थापित गर्दा कमाई खाने भाडो नै खोसेको जस्तो लागेको व्यवसायी बताउँछन्। 

ब्लक बीमै व्यवसाय गरेर बसेका नवराज शाह ठकुरी भन्छन्, ‘मैले यो पसलको सजावट र टायल आफै राखेको थिए। लगभग २ लाख खर्च भएकाे थियो। हामी राज्यको उन्नतिको लागि जे पनि गर्न तयार छौं तर राज्यले पनि हाम्रो माग अनुसारको ठाउँ दिनुपर्छ। नत्र हामी मरे सरह हुन्छौं।’ 

यो विषयमा ब्लक बीका ब्यापारी संघले  कुरा नराखेको होइन तर  कसैलाई केही बोल्न नदिइएको उनले बताए। 
 

प्रकाशित मिति: : 2020-01-30 03:30:00

प्रतिकृया दिनुहोस्