६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउँदै चीन, पूरै देशको इन्जिनियरहरु बोलाइयाे

घातक कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम भइरहेको छ। कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि यस्तो निर्णय लिइएको हो। 

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहान शहरबाट नै कोरोना भाइरस फैलन सुरु भएको थियो। अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ। 

चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ। 

वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ। अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ। हावर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिन विषयमा प्राध्यापन गर्ने जोआन कफम्यानले भने, ‘यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको लागि बनाउन लागिएको हो। यो अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसहरु आउने छन्।’

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याको हुनेछ। अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ।

काउन्सिल अप फरेन रिलेसन्सका ग्लोबल हेल्थ सिनियर फेलो यानजोङ्ग हुआङ्ग भन्छन्, ‘ठूलोभन्दा ठूलो परियोजना चाँडोभन्दा चाँडो सक्न चीनले रेकर्ड राख्दै आइरहेको छ।’

सन् २००३ मा पनि सात दिनभित्र बेइजिङमा अस्पताल बनाइएको उनी सम्झिन्छन् र चीन त्यो रेकर्ड तोड्ने प्रयासमा रहेको उनी बताउँछन्। 

हुआङ्गका अनुसार यो काम समयमै सक्नका लागि पूरै देशको विभिन्न ठाउँबाट इन्जिनियरहरुलाई बोलाइएको छ।  

प्रकाशित मिति: : 2020-01-26 19:58:10

प्रतिकृया दिनुहोस्