साविक विजेता मनाङकाे साँघुरो जित

बिएल संवाददाता

काठमाडाै‌ं

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगमा साँघुरो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे।

खेलको १५ औं मिनेटमा निशान लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।  रेफ्री श्याम दनुवारले त्यसलाई गोलको मान्यता दिएनन् । त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए ।

खेलको ४६ औं मिनेटमा विमलले गोल गरे। उनकै गोल मनाङको जितमा निर्णायक बन्यो ।

जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।

तर, मनाङ गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । आर्मी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहदा मछिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2020-01-25 04:21:51

प्रतिकृया दिनुहोस्