घटना भएको चार दिनपछि एन्फाले भन्याे– ‘मनाङेले पदीय मर्यादाको ख्याल गरेनन्’

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दिपक मनाङेलाई कारबाही गर्न माग गरेको छ। कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपातकाे  घटना भएको चार दिनपछि विज्ञप्ति निकालदै कारबाहीको माग गरेको हो। 

कास्की अध्यक्ष गुरुङमाथि मनाङेले गत मंगलबार हातपात गरेका थिए।शुक्रबार विज्ञप्ति निकालेर घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

एन्फा प्रवक्ता किरण राईले निकालेको विज्ञप्तिमा भनिएको छ,‘एन्फाले सबै टिमलाई खेलको एकदिन अगाडि र अन्तिम खेलको एक दिन पछाडिसम्म सेवा सुवधि उपलब्ध हुने व्यवस्था स्पष्टसँग उल्लेख गरिएको छ। व्यक्तिगत पहुँचको आधारमा कुनै पनि विशेष टिमलाई विशेष व्यवस्था गर्ने नियम नभएको तर गण्डकी प्रदेशका प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङ जिल्लाका लागि विशेष सुविधा माग गर्दै हातपातको घटना आपत्तिजनक छ।’

एन्फाले मनाङेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति कानुनी राज्य र विधिको शासनको उपहास गरेको बताएको छ। मनाङेले न्यूनतम पदीय मर्यादाको ख्याल नगरी दण्डहिनताको अभिव्यक्ति र भौतिक आक्रमणको घटनाले सिंगो फुटबल क्षेत्रलाई मात्र नभइ सम्पूर्ण नागरिकलाई दु:खी तुल्याएको एन्फाको भनाइ छ।

घटनाको घोर भर्त्सना गरेको एन्फाले भनेको छ,‘कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि शान्ति सुरक्षाको उचिच व्यवस्था गर्न सम्बन्धित निकायको समेत ध्यानाकर्षण गर्न चाहान्छौं।’

मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए। मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै झापड हानेका थिए।

बुधबार अध्यक्ष गुरुङले सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।

बिहीबार मनाङेलाई प्रहरीले पोखराको लेकसाइडको होटलबाट पक्राउ गरेको थियो। एन्फाले भने शुक्रबार विज्ञप्ति निकालेर घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति: : 2020-01-25 02:26:10

प्रतिकृया दिनुहोस्