डाभोसबाट राष्ट्रपति ट्रम्पको हुँकार : 'सामग्री' हामीसँग छ, उनीहरूसँग छैन

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी सिनेटमा आफूविरूद्ध महाअभियोग बहस जारी रहेको बेला राष्ट्रपति ट्रम्प भने स्विटजरल्याण्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा सहभागी थिए। 

सम्मेलनमा सहभागी भएर फर्कनुअघि उनले एक पत्रकार सम्मेलनमा सिनेटमा जारी सुनुवाइको प्रसंग निकाल्दै भने, 'हामीले राम्रो गरिरहेका छौं । साँच्चै भन्ने हो भने हामीसँग सामग्री छ, उनीहरूसँग सामग्री नै छैन।'

अमेरिकी सिनेटमा आफूविरूद्ध महाअभियोग बहस जारी रहेको बेला स्विट्जरल्याण्डको डाभोसमा  रहेका राष्ट्रपति ट्रम्प स्वदेश फर्कदैछन्। फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने,  'सामग्री हामीसँग छ, उनीहरूसँग छैन।'

उनले यसो भनेर युक्रेन प्रकरणका सबै कागजात आफूहरूसँग भएको स्वीकारे । तर, यसो भनेर ट्रम्पले आफैलाई अप्ठ्यारोमा पारे ।

यसअघि उनी केही पनि छैन, सबै पर्फेक्ट छ भन्दै आएका थिए । उनका वकिलहरू पनि सिनेटमा त्यही लाइनमा  युक्रेन प्रकरणमा केही नै छैन भनेर वहस गरिरहेका थिए। तर, उनले आफैं केही छ भनेर स्वीकारेर डेमोक्रेट हाउस म्यानेजहरूलाई प्रमाण जुटाइ दिए ।

उता, राष्ट्रपतिले सामग्री आफूहरूसँग भएको बताएपछि यता ट्रम्पका वकिलहरूले बोली सच्चाएका छन् । उनीहरू भनिरहेका छन्, 'ती सामग्री देखाउन वा दिन राष्ट्रपति वाध्य हुने छैनन् । उनलाई ती नदिने विशेष अधिकार छ।' 

राष्ट्रपतिले जे भने पनि रिपब्लिकन सिनेटरहरू चट्टान अडान लिएर मतदानमार्फत उनको पक्षपोषण गरिरहेका छन्। जतिपटक मतदान गरे पनि पार्टी लाइनमै ५३ र ४७ को अंकगिणतमा भैरहेको मतदानले त्यही कुरा देखाउँछ ।

यसैबीच सिनेटमा दोस्रो दिनको सुनुवाई सकिएको छ। दिनभरि नै हाउस व्यवस्थापकहरूले महाअभियोग लगाउनुपर्ने मुद्दा स्थापित गर्न अनेक कोणबाट प्रयत्न गरे। उनीहरू आफ्नो मुद्दा स्थापित गर्न सफल भएजस्तो देखिएको छ। तर, यी तर्क सुन्न रिपब्लिकन सिनेटर तयार छन् जस्तो देखिएको छैन।

मंगलबार भएका केही विचारणीय संशोधनमा समेत रिपब्लिकन सिनेटरहरूले ध्यान दिएनन्। पार्टी लाइनका नाममा सिनेटमा साक्षी प्रमाण प्रस्तुत गर्नुपर्ने र त्यस्ता साक्षी प्रमाणको सान्दर्भिकता परख गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई दिनुपर्ने भन्ने प्रस्तावको समेत विपक्षमा मतदान गरेका थिए। 

सिनेटमा बिहिबार पनि सुनुवाइ जारी रहने छ। सुनुवाईका लागि हाउस म्यानेजरलाई २४ घण्टा र राष्ट्रपति ट्रम्पका वकिललाई २४ घण्टा समय तोकिएको छ। हाउस म्यानेजरले आफ्नो पूरै समय प्रयोग गरेर सुनुवाइ लम्याउन चाहेका छन् भने ट्रम्पका वकीलहरू त्यसो गर्न चाहिरहेका छैनन्। उनीहरू सुनुवाई छिट्टै सकेर प्रस्तावलाई मतदानमा लैजान चाहिरहेका छन् ।

महाअभियोगको विपक्षमा सिनेटको अंकगणित भएकाले उनीहरूले यसो गरिरहेको जस्तो देखिन्छ। 

 

 

प्रकाशित मिति: : 2020-01-23 23:56:32

प्रतिकृया दिनुहोस्