विकेटमा शतक बनाउन चुके सन्दीप

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा एक सय विकेट पुर्याउन नेपाली बलर सन्दीप लामिछानेलाई अर्को खेल कुर्नुपर्ने भएको छ। 

बिगबास क्रिकेट लिगमा एडिलेडविरुद्धको खेलमा विकेटविहीन भएपछि सन्दीपलाई विकेटमा शतक बनाउन चुकेका थिए। उनले एडिलेडविरुद्ध २४ रन खर्चिए तर विकेट लिन सकेनन्। 

सन्दीपले बुधबार भएको खेलमा दुई विकेट लिएको खण्डमा टी-२० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए। तर उनले बलिङ कसिलो गरे पनि विकेट हात पार्न सकेनन्। 

सन्दीपले पहिलो ओभरमा ५ रन दिए। टिमको दशौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए। चौथो बलमा पनि उनले एक रन दिए। पाँचौ र छैटौँ बल उनले डट राखे।

त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए। टिमको १२ औँ तथा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए। तेस्रो बलमा उनले चौका खान पुगे। उनलाई एलेक्स क्यारीले लेग साइडमा चौका प्रहार गरे।  त्यसपछि चौथो बलमा सन्दीपको बलमा एलेक्सले छक्का प्रहार गरे। पाँचौ बलमा एक रन दिएका उनले अन्तिम बल डट फाले।

सन्दीपले ब्यक्तिगत तेस्रो ओभरमा सात रन खर्चिए। टिमको १५ औँ ओभर लिएर आएका सन्दीपले पहिलो बल डट फालेपनि दोस्रो बलमा चौका खान पुगे। त्यसपछि तेस्रो बल डट फालेका उनले चौथो बलमा लेग बाइमा एक रन दिए। पाँचौ बलमा पनि एक रन खर्चिएका सन्दीपले अन्तिम बलमा एक रन दिए।

टी-२० मा सन्दीपले ७३ खेलमा ९८ विकेट पुर्‍याएका छन्। जसमा उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट आइसीसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका छन्।

सन्दीपले खेलेका फ्रेन्चाइज लिगमा ग्लोबल टी-२० क्यानडाको प्रर्दशन टी-२० मा मान्यता हुँदैन। सन्दीपले ग्लोबल टी-२० क्यानडामा दुइ संस्करणमा गरि कुल १३ विकेट लिएका थिए।

सन्दीपले सन् २०१८ मा एसिया टी-२० रिजन बी क्वालिफयारमा ६ खेलमा २४ विकेट लिएका थिए। उक्त प्रर्दशन पनि टी-२० आई र एस कुनैमा पनि जोडिदैन। सन्दीपले नेपाली राष्ट्रिय टोली र आधिकारिक फ्रेन्चाइज लिग गरि कुल ९८ विकेट पुर्याएका हुन्। 

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन्। क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टी-२० खेलमा ३२ विकेट लिएका छन्। तीव्र गतिका बलर करण केसीले २७ टी-२० खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन्। अन्य खेलाडी धेरै पछि रहेका छन्।

प्रकाशित मिति: : 2020-01-23 19:52:02

प्रतिकृया दिनुहोस्