अमेरिकी सिनेटमा 'महाअभियोग बहस' जारी : हरेक प्रस्तावमा ४७ गधा, ५३ हात्ती

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्धको महाअभियोग ट्रायल जारी छ। 

तल्लो सदनकी सभामुखका व्यवस्थापकहरू सिनेटमा एकपछि अर्को गरेर साक्षी र दस्तावेज मगाउने प्रस्ताव प्रस्तुत गरिरहेका छन्, ट्रम्पका वकीलहरू आवश्यक नभएको भनेर उनीहरूको माग खारेज गरिरहेका छन्। हरेक प्रस्तावमा एक एक घण्टा बहस हुन्छ, त्यसमाथि मतदान हुँदा मगाउने प्रस्ताव ५३ का विरूद्ध ४७ले अस्वीकृत हुन्छ। समाचार तयार पारिरहेको बेला यो क्रम चार चोटी दोहोरिसकेको छ।

एक सय सदस्यीय सिनेटमा यतिबेला राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका ५३ सिनेटर छन् भने डेमोक्रेटलाई समर्थन गर्ने दुई निर्दलीयसहित ४७ सिनेटर छन् । यी सिनेटरहरू चट्टानझै आआफ्नो पार्टी लाइनमा डटेर मतदान गरिरहेका छन्। 

आम मानिसले पार्टी लाइनमै मतदान हुने अपेक्षा गरे पनि केही राजनीतिक पण्डितहरू केही स्विङ राज्यका हात्ती सिनेटरहरू गधा सिनेटरको पक्षमा उभिने प्रक्षेपण गरिरहेका थिए। तर, अहिलेसम्म त्यस्तो नभएर ५३ हात्ती एक ढिक्का भएर राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। 

यसबाट सिनेटमा बहुमतका नेता मिच मक्कोनेल र राष्ट्रपति ट्रम्पलाई ठूलो राहत मिलेको छ। यसो हुँदा एकातिर साक्षी र दस्तावेज प्रस्तुत गर्नुपर्ने छैन भने अर्कोतिर प्रक्रिया नलम्बिदा ट्रायल छिटो टुङ्ग्याउने उनीहरूको चाहना साकार हुने छ।

सिनेटमा अल्पमतका नेता चक सुमर भने प्रस्तावहरू अस्वीकृत भए पनि प्रक्रिया लम्व्याउन छलफलमा लगिरहेका छन्। र, उनले सबै प्रस्तावहरू एकसाथ प्रस्तुत गर्न बहुमतका नेता मक्कोनेलले गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्। 

राष्ट्रपति ट्रम्पका वकिलहरू भने यो महाअभियोग तल्लो सदनमा प्रक्रियासम्मत नभएको भन्दै प्रस्तावको औचित्यमाथि नै प्रश्न उठाएका छन्। उनीहरूले ट्रायल लम्बेतान भएको भन्दै यसको अर्थ नभएको पनि बताएका छन्। यसको प्रतिवाद गर्दै व्यवस्थापकहरू भनिरहेका छन्, हामी अमेरिकी जनतालाई सुनाउन चाहन्छौं । ट्रम्पका वकीललाइ सजिलो बनाउन चाहदैनौं ।

सिनेटमा जारी ट्रायलको अध्यक्षता सर्वोच्च अदालतका प्रधानन्यायाधीश गरिरहेका छन्। सुरूमा दुई दिनका लागि तय गरिएको ट्रायल तीन दिन गरिने भएको छ । 

पहिलो दिनका सबै प्रस्ताव अंकगणितका आधारमा डेमोक्रेट्सका विपक्षमा गए पनि उनीहरूले हरेक मु्द्दा स्थापित गरिरहेको जस्तो देखिन्छ। अमेरिकी जनता उनीहरूका तर्कलाई राम्ररी नै सुनिरहेको जस्तो देखिन्छ ।

 

प्रकाशित मिति: : 2020-01-22 23:01:29

प्रतिकृया दिनुहोस्