फागुनबाट नेपालमा रेल चल्ने, भारतमा तयार भए रेलका दुई सेट

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ। भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ। 

यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए। फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ। केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो। कम्पनीमा हाल न्यून जनशक्ति छन्। ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ।कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो। पहिलोचरणमा एउटा सेट मात्र आउनेछ। रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए। दुई वटा सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ। उनले भने, 'सेट आएपछि नै सञ्चालनको तयारी हुनेछ।'

डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ। दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यसको क्षमता एक हजार २०० सम्म यात्रु बोक्नेछ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनको भनाइ थियो। यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ। गत महीनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो। क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो। भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन। रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ। १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ।

सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।

 

प्रकाशित मिति: : 2020-01-21 19:56:16

प्रतिकृया दिनुहोस्