आइसीसीले कागिसो रबाडामाथि एक टेस्ट प्रतिबन्ध लगायो 

सन् २०१८ को फेब्रुअरीमा रबाडाले भारतीय ब्याट्सम्यान शिखर धवन, मार्चमा अस्ट्रेलियाका स्टिभ स्मिथ र डेभिड वार्नरविरूद्ध लेभल–१ को नियम तोडेका थिए। 

एजेन्सी

प्रक्टाेरिया

दक्षिण अफ्रिकी बलर कागिसो रबाडा एक टेस्टका लागि प्रतिबन्धित भएका छन्। उनलाई इंग्ल्यान्डविरूद्ध घरेलु शृंखलाको चौथो टेस्ट खेल्न अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी)ले प्रतिबन्ध लगाएको छ। 

दुई देशबीच तेस्रो टेस्ट चालु रहेको बेला आइसीसीले रबाडामाथि प्रतिबन्ध लगाएको हो। 

उनलाई चौथो पल्ट आइसीसीको नियम तोडेको आरोपमा एक टेस्टमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। उनको पारिश्रमिकबाट १५ प्रतिशत रकम पनि कट्टा हुनेछ। 

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच पोर्ट एलिजाबेथमा भइरहेको तेस्रो टेस्टको पहिलो दिन रबाडाले आइसीसीको नियमको पहिलो लेभल तोडेको आरोप लागेको थियो। तीब्र बलर रबाडाले आइसीसीको आर्टिकल २.५ को नियम तोड्ने क्रममा जोए रुटलाई बोल्ड गरेपछि अभद्र व्यवहार देखाएका थिए। 

रबाडाले पनि आफ्नो गल्ती स्विकार गरिसकेका छन्। आइसीसी एलिट प्यानलका म्याच रेफ्री एन्डी पेक्रोफ्टले खेलाडीले गल्ती स्विकार गरिसकेपछि थप सजायको आवश्यकता नभएको बताए। पछिल्लो २४ महिनामा रबाडाको खातामा ४ डिम्यारिट अंक जोडिएको हो। 

सन् २०१८ को फेब्रुअरीमा रबाडाले भारतीय ब्याट्सम्यान शिखर धवन, मार्चमा अस्ट्रेलियाका स्टिभ स्मिथ र डेभिड वार्नरविरूद्ध लेभल–१ को नियम तोडेका थिए। 

चार वटा डिम्यारिट अंक पाएपछि एक टेस्टमा प्रतिबन्ध लगाउने नियम छ। 
 

प्रकाशित मिति: : 2020-01-18 04:39:34

प्रतिकृया दिनुहोस्