वीरगंजको अस्पतालमा बिरामीको भन्दा कुरुवाको भिड 

वीरगंजको नारायणी अस्पतालमा अहिले भर्ना भएका बिरामी भन्दा तिनका आफन्तजनले भरी भराउ भएको छ। अस्पताल भित्र अहिले थामि नसक्नु भिड र चारैतिर सहि नसक्नु दुर्गन्ध फैलिएको छ। प्रसुती गृहको नयाँ भवन ३ तल्ले छ, पहिलो तल्लामा गाईनो वार्ड, दाेस्रो तल्लामा सर्जिकल वार्ड तथा तेस्रो तल्लामा बाल वार्ड रहेको छ। जसमध्ये पहिलो तल्लामा भिड अधिक रहेको छ।

अस्पतालको बिरामी टहल्ने बरन्डा अहिले कुरुवाको सामानले भरिपूर्ण छ। कोहि खाना पकाएर खादैछन् त कोहि भुई मै ओछयान् लगाएर सुतिरहेका छन्। कुरुवाहरूको भीडभाड, होहल्ला र सङ्क्रमणको कारण पनि बिरामीहरुको हालत झन् बिग्रदै गइरहेको छ। अहिले चिसोको समयमा आफुसंगै स–साना बालबालिका लिएर आउदाँ कुरुवालाई  खान र बस्नको बिजोग छ।

गाउँघरमा राम्रो उपचार नपाएपछि बिशेष पर्साको ग्रामिण भेग तथा छिमेकी जिल्ला बारा रौतहट सर्लाहीलगायत सिमापारीका बिरामी नारायणी अस्पतालमा उपचारका लागी ध्याउने गर्छन्। अस्पतालमा आउने आर्थिक स्थिति कमजोर भएका कतिपयले होटेलमा खाना खान नपरोस् भनि भाडाका साथै ग्यास चुलो ल्याउने गर्छन्।

अस्पतालमा फोहोर फ्याल्नका लागि थरि थरिका डस्टबिन राखिएता पनि बिरामी र कुरुवाहरुले भने जथाभावी फोहोर फ्याली दिने गर्छन्। खानेपानीको धारो फोहोर र जुठोले भरिएको छ। अस्पतालका सरसफाई कर्मचारी भन्छन्, 'कुरुवाहरुले जथाभावी फोहोर फ्याकी दिन्छन्,सफाई गर्दागर्दै हामी आजित भएका छौ, सम्झाउदा उनीहरु टेर्दैनन्।'

मानिसको चाप बढेपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ। प्रशुति गृह तर्फको वार्डमा शौचालय र बिरामीका कोठासंगै भएकाले त्यहाँको दुर्गन्धले झन संक्रमण फैलाउने अवस्था छ। कुरुवा तथा बिरामीका लागी फरक शौचालय नहुदाँ दिनभरी सोहि कार्यमा खटिएर सफाई गर्नुपर्ने अवस्था देखिन्छ।

अस्पतालको नियम अनुसार एक बिरामीका साथमा १ जना मात्र कुरुवा बस्ने अनुमति भएता पनि बिरामीलाई भेट्न ५ देखी १० जना सम्म आफन्तजन आउने र २ देखि कम्तिमा ५ जनासम्म कुरुवा बस्ने गरेको प्रशासनले विभागले जनाएको छ। हाल नयाँ जिम्मेवारी सम्हालेका मेसु डा। मदन उपाध्यायले अनावश्यक मानिसको चाप कम गर्नका लागि सुरक्षा गार्ड बढाएका छन्।

गाईनो वार्डमा रहेकी चौकिदार अम्बिका शिवा भन्छिन्, 'बिरामीका कुरुवाले गर्दा हामी हैरान छौ। चेकजाच तथा सरसफाईको समयमा पनि भर्ना आफ्नो बिरामीलाई छोडेर कुरुवाहरु बाहिर जान चाहदैनन्।' 

एक भन्दा अधिक कुरुवालाई रोक्दारोक्दै हैरान भएको भन्दै उनले भनिन्, 'भित्र जान नपाएपछि उनीहरू हामी कुरुवा हौं भन्दै झगडा गर्न आउछन्, पार्टीको धम्की लगाएर जागीर खाइदिने डर पनि देखाउछन्'

बिरामीको बेडमै ४ देखी ५ जना कुरुवा आसपासमा झुम्मिरहेका हुन्छन्। वार्डमा खटिएकी नर्सले रोगीको साथमा नबसिदिनु भनेर सम्झाउदा पनि उल्टै झगडा गर्न आउन अवस्था छ।

अस्पताल हाम्रो साझा सम्पति भएकाले यसको सफाई प्रति ध्यान दिनु हाम्रो कर्तव्य हो। स्वास्थ्य शिक्षाको ज्ञान नभएकाले पनि विपन्न परिवारबाट आएका कुरुवाहरु अज्ञानताको कारण दुर्गन्ध फैलाईरहेका हुन्छन्।

उनीहरुलाई यी सम्पुर्ण समस्याले आफ्नै बिरामी झन रोगी हुदै जान्छ भन्ने ज्ञात भए सरसफाईमा ध्यान दिन्थे तथा बिरामीको साथमा आवश्यकता अनुसार कुरुवा बस्थे होला। यसतर्फ जनचेतनाको खाचो भएकाले स्वास्थ्य मन्त्रालयलगायत अस्पताल प्रशासनले सचेतना मुलक कार्यक्रम गरी यस सम्बन्धि ध्यान दिनु आवस्यक देखिन्छ।

दाताले दिएको रकम कर्मचारीको लापरवाहिका कारण धराशायी बन्दै
 
केही वर्षदेखि नारायणी अस्पतालमा बिरामीको सङ्ख्या घट्दो छ भने निजी क्लिनिकमा बढ्दो छ। नारायणी अस्पतालमा काम गर्ने चिकित्सकहरूको निजी क्लिनिक भएकाले अस्पतालमा आउने बिरामीलाई ‘यहाँ सिट छैन, फलानो डाक्टरकहाँ जानुस् भन्दै आफ्नो वा आफुले  कमिशन पाउने स्वास्थ्य संस्थामा बिरामीहरूलाई पठाउने गरिन्छ।

अस्पतालका कर्मचारीहरूको एकापसमा सहयोगी भावना वा निर्देशन पालकको रूपमा छैनन्। उनीहरू एकले अर्कोको खोइरो खन्नमा अधिकांश समय व्यतीत गर्छन्। एउटा समूहको कर्मचारीले सुधार्न खोज्यो भने अर्को समूहका कर्मचारीले त्यसलाई बिगार्न खोज्छन्। जसको प्रत्यक्ष मारमा बिरामी परेका हुन्छन्।

यस्तो प्रवृत्तिले अस्पतालको छवि धूमिल भइरहेको छ। @@@@अस्पतालको वर्तमान अध्यक्षका अनुसार पहिला पहिला चिकित्सकहरू ओपिडीमा शौचालय नभएकोले जाँच गर्न धेरैबेर बस्न सक्दैनौं भन्थे। हाल ओपिडीमा शौचालय बनाइएको छ। तर पनि चिकित्सकहरू आफ्नो ड्युटीमा समयसम्म बस्दैनन्।

अस्पतालमा अख्तियारदेखि केन्द्रबाट धेरैपटक टोली आएर ड्युटी नगरेको भनेर कर्मचारी तथा चिकित्सकलाई चेतावनी दिएको अस्पतालका एक कर्मचारीले बताएका छन्। नारायणी अस्पतालमा काम गर्ने प्रायः सबै चिकित्सकको निजी अस्पताल र क्लिनिकतर्फ बढ्दो लगावको कारण सरकारी अस्पताल त बिरामी सम्पर्कस्थल मात्र बनेको छ।

वीरगंजको नारायणी अस्पताल काठमाडौंपछि मोफसलको पहिलो सरकारी अस्पताल हो। चार कोठे ओपिडी सेवा भवनबाट शुरू भएको नारायणी अस्पताल विसं २०१८ सालमा ५० शैया स्थापना भएको हो। २०४२ सालमा उद्योग वाणिज्य सङ्घले चन्दा उठाएर प्रसूतिगृह बनाइदियो। तत्कालीन नगरप्रमुख माधवलाल श्रेष्ठ र काशीकान्त झाको प्रयासले नगरपालिकाबाट ३५ लाख रुपैया सहयोग लिई १५० शैया सेवा सञ्चालनमा आएको हो।

नेपाल सरकारको सहयोगले २ सय शैयासम्म पुगेको हो। नेपाल सरकारबाट हालसम्म भौतिक पूर्वाधारको लागि कहिल्यै सहयोग नपाएकोले भौतिक पूर्वाधारहरू वीरगंजका स्थानीय दाताहरूको सहयोगमा निर्माण हुदै आएको जानकारहरू बताउँछन्। दाताले आफ्नो रगत पसिनाले दान धर्म गरी अगाडि बढाएको नारायणी अस्पतालको स्थिति पछिल्लो समय दिन प्रतिदिन बिर्गदै गएको छ।

यसको मुख्य कारण राजनीति रहेको दातापरिवारका सदस्यहरू बताउछन्। यहाका चिकित्सकहरू पार्टीगत छन्। जुन पार्टीको बिरामी आयो, त्यसलाई प्राथमिकता दिने मानसिकता छ। सबैलाई समान व्यवहार गर्न खोज्ने चिकित्सकहरूलाई दलका नेताहरूले फोन गरेर धम्किसमेत दिने गर्छन्।

अस्पतालमा राजनीति बढी भएकोले यसको स्तर घट्दै गइरहेको छ। अस्पतालमा दरबन्दी रहेका कर्मचारीहरू त्यहाँ जानका लागि डराउने गर्छन्। उक्त कारण अस्पतालमा अहिले कर्मचारीको अभाव छ। नेपाल सरकारको मापदण्ड अनुसार दुई सय शैयाको अस्पतालमा सयजना नर्सको दरबन्दी हुनुपर्छ । नारायणीमा ३ सय शैया छ, जसमा ११ जना नर्स मात्र छन्। जसले गर्दा बिरामीहरूले पाउनुपर्ने सेवा राम्रोसंग पाउन सकेका छैनन् । 

प्रकाशित मिति: : 2020-01-15 21:53:11

प्रतिकृया दिनुहोस्