सभामुख र उपसभामुखमा दाबी गर्ने हाम्रो सामर्थ्य छैन, बहुमत हुनेले प्रस्ताव र समर्थन गरे दाबी गर्छौं: कर्ण

‘नेकपा विदेशी पार्टी होईन, सहकार्य बढ्दै जान्छ’

राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कर्णले भने, ‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे । उनले भने, ‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौं । सिट बाँडफाँडमात्रै हो।’

उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे । उनले भने, ‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ। चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ । नेकपा विदेशी पार्टी होईन । यो पनि यही देशको पार्टी हो । हामी अहिलेपनि साथमै छौं। हामीबीच सहकार्य बढ्दै जान्छ ।’

प्रकाशित मिति: : 2020-01-07 06:58:44

प्रतिकृया दिनुहोस्