१४ परियोजनाको लागि लगानीकर्ताको सुची तयार

लगानी बोर्डले गत बर्ष लगानी सम्मेलनमा प्रस्तुत गरिएका ५० वटा सार्वजनि क परियोजनामध्ये १४ परियोजनाको पूर्वमूल्यांकन सम्पन्न गरी लगानीकर्ताको सुची तयार गरेको छ। 

लगानी बोर्डले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारिएको जनाएको हो।  ती मध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भएको बोर्डले जनाएको छ। 

 बोर्डका अनुसार १० अर्ब ५४ करोड रूपैयाँको गाडी एसेम्बल्डका लागि लगानी प्रतिवद्धता गरेको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। बोर्डले प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको जनाएको छ।

त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रूपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ। पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले एकै ठाउँबाट लगानीकर्तालाई सबै सेवाहरु प्रदान गर्ने उद्देश्यले बोर्डको कार्यालयमै एकल विन्दु सेवा केन्द्र स्थापना गरी एकीकृत प्रणालीबाट सेवा दिइरहेको जानकारी दिए।

उनले चाँडै नै सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावलीलगायतका कार्यविधि तथा निर्देशिकाले बोर्डको अरु प्राविधिक र प्रशासनिक प्रक्रिया थप सरल हुने दावी गरे। बोर्डका अनुसार प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त प्रस्तावहरूमध्ये १० वटा परियोजनाहरू कार्यान्वयनको चरणमा छन्।

प्रकाशित मिति: : 2020-01-04 05:31:03

प्रतिकृया दिनुहोस्