चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन

सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ।

प्रदेश नम्बर ३ प्रहरी प्रधान कार्यालयले १३ दिनअघि एसपी मल्ललाई चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो। तर, मल्लले जिल्ला नछाडेपछि प्रदेश कार्यालयले अल्टिमेटमसहित पत्राचार गरेका थिए।

मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन्।

प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन भनेको छ। यो पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ।

यसअघि मल्ल डिएसपी हुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षा गार्ड थिए। पछि उनी काठमाडौं महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्वमा पुगे। एसपीमा बढुवा भएलगत्तै उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए।

चितवन प्रचण्डको गृह जिल्ला पनि हो । 

उनी चितवन बसेको आठ महिना पूरा भएको छ। प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री पुस ४ गते निकालेको सरुवा यथावत रहेको बताउँछन्। उनले भने,‘सरुवा हेरफेर भएको छैन। अर्को आदेश नभएससम्म त्यही आधार मानेर जिल्ला छोड्नुपर्छ। कसैको हेरफेर भएको छैन। यसलाई नै आधार मानेर उनीहरुले कार्यरत भएको ठाउँ छोड्नु पर्छ।’ 

उनले कतिपय विशेष परिस्थितिबाहेक सकेसम्म छिटो संगठनले तोकेको स्थानमा जाँदा राम्रो हुने बताए।  साधारणतया सरुवा निकालेको २४ घण्टाभित्र ठाउँ छाड्ने र कतिपय अवस्थामा दुईजनाको सहमतिमा केही दिन तलमाथि हुने भए पनि मल्ल सल्लाहबेगर नै बसेका छन्।
 


 

प्रकाशित मिति: : 2020-01-03 01:19:43

प्रतिकृया दिनुहोस्