वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भयाे: गजुरेल

बिएल संवाददाता

काठामाडाैं

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा अतिक्रमणबारे उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन आइतबार सिंहदरबार जानेक्रममा आफूहरुलाई पक्राउ गरिएकामा आपत्ति जनाए।  

रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनेर समय लिएर नै आफूहरु त्यसतर्फ गएको उनको भनाई छ ।  प्रहरीले ‘माथिको आदेश’ भन्दै आफूहरुमाथि धरपकड गरेको बताउँदै उहाले अन्धाधुन्द लाठीजार्च गर्दा आफूहरुतर्फका ८ जनाभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको दाबी गरे। उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने जिकिर गरे ।

उनले नेपाललाई विदेशीको रणभूमि हुनबाट जोगाउनुपर्नेमा जोड दिए। सबै नेपाली एकजुट भएर लागे कालापानीबाट भारतीय सेना हटाउन सकिने उनले उल्लेख गरे । गजुरेलसहित क्रान्तिकारी माओवादीका केही नेता–कार्यकर्तालाई प्रहरीले आइतबार सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो । सोमबार बिहान उनीहरुलाई छाडिएको हो ।

प्रकाशित मिति: : 2019-12-31 06:34:54

प्रतिकृया दिनुहोस्