क्रस-बोर्डर सञ्चारकर्मीकाे अन्तक्रिया: नेपालको नक्सामा भारतले कुनै परिवर्तन गरेकाे छैन

भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा आइतबार क्रस-बोर्डर सञ्चारकर्मी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

पछिल्लो समय भारतले नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरामा सीमा मिचेको भन्दै दुई देशको मिडियामा आइरहेको समाचारको विषयमा करिब एक दशकपछि सञ्चारकर्मीहरुले अन्तक्रिया कार्यक्रम संचालन गरेका हुन्। 

कार्यक्रममा भारतका रक्सौल,मधुवनी,मुजफरपुर,पटनालगायत ठाउँका करिब एक दर्जन भारतीय पत्रकारहरुको सहभागिता थियो भने पर्सा,रौतहत र सर्लाहीका करिब डेढ दर्जन पत्रकारहरुको सहभागिता थियो।

कार्यक्रममा प्रभात खबरका व्युरो चिफ ललित झाले नेपालको दुई तिहाई व्यापार भारतसँगै हुने भएकोले दुवै देशको आर्थिक सम्बन्धमा सकारात्मक असर परेको बताए।

'नेपालको जलविद्धुत उत्पादनदेखी पेट्रोलियम पाइपलाइनको निर्माण, रेल मार्गको बिस्तार लगायत भारतले राष्ट्रिय निर्माणका आयोजनामा भरपुर सहयोग गिररहेकाे छ।' उनले भने ' पछिल्लो भुकम्पमा भारतले निकै गम्भीर भएर सहयोग गरेकाे थियाे।' 

अहिलेपनि सडक निर्माण  तथा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि स्कूल बस तथा एम्बुलेन्स प्रदान गरिरहेको उनले बताए। उनले भारतले असल छिमेकीको रुपमा आफुलाई उभ्याएको पनि जिकिर गरे। 

उनले नेपाल र भारतको सम्बन्धमा अहिले चर्चाको बिषय बनेको कालापानि तथा लिपुलेक लगायतका नेपालको नक्सामा कुनै परिवर्तन नभएको र यी सम्पुर्ण कुरा गलत भएको दाबी गरे।

नेपालबाट प्रकाशित हिन्दी म्याग्जिन हिमालीनीकी बरिष्ठ सम्पादक डा स्वेता दिप्तिले नेपाल भारतको सम्बन्ध रोटिबेटिको मात्र नभई रोजि रोटिको भएको बताईन्।  

दुई देशमा कुनै बिषयको तनाव उत्पन्न हुदाँ त्यसको मुख्य समाधानकर्ता राजनीतिक दल नै भएकाले नेपाल सरकारले यस्तो बेला जनताको मागलाई सहि तरीकाले समाधान गर्नेतर्फ ध्यान दिनुपर्ने बताईन्।  

'सरकारले ल्याउने निति जनता समक्ष सही तरीकाले प्रस्तुत नगर्दा नेपाल भारतको सम्बन्धमा चिसोपन बढ्दै गएको छ।' उनले भनिन् 'सरकारले कुनै पनि मुद्दालाई सहि समयमा समाधान गर्नुपर्छ।' 

फरक प्रसङ्गमा उनले आफु भारतीय चेली भएपनी नेपालमा विवाह भएपछि नेपाली नागरिकताको सम्बन्धमा भारतीय छोरीलाई विभेदपुर्ण रुपमा दिदाँ दुई देशको आपसी सम्बन्धमा समेत नराम्रो असर परिरहेको बताईन्। 

भारतीय महावणिज्य दूतावासका डा कोट्रास्वामी एमले सीमाञ्चलका पत्रकारहरुमा खोजी पत्रकारिताको अवधारणामा पत्रकारिता गर्नु जरुरी रहेको बताए। 'कुनै समाचारमा पत्रकारले कलम चलाउन संयमित भएर सत्य जे छ त्यो लेख्नु पर्छ,' उनले भने।

कार्यक्रममा आजतकका सम्पादक सुजित कुमार झाले बिना प्रमाण र तथ्यको समाचार बनाउनु भनेको आफ्नै खुटमा बन्चरो हान्नु भएको बताए। उनले नेपाल भारतको केही मिडियाले हतारमा समाचार पस्किने क्रममा केही कमीकमजोरी गर्ने गरेको बताए।
 

प्रकाशित मिति: : 2019-12-31 05:37:11

प्रतिकृया दिनुहोस्