झामुमोका नेता हेमन्त सोरेन झारखण्ड राज्यको मुख्यमन्त्रीमा नियुक्त

झारखण्ड मुक्ति मोर्चा (झामुमो)का नेता हेमन्त सोरेन झारखण्ड राज्यको मुख्यमन्त्री बनेका छन्।  

गत हप्ता सम्पन्न निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेस–झामुमो–राष्ट्रिय जनता दल (राजद) गठबन्धनले बहुमत ल्याएपछि सोरेन मुख्यमन्त्री बनेका हुन। ८१ सदस्यीय झारखण्ड विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जितेको थियो। जसमध्ये झामुमोको ३०, कांग्रेसको १६ र राजदको एक सीट छ।अघिल्लो निर्वाचनमा झारखण्डको सबैभन्दा ठूलो दल बनेर पाँच वर्ष सरकार चलाएको भारतीय जनता पार्टी (भाजपा) यसपटक २५ सिटमा खुम्चिएको छ।

उनलाई राज्यपाल द्रौपदी मुर्मुले आइतबार पद तथा गोपनियताको सपथ गराएकी हुन्।

झारखण्डको ११ औं मुख्यमन्त्रीको सपथ लिएका ४४ वर्षीय हेमन्त सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए। त्यतिबेला पनि उनी कांग्रेस र राजदकै समर्थनमा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री भएका बेलामा हेमन्तले नोकरीमा महिलाका लागि ५० प्रतिशत र पिछडिएका जातिका लागि २७ प्रतिशत आरक्षण लागु गरेका थिए। उनको यो कामले झामुमोलाई चुनाव जिताउन महत्वपूर्ण भुमिका खेलेको संचार माध्यमहरुले बताएका छन्। 

सपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी, झामुमोका अध्यक्ष शिवु सोरेन, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, झारखण्डका पूर्व मुख्यमन्त्री रघुबर दास, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम येचुरी लगायत सहभागी थिए।

प्रकाशित मिति: : 2019-12-30 05:28:34

प्रतिकृया दिनुहोस्