बालविवाहविरूद्ध गाउँ गाउँमा जनचेतना फैलाउदै जोडी कार्यकर्ता
‘जतिछिटो विवाह गर्यो, त्यतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्।’
यस्तो भनाई डोल्पाका अधिकांश गाउँमा अझै पनि कायमै छ। समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा जनचेतना फैलाउँदै बालविवाहविरूद्ध आवाज उठाउँदै हिँडेका युवा अभियान्ताले यस्तो भनाई अधिकांश स्थानमा सुनेका छन्।
ठूलीभेरी नगरपालिका ७ जुफालकी लक्ष्मी बिक बालविवाह विरूद्ध समाजमा चेतना फैलाउन अभियान्ताका रूपमा अग्रसर छन्।
बालविवाह विरूद्ध जनचेतनामुलक सन्देश लेखिएका पर्चापम्लेट बोकेर गाउँबस्ती र टोलमा टाँस्दै हिँड्नु र बालविवाहले पार्ने समस्याका बारेमा जानेसम्मको कानूनी र अनुभवका बारेमा कक्षा दिनु यत्तिखेर उनको दिनचर्या बनेको छ।
लक्ष्मीको यो अभियानलाई उनकै श्रीमान इन्द्र विटालुले साथ दिँदै आएका छन्। गाउँघरमा हुने बालविवाह विरूद्ध मात्र नभई महिला स्वास्थ्य प्रजननन् अवस्था, सुत्केरी महिलाप्रति गरिने धामीझाँक्रीको ब्यवहार, आफ्नो नाममा जग्गाधनी पुर्जा भएका महिलाहरुको लागत संकलन, छुइ बार्नेको संख्यालगायत जातीय विभेदका बारेमा निगरानी राख्नुका साथै गलत प्रवृत्तिका बारेमा बहश पैरवीसमेत लक्ष्मी दम्पत्तिले गर्दै आएका छन्।
लामो समयदेखि यक्ष क्षेत्रमा लागेका विक दम्पत्तिको प्रयासले पछिल्लो समय सार्थकता पाउँदै गएको छ। ठूलीभेरी नगरपालिका ७ जुफालकी १२ वर्षिया एरिना विक उनीहरूकै अभियानबाट बालविवाह हुनबाट बचिन्।
आर्दश माद्यमिक विद्यालय जुफालमा कक्षा ७ मा अध्ययनरत एरिनालाई कहिल्यै नदेखेका निराजन र भरूने विक नामका युवकले विवाहका लागि जवरजस्ती फकाउन थाल्दा उनले अस्वीकार गरिन्।
‘मेरो त झण्डै जीवन नै सकिएको, जोडी कार्यकर्ताले बालविवाहबारे कक्षा नदिएको भए मेरो के हालत हुन्थ्यो त्यो मलाई पनि थाहा छैन’, कक्षा ९ मा पढ्दै गरेकी एरिनाले भनिन्।
लक्ष्मी दम्पत्तिले बालविवाह विरूद्ध चालेको अभियानकै कारण आफू नारकीय जीवन जीउनबाट बचेको एरिनाले बताइन्। ‘हाम्रोमा त सानैमा विवाह गर्छन् र छिटै म जस्तै बालिका स्वर्गमा पुग्छन्। कोही बच्चा जन्माउन नसकेर त कोही अत्याधिक रक्तस्राव भएर मर्ने गरेका छन्’, एरिनाले भावुक बन्दै भनिन्, ‘सर हाम्रो समाजमा यो अवस्थाको अन्त्य कहिले होला?’
बाल विवाह एक सामाजिक अपराध हो। जसलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १७३ ले दण्डनीय अपराधको रुपमा लिपिबद्द गरेको छ। विवाहा गर्ने कानूनी उमेर २० वर्ष तोक्नुका साथै बालविवाह गर्ने गराउने ब्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रूपैया जरीवानाको ब्यवस्था गरि त्यस्तो विवाहालाई स्वतः बदर हुने ब्यवस्था समेत कानुनले गरेको छ।
तर, हिमाली जिल्ला डोल्पामा बालविवाहको अवस्था भयावह छ। कर्णाली जनजीविका कार्यक्रम (केड) को आर्थिक सहयोगमा महिला सशक्तिकरण केन्द्र डोल्पाले सन् २०१७ अगस्टदेखि त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र काइके गाउँपालिकामा बालविवाह स्वास्थ्य प्रजनन् कार्यक्रम अन्तरगत जोडी समूह कार्यकर्तामार्फत अन्य कार्यक्रमसँगै बालविवाह विरुद्धको अभियानलाई तीव्रता दिएको छ।
महिला शसक्तिकरण केन्द्रले आफ्ना जोडी कार्यकर्तामार्फत कार्यक्रम लागू भएका तीन स्थानीय तहमा गरेको घरधुरी सर्वेक्षणका आधारमा डोल्पामा ८५ प्रतिशतको हाराहारीमा बालविवाह हुने गरेको बताएको छ।
महिला सशक्तिकरण केन्द्र डोल्पाकी कार्यक्रम संयोजक तथा अभियन्ता सम्झना विकले अशिक्षा, चेतनाको कमि, मानव अधिकार कानुनको अभाव र परम्परागत सोचाईका कारण डोल्पामा बालविवाह र जातीय विभेदको अवस्था भयावह रहेको बताइन्।
बालविवाहले बालबालिकाको शारीरिक, मानसिक, मनोबैज्ञानिक तथा प्रजनन् स्वास्थ्यमा प्रत्यक्ष असर समेत पुर्याउने बताउँदै सभ्य अनुशासित र समान समाज निर्माणको लागि आफ्नो संस्थाले विभिन्न स्थानीय तहहरुमा जोडी कार्यकर्ता बनाएर निगरानी तथा तथ्याङ्क संकलन गरिरहेको संयोजक विकको भनाई छ।
सहयोगी संस्था कर्णाली जनजीविका कार्यक्रम केडका लिला टमटाले डोल्पामा बालविवाहाकै कारण सुत्केरी हुन नसकेर र अत्याधिक रक्तास्राव भएर विवाहित बालिकाले ज्यान गुमाउनु परेको बताए।
जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार बालविवाहकै कारण सुत्केरी हुन नसकेर र अत्याधिक रक्तस्राव भएर पछिल्लो समय ३ जना विवाहित वालिकाले मृत्युवरण गर्नु परेको छ।
यसका साथै आफ्नो संस्थाले स्थानीय बाली प्रवर्धन गर्ने गरि महिला दलित कृषि कार्यक्रम पाठेघर खस्ने महिलाको पहिचान र समस्या समाधानमा जोडलगायत जीवनउपयोगी सिपमुलुक तालिम समेत संचालन गर्दै आइरहेको टमटाले बताए।
यस्तै त्रिपुरासुन्दरी नगरपालिका ३, जीउ गाउँका जोडी कार्यकर्ता एलिना विक र राजेन्द्र विकले आफूहरूले ६ जना उमेर नपुगेका बालिकाको विवाह रोकेको दाबी गरेका छन्।
उनीहरूले गाउँमा बालविवाह भएको घरमा जन्त पनि नजाने भोजभतेरमा सहभागि पनि नहुने र पहिले गैरकानुनी अपराध नगर्न सम्झाउने नमाने प्रहरीलाई खवर गर्ने समेत गर्ने गरेका छन्।
‘हामीले त बालविवाह गर्ने घरलाई बहिष्कार गर्छौ, पानी बाराबारसमेत हुने गरेपछि पछिल्लो समय बालविवाहमा थोरै भए पनि कमि हुन थालेको छ’, एलिना विकले भनिन्।
बालविवाह जातीय विभेद र महिला प्रजनन् स्वास्थ्य कार्यक्रमका लागि जोडी कार्यकर्ताले संकलन गरेका तथ्याङ्क र समाधानका लागि अपनाउनुपर्ने विषयका सम्बन्धमा सहयोगी संस्थाले समय समयमा नागरिक समाज, संचारकर्मी र सामाजिक अभियान्ताको सहभागितामा छलफल तथा अनुगमन गरि कार्यक्रमलाई प्रभावकारी बनाउँने गरेको छ।
उमेर नपुगेर गरिने विवाहाले बालबालिकामा विभिन्न प्रकारका रोग तथा कमजोरी देखिनुका साथै जन्मने बच्चाहरु अपाङ्ग हुनुका साथै आमा र बच्चा दुवैको ज्यान समेत जान सक्ने भएकाले बालविवाह रोक्न थालिएको प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्ने महिला नेतृ उर्मिला विश्वकर्माले बताइन्।