इक हुक सी दिलमे उठती है इक दर्द जिगर मे होता है
मै रातको उठकर रोता हूँ जब सारा आलम सोता है
–जिया उद्दीन जिया
विस्तार विस्तारै अँध्यारो नजिकिन थालिसकेको थियो। चिसो हावाले स्पर्ष गरेकै थियो बेलाबखत। गमगढी बजारमा डुल्दै गर्दा पुग्छु बिर्ख बुढाको होटेलमा। जहाँ जुम्ला गुठीज्यूलादेखि मगाएको जडिबुटी चिया पाइन्छ। मैले कालो चिया पाइन्छ भनी सोध्दा उनको उत्तर थियो –'जडिबुटी चिया छ। यही खाउपन। राम्मो हुन्छ।'
म पनि तयार भए जडिबुटी चिया खान। थर्मसबाट खन्याए उनले कपमा चिया। गजब्बको मिठो सुगन्ध आइरहेको थियो चियामा। घोडोमोचो, गुनदाइनो, रामतुलसी, बाइजडी र लौठाखालो गरी पाँच ओटा जडिबुटि मध्ये कसैका पात अनि कसैका जरालाई कुटेर बनाइएको धुलो उमालेर बनाउँछन् उनी जडिबुटी चिया।
बिर्ख बुढासँग डेउडाका प्रसङ्ग के निकालेको थिए उनले भनिहाले, 'तमी कल्छे नेपाली कन भेटि हाल। यति भनेपछि उनले टाढैबाट देखाएको बाटोमा भेटिने मान्छेहरुलाई सोध्दै सोध्दै पुग्छु म कल्छे नेपालीको डेरामा।'
छिडिको अँध्यारो कोठा। ससाना दुई नानीसँगै बसिरहेका थिए कल्छेका बुढाबुढी। एउटा चुरोटको खिल्ली आलोपालो तान्दै उडाइरहेका थिए धुँवाको सर्को। ती दुइटी नानी मध्ये एउटी कल्छेकी छोरी थिइन् अर्की उनकी सालीकी छोरी। दुबै खेलिरहेका थिए। आधि जीउ नाङ्गै थियो।
आफ्नो परिचय दिएर अघि बढाएँ कुराकानीको मेसो। कल्छेको जिन्दगी भन्नु नै डेउडा गीतको पर्यायवाची जस्तै बनेको छ। कसैले डेउडा गीतको कुरा गर्दा सुरु गरिहाल्छन् उनी भाका हालेर गाउन।
कहिल्यै निराशा कतै वेदना कहिल्यै विगतको सम्झना। छाइदिन्छन् स्मृतिपटलमा समयका यस्तै खाले छालहरूले। उर्लिदिन्छन् अनेकौं खाले लहरहरू। जब मिसिन्छन् यी सबै भावनारुपी जिन्दगीको तलाउमा तब सिर्जना गर्छन उनले नयाँ नयाँ भाका र गीतहरू।
ठाडी भाका सुसेल्दा निस्किने स्वर पनि राम्रै सुनिन्छ उनको। जीवनको दुखेसो त पोख्छन् उनी पनि। तर, उनको दुखेसो गीतका माध्यमबाट झल्किन्छ। जिया उद्दीन जियाले भनेझै उठ्छ भक्कानो उनको छातिमा पनि। भित्रभित्रै चस्किन्छ जिन्दगी। सारा जगत सुतिसके पछि रून्छन् मध्यरातमा उनी। साक्षी हुन्छन् आकाशका तिनै जून ताराहरू। तर, देख्न सक्दैनन् उनी तिनलाई पनि। किनकि, उनी दृष्टिविहिन् हुन्। मध्यरातको उनको त्यो रूवाइ हुँदैन अरूको जस्तो। उनको त्यो रुवाइ केवल सिर्जनाको रुवाइ हो। जिन्दगीको सारा दुःख दर्द मिसाएर तयार पार्छन् उनी डेउडा गीतका पंक्तिहरु।
कि राता गुँराउसी फूल कि राता रगत
सम्झे लै झल्झली लाग्दो बेला र बखत
अरूकोझैं सम्झनामा आइदिन्छ विगत उनको पनि। बनाइदिन्छ बेला बखतको यादले एकान्तप्रेमी। मन लाग्छ समयका केस्रा केलाउन। डाको छोडेर विगतको याद गर्न। तर, डर पनि लाग्छ कतै कल्छे बहुलायो भनिदेलान् भन्ने। सिर्कोट खतेडाका कल्छेलाई नौ वर्ष भयो कोठा भाडामा लिएर मुगुको सदरमुकाम गमगढीमा बस्न थालेको।
१५ वर्ष कान्छी उनकी श्रीमती उनीभन्दा बुढी जस्ती देखिन्थिन्। कर्णालीका महिलाहरू वैसमै बुढी भैसकेकी हुन्छिन्। अरूबेला त त्यस्तै हो सुत्केरीमा समेत पोषिलो खानेकुरा पाइँदैन। कामकै चटारोमा गुज्रिन्छन् जिन्दगीका दिनरातहरु। त्यसैले त्यहाँका महिलाहरुको उमेर अनुमान गर्न त्यति सजिलो छैन।
दलितहरूको कथा उस्तै छ। छुवाछुतको कर्मकाण्ड उस्तै छ। सिमी, फापर, जौ, आलु मात्रै त फल्छ त्यहाँ। त्यो पनि चहिए जति त कहाँ फल्छ र। विगतमा हातमा पैसा हुँदा नि किन्न पाइदैनथ्यो गहुँ चामल, पछिल्ला दिनमा केही सहज भएको छ। खान लाउनका दुःख एकातिर। बिमारी हुँदा औषधिमुलोको अभाव अर्कोतिर। हिउँदमा हिउँले सेताम्मे हुन्छ आँगन समेत। जाडोले कपाउँछ बेस्सरी। त्यसैले त कल्छे भन्छन् – दुःख र अभावका त के कुडा गद्दु र गोसाई।
कल्छेका तीन जना दाजुभाइ मध्ये उनी माइला हुन्। कान्छो भाइ गोरा गाउँमै अरूको काम गरेर बस्तुभाउ पालेर गुजरा चलाइरहेका छन्। जेठा हैथवीरे नेपाली भारतमा चौकीदारी गरेर कमाएको दुई चार पैसाले घरपरिवार हेर्ने गर्थे। ती दाइ पढेलेखेका पनि थिए। जसले एस एल सी पास गरेका थिए।
दाइको प्रसङ्ग उठ्ने बित्तिकै निन्याउरो मुहार बनाएर आकाशतिर चुरोटको धुँवा उडाउँदै सुनाए – तँलाई म पालुला। तँ चिन्ता नगर भन्थे दाइले। २०६० सालमा भारतबाट घर आएका थिए। केही दिनमा उनी बेपत्ता भए। माओवादीले मार्यो या सेनाले। केही थाहा भएन। उसको न लाश पाइयो न त सास नै। ऊ बेपत्ता भएपछि भाउजु पनि पोइल गइन्। यतिका वर्ष वितिसके केही खवर पाउन सकिएन। ऊ फर्केर पन आएन।’
त्यसपछिका दिनहरु कल्छेका लागि साच्चै बादल लागेका दिन बने। जसको आश गरेका थिए। जसले आश्वासन दिएको थियो ऊ नै बेपत्ता भएपछि आँखाका बन्द ढकनीबाट बाटो खोज्दै सुटुसुटु निस्किन थाले आँसुका थोपाहरु।
अचेल सामान्य खालका दुःख कष्टलाई बिडि चुरोटको धुँवा उडाएझै उडाइदिन्छन् सहजै। जन्मेदेखि पिछा गरिरहेको दुःख र अभावलाई पचाइसके उनले। आखिर विलाप गरेर पो के नै हुन्छ र। उनी भन्छन् – जन्मेको दुई वर्ष पछि दृष्टि गुम्यो। तीन वर्षको उमेरमा बुवा बिते। १६ वर्ष अघि दाइ बेपत्ता भयो। चार वर्ष अघि आमा बितिन्। दुइटा बच्चा जन्मे ती पनि मरे। आमाले गिट्टी कुटेर, भारी बोकेर, बाउरे गरेर गुजरा चलाएकी हुन्। मैले गीत बनाए, गीत गाएँ, गीतबाटै पोखेँ यै मनको बह।’ यति भन्दै उनी गाउन थाले गीतः
बण्डाल भैसीका खर्क हिलैनका जल (हिलोमा मिसिएको पानी )
सबै कन घाम लाग्याको मकन बादल
हो उनको लागि सधैं बादल लागेको हुन्छ। जसरी बादलले लुकाइदिन्छ डाँडाकाँडा। बनाइदिन्छ केही नदेखिने त्यसै गरी बादलरूपी दैवले छिनिदियो उनको दृष्टि। निष्ठुर दैवले ओढाइदियो अभावको पछ्यौरी, दुःखको च्यादर। तर, पनि कहिल्यै हिम्मत हारेनन् उनले। कसैसँग गुनासो गरेनन्। दुःख पोखेनन् कसैसँग निरिह बनेर। मन बुझाउन, आफूलाई सन्तुष्टि दिन रचे गीतका पंक्तिहरु। सुनाए ती पंक्तिहरु श्रीमतीलाई। बिस्तारै आँट गरे सवालजवाफमा उत्रिन। १८ वर्षको उमेरदेखि डेउडा खेलमा सवालजवाफ गर्न सुरु गरेका उनी पछिल्ला दिनमा गुजरा चलाइरहेका छन् डेउडा गीत गाएर नै।
एनजीओ, आइएनजीओ, एफएम रेडियोलगाएत बिभिन्न सरकारी तथा निजी संघसंस्थाहरुका विज्ञापनका लागि गीत सिर्जना गर्छन् आफ्नै स्वर भर्छन् र तयार हुन्छन् जिङ्गलहरु। सामुदायिक वन जोगाउन होस् वा जलवायु परिवर्तन सम्बन्धी होस्, अन्नबालीको महत्व होस् वा अखाद्य वस्तुको प्रयोग नगर्न होस् हरेक प्रकारका थुप्रै सन्देशमुलक गीतहरु उनको स्वरमा बजिरहन्छन् जिल्लाका संचार माध्यमहरुबाट।
ठूल्ठूला नाम चलेका गीताङ्गेहरुसँग पनि सवालजवाफमा उत्रिन्छन् उनी। कैयौपल्ट त पत्तै पाएनन् सवालजवाफमै दिनरात बितेको। सुन्दर बिम्बहरु खेलाउछन् उनी गीतका पंक्तिभित्र। साहित्य जगतका मूर्धन्य स्रष्टाहरुले झैं उपमा अलङ्कार, बिम्ब प्रतीकको सुन्दर प्रयोग गरेका छन् आफ्ना रचनामा।
उनी लेख्न पढ्न जान्दैनन्। उनी सम्झिन सक्दैनन् आफूले सिर्जना गरेका सबै सिर्जनाहरु। सम्झनामा आए जति सुनाउँछन्। यही क्रममा सुनाए उनले अर्को गीतः
कि त राम्रा रारा ताल कि त राम्रा मन
मकन उज्यालो छैन धेक पनिउका जून
उनले सुनेका छन् कैयौका मुखारविन्दुबाट रारा तालको सौन्दर्यको वर्णन। राराको किनारमा पुगेर गाएका पनि छन् गीत। तर, पनि आफूले देख्न नसकेको त्यहीँ रारा ताललाई मनभित्र सजाउँछन्। मनको सुन्दर बिम्ब बनाउँछन्। पूर्णिमाकै रातको कल्पना गर्छन् र तेस्र्याउछन् प्रश्न – हे पूर्णिमाको जून तिमी त्यति चमकदार भएर देखिँदा। धर्तीमा चारैतिर आफ्नो चहकिलो आभा छर्दा पनि मेरो लागि त्यो चारैतिर अँध्यारो नै छ। मेरालागि तिम्रो त्यो उज्यालोको कुनै अर्थ छैन। नपत्याए तिमी आफैं हेर्न सक्छ्यौ।
महाकवि कालीदाशको कृति रघुवंशमा राजा अजले इन्दुमतिलाई सम्बोधन गरेर विरह पोखेझैं विरह पोख्छन् कल्छे नेपाली पनि कहिल्यै समय सापेक्ष विभिन्न पात्रलाई सम्बोधन गरेर त कहिल्यै त्यही प्रकृतिलाई सम्बोधन गरेर। सुन्दर र सुललित शब्दहरुको चयन गर्छन् र डुबाउँछन् हृदयस्पर्षी भावमा कैयौ मनहरूलाई।
खाना नखाई पानी न पिई भाउ क्यान डुलि है
पहिरन नपाइने भया फूल क्यान फुलि है
लायाको चौवन्दी चोलो ढल्काएको फुली
जिन्दगी विताउला भनी यति चाडै भुली
उनकी श्रीमतीले बेलाबखत सुटुक्क चुरोट तानेको देख्दा मैले छुट्टिने बेला भनेको हुँ– दुई चार सय पैसा दिउँला ठानेको थिएँ। तमी बुढाबुढी त चुरोट खादा रैछौ। चुरोट खान के पैसा दिउँ त। चुरोट खानु त राम्रो हैन त्यसैमा भाउजु बच्चा पाउने रैछन्।’ दुबै जना मौन बने। बुझ्दै जादा साँझ पकाउनलाई उनीहरुसँग चामल रहेनछ। यत्तिकैमा कल्छेले गाउन सुरु गरिहाले गीतका पंक्तिः
बर्खा लाइग्यो वन पलाइग्यो डोरी बाटेको नाइ
मेरो लागि यो संसारमा बादल फाटेको नाइ
अन्ततः दिन खोजेको पैसामा एक दुई सय थपेरै दिन बाध्य बनायो मलाई उनका ती गीतका पंक्तिले। हृदय पगाल्ने शक्ति थियो उनका सिर्जनामा। म छुट्टिएर निकै पर पुगिसक्दासम्म पनि सुनिएकै थिए उनले गाइरहेका गीतका पंक्तिः
नेपालका अपाङ्ग कन राज्य सेल(शितल) गर्दैन
जुग कैका जमाना कैका बिकाल मर्दैन।