खेल पदाधिकारीकाे लापरवाहीले १३ ‌औं सागमा ज्यान गुमाएकाे ११ वर्षीय बालककाे कथा (भिडियो सहित)

आमा यतिबेला अचेत अवस्थामा। बाबु न्यायका लागि गुहार लगाइरहेकाे। खेल पदाधिकारी माैन। घटना लुकाउने प्रयास।

बिमला गुप्ता

जनकपुरधाम

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती प्रतियोगिता भइरहँदा नेपाली खेलाडीको सफलताले सारा नेपाली झुमिरहेका थिए। तर, राष्ट्रिय खेलकुद परिषद्को चरम लापरवाहीका कारण जनकपुरकै एउटा गरिब परिवारको वंश नास भएको छ। 

गत मंसीर २० गते जनकपुरको कभर्ड हलमा हुन लागेको साग खेलअन्तर्गत कुस्ति प्रतियोगिताको उद्घाटन धुमधामका साथ गरियाे। जनकपुरकाे आकाशमा बम पड्काइयाे। आतिशबाजी गरियाे। कभर्ड हल छेउकै फुटबल मैदानबाट दर्जनौंकाे संख्यामा आतिशबाजी हुँदा जनकपुरको आकाश एकाएक चहकिँलो बन्याे।

शुक्रबार राती आतिशबाजी सकिएपछि भोलिपल्ट शनिबार खेलाडीहरु खेल स्थलमा प्रतिस्पर्धा गर्न उत्रिए। तर, आयाेजकले नपड्किएकाे बम फुटबल मैदानमा त्यतिकै छाेडेर जाँदा स्थानीय शोभित राउतको ११ वर्षीय छोरा आलोक राउतको ज्यान गएकाे थियाे।  

मृतक बालकको घर जनकपुर उप–महानगर पालिका वडा न–१३ मा अवस्थित कभर्ड हल नजिकको वस्तीमा पर्छ। घरमा मृतकका आमाबुवा लगायत उनकी १२ वर्षीय दिदी अर्चना राउत छिन्। यतिबेला गाउँबाट आएकी हजुरआमा घरको रेखदेखमा जुटेकी छिन्। यता सेतो पहिरनमा नातिको क्रियामा बसेका हजुरबुवा आफ्नो छोराको अवस्था देखेर खिन्न छन्। 

बुढेसकालको सहारा जवान छोरा भएपनि छोरा–बुहारीको बुढेसकालको सहारा छिनिएको प्रति उनको चिन्ता छ।  

कक्षा ३ मा अध्यनरत बालक आलोक फुटबल संघका बाल खेलाडी समेत हुन्। घरको हरेक काममा बुवाआमालाई सघाउने आलोक बस्तिका अन्य बच्चाभन्दा फूर्तिला थिए। 

फुटबल खेल मै बढि रुचि भएकाे हुनाले बुवाले केही समय अगाडि फुटबल संघमा उनको नाम दर्ता गराएका थिए। फुटबलको राम्रो खेलाडी बन्ने आलाेककाे सपना थियो। यसै कारण बुवाले पनि छाेराका लागि केही महिनाअघि जुत्ता, जर्सी र बल खरीद गरिदिएका थिए। 

खेलकाे अभ्यासका लागि आलोक दिनहुँ ४ बजे मैदानमा पुग्थे। शनिबार छुट्टीकाे दिन भएपनि उनी अभ्यासका लागि बिहानै ७ बजे छिमेकका अन्य बालबालिकासँगै खेलकुद मैदान पुगेका थिए। तर अबोध बालक आलोकलाई के थाहा थियो? त्यो अभ्यास नै उनको जीवनको अन्तिम हुनेछ भनेर!  

साग खेलकुदका लागि धनुषा जिल्ला खेलकुद विकास समितिले आयोजक राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त रकमबाट कभर्ड हलको ढलान, प्लास्टर, रंगरोगन तथा कार्पेट ओछ्याउने लगायत सम्पूर्ण मर्मत सम्भारको काम सम्पन्न गरेकाे थियाे। तर आतिशबाजीका लागि  बिना कुनै तयारी खेलकुदको खुला मैदानको छनोट गरियो। 

आतिशबाजीका कारण मैदानको पर्खाल बीचबीचमा भत्किएको अहिले पनि हेर्न सकिन्छ। स्थानीयवासी आतिशबाजी गर्दा सो स्थानको सुरक्षा घेराबन्दी निकै फितलो पारिएकाे बताउँछन्।  

मृतक परिवारका अनुसार मंसीर २० गते आतिशबाजीपछि खेलकुद मैदानलाई लापरवाही तरिकाले खुल्ला छोडियो। फितलो सुरक्षा व्यवस्थाका कारण आसपासका स्थानीय बालबालिका भोलि बिहान शनिबार बिदाको दिन सदा झैं फुटबलको अभ्यास गर्न खुल्ला मैदानमा पुगेका थिए। 

मैदानमा भोलिपल्ट बालबालिकालाई रोक्न कुनै प्रहरी प्रशाषन सो स्थानमा खटिएकाे थिएन। न कसैले नपड्किएकाे बमका कारण जाेखिम हुन्छ भनेर बालबालिकालाई सम्झाएका नै थिए। सबै आफ्नाे तालमा मग्न थिए। रातीको समयमा भएको आतिशबाजी पछि मैदानको सरसफाई समेत नगरी त्यत्तिकै छोडिएको थियो। जसकारण फुटबलको अभ्यास गर्न पुगेका बालकको समूहले खेल्ने क्रममा क्रिकेट बलको आकारमा रहेको ठूलो पटाका भेटाएका थिए। 

मृतक आलाेकले पनि खुशी भएर साथीसँगै नपड्केको पटाका बिहान  ८ बजे तिर घर लिएर आएको आफन्त बताउँछन्। 

बुवा साेभितले छाेराले मैदानबाट उठाएर ल्याएकाे पटाकालाई नचाहिने समान भन्दै घर बाहिरको चौरमा फालेका पनि थिए। तर बलको आकारमा पहिलो पटक देखेको पटाकाबाट आलाेक यति मन्त्रमुग्ध भए। बिहान करिब ९ बजे बुवा काममा हिडेपछि आमालाई घर बाहिरको चौरमा धोएको लुगा सुकाउदै गरेको मौका छोपी उनले पुनः पटाका घर भित्र्याएका थिए। 

आलोकले पटाका घरको मुल ढोकामा बसेर नङले कोट्याउँदै गर्दा आमा चिच्याइरहेकी थिइन–न चला त्यसलाई।

तर छोरा सुन्नेवाला कहाँ थिए। उनी खेलमा यति मस्त थिए। उनकाे कानमा आमाको बाक्य पुगिरहेकाे थिएन। हेर्दा हेर्दै पटाकाको धागो तान्ने क्रममा आमाको आँखा अगाडि पटाका बिस्फोट भयो। छोराको आन्द्रा बाहिर निस्कियो। दुबै हाथ च्यातिएर आलोक गम्भिर घाईते भए। 

छोराको अवस्था देख्ना साथ आमा डाको छोडेर रुन थालिन्। उनको चिच्याहट सुनेर छिमेकीले साेभितलाई खबर गरे। 

खेलकुद विकास समिति धनुषालाई पनि घटनाको जानकारी गराइयो। 

मृतकका बुवा साेभितका अनुसार साग खेल जारी रहँदा कभर्डहलको अगाडि एम्बुलेन्सदेखी प्रहरी प्रशासनको गाडि पार्किङ गरिएको थियो। तर पीडाले छट्पटाई रहेको आफ्नो छोरालाई नजिककाे अस्पताल पुर्‍याउन साधनको सहयोग माग गर्दा कसैले टसका मस गरेनन्। मानवता त्यही लज्जित भयाे।

साेभितले छिमेकीको ट्याम्पुमा राखेर छोरालाई जनकपुर अञ्चल अस्पताल पुर्‍याएका थिए।  

जनकपुर अस्पतालमा घाईते बालकको उपचार सम्भव भएन। यसपछि साेभितले छाेरालाई धरान अस्पताल पुर्याएका थिए। 

साधन अभावका कारण घाईते बालकको सल्यक्रिया अपरान्ह १२ बजेबाट मात्र सम्भव भयाे। शनिबारदेखि सुरु गरिएको उपचार मंगलबार पुगेर टुँगियो। आलोक फर्किएनन्। उनको उपचारकै क्रममा निधन भयो। 

खेल पदाधिकारीकाे लापरवाहीले मृत्युवरण गरेका आलोकको परिवारलाई ढाड्स दिन अहिलेसम्म खेलकुदका कुनै पदाधिकारी उनको घर पुगेका छैनन्।  बुवा साेभित भन्छन्–‘मेरो छोराको ज्यानभन्दा पनि उहाँहरूलाई खेल सफल पार्नु थियो। खेल सफल भयो। उहाँहरूको ठूलो–ठूलो फोटो अखबारमा निस्कियो। तर उहाँहरुकाे लापरवाहीले मैले छोरा गुमाए।’ 

धनुषा खेलकुद विकाश समितिले आफ्नाे लापरवाही लुकाउन राउत परिवारलाई सहयाेग गरेझैं देखाउन ३५ हजार रुपैयाँ उपलब्ध गराएकाे छ। समितिले दिएकाे त्याे पैसा राउत परिवारलाई छोराको शव घर ल्याउन एम्बुलेन्स भाडामै खर्च भएकाे थियो। ‘उपचारको लागि कुनै सहयोग प्राप्त भएकाे छैन,’ उनले भने, ‘घटना भएको यतिका दिन बित्याे। कोही सोध्न आएका छैनन्।’ 

एक्लो छोराको मृत्यु आफ्नै आँखा अगाडि भएपछि मृतक आलोक कि आमा निर्मला राउत यति बेला बोल्न नसक्ने अवस्थामा छिन्। छोराको बियोगमा आमाको आँशु ओत लागेको छैन। आफन्तको भीडमा उनी अचेत अवस्थामा छिन्। छिमेकी र आफन्तले जति नै सान्त्वना दिएपनि उनको व्याकुल मनले छोरालाई खोजिरहेको हुन्छ।

बुवा शोभित राउत भने न्यायको खोजीमा प्रशासनदेखी खेलकुद समितिका पदाधिकारीकाे ढोकाढाेकामा भौतारी रहेका छन्। तर उनको आवाजकाे सुनवाई भएकाे छैन्। 

जनकपुरमा साग खेलको समापनसँगै अहिले यो घटना सेलाएको छ तर मृतक बालककाे परिवारकाे मनको घाउ न्यायका लागि तड्पिरहेकाे छ। 

मृतक बालकको घरको अवस्था दयनीय छ। मृतकका बुवा साेभित पेन्टरको काम गर्छन्। दैनिक मजदुरीबाट आएको पैसाले उनकाे  परिवार चल्छ। आम्दानीको स्रोत अरु केही छैन। ८ बर्ष साउदी अरेबियाको बसाईंपछि साेभितले केही रकम जोडेका थिए।

तर गत वर्ष विदेशबाट कमाएर राखेको नगद ५ लाख रुपैयाँ पनि चोरी भएको थियो। चोरीको घटनादेखी उदास राउत दम्पतिमाथि यस वर्ष एक्लो छोराको मृत्युले झन ठूलो बज्रपात परेकाे छ। छोरा पटाका बममा घाईते भएपछि जोगाएर राखेको केही रकम र ऋणबापत लिएकाे ६० हजार उपचारमा खर्च भएको साेभित बताउँछन्। ‘छोराको काजक्रिया गर्दा केही रकम कर्जा लिएको थिए,’ उनले भने।

पीडितको अवस्था बुझन् प्रदेश सरकारको तर्फबाट पनि राउतकाे घर काेही पुगेकाे छैन। घटनाको मुख्य दोषि खेल आयोजक राष्ट्रिय खेलकुद परिषद् तथा धनुषा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि पनि घटनाबाट बेखबर बनेका छन्। 

राउत परिवारलाई परेको पीडामा केही व्यक्तिहरू रमाइलो मानिरहेका छन्। त्यसैले कहिले राउतको घरमा ग्यास बिस्फोट भएर बच्चा घाइते। कहिले घरमै गलत तरिकाले राखिएको पटाका बम बिस्फोट भएर बालक घाइते भन्ने अनावश्यक हल्ला चलाइएको छ। यसले राउत परिवारलाई न्याय दिलाउनुको साटो बल्झेको घाउँमा झन् बढी नुन छर्ने काम भएकाे छ। 

प्रकाशित मिति: : 2019-12-26 00:24:57

प्रतिकृया दिनुहोस्