ट्रम्पमाथिको महाअभियोग न्यायिक समितिमा पारित

ट्रम्पको पनि बन्यो त इतिहास : संसदको न्यायिक समितिमा महाअभियोग प्रस्ताव पारित भएको चौंथो अमेरिकी राष्ट्रपति । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको न्यायिक समितिमा पारित भएको छ। शुक्रबार विहान समितिमा मतदान हुँदा १७ का विरूद्ध २३ मतले महाअभियोग प्रस्ताव पारित भएको हो ।

समितिका रहेका ४० सदस्यले आआफ्नो पार्टी लाइनमा मतदान गरेका थिए । समितिमा डेमोक्रेटिक पार्टीका २३ र रिपिब्लकन पार्टीका १७ सांसद रहेका छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पविरूद्ध दुईवटा अभियोग लगाइएका छन्- अधिकारको दुरुपयोग(एब्युज अफ पावर) र न्यायिक प्रकृयामा अवरोध(अब्सट्रक्सन अफ जष्टिस)।

न्यायिक समितिमा पारित भएको प्रस्ताव अब हाउस अफ रिप्रेजेन्टेटिभ्सको पूर्ण सदनमा प्रस्तुत हुने छ। प्रस्ताव त्यहाँ पारित भएका ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग लगाएको ठहरिने छ ।

हाउस अफ रिप्रेजेन्टेटिभ्समा अहिले डेमोक्रेटिक पार्टिको बहुमत भएकाले त्यहाँ ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव पारित हुने निश्चित छ ।

तर, त्यसपछि यो प्रक्रिया सदनको माथिल्लो सदन सिनेटमा जानेछ । त्यहाँ हुने मतदानमा महाअभियोग प्रस्तावको पक्षमा दुईतिहाइ चाहिने भएकाले त्यो सम्भव छैन । अहिले १०० सदस्यीय सिनेटमा रिपब्लिकन ५२ र डेमोक्रेटिकको पक्षमा ४८ सिनेटर छन् । प्रस्तावको पक्षमा दुईतिहाइ पुर्याउन २० जना रिपब्लिकन सांसदले पक्षमा मतदान गर्नुपर्ने छ। अहिलेको अवस्थामा त्यो कुनै कोणबाट पनि सम्भव देखिदैन। 

प्रकारान्तरमा ट्रम्प पनि यसअघि न्यायिक समितिले महाअभियोग लगाएको तीन जना राष्ट्रपतिकै लहरमा उभिएर चौथो राष्ट्रपति हुनेछन् । यसअघि एन्ड्रु जोन्सन, रिचर्ड निक्सन र विल क्लिन्टनमाथिको महाभियोग समितिले पारित गरेको थियो ।

 

प्रकाशित मिति: : 2019-12-14 02:48:44

प्रतिकृया दिनुहोस्