ट्रम्पविरूद्ध महाअभियोग लगाउने आधारपत्र सार्वजनिक

बढ्दैछ तनाव, उड्दैछ कपाल ! फाइल तस्बिर : एजेन्सी ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने मार्गप्रशस्त गर्ने एक प्रतिवेदन सार्वजनिक भएको छ।

ट्रम्प-युक्रेन महाभियोग अनुसन्धान नाम दिइएको तीनसय पृष्ठको प्रतिवेदनमा उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको उल्लेख छ।

प्रतिवेदन संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले तयार गरेको हो। दुई महिनाभन्दा धेरै समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ। 

प्रतिेवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पुर्‍याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएको छ। प्रतिवेदन गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिका अध्यक्ष एडम शिफले सार्वजनिक गरेका हुन्।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने क्रममा तयार पारिएको 'ट्रम्प-युक्रेन महाभियोग अनुसन्धान' संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले पारित गरेको छ। अब न्यायसम्बन्धी समितिले औपचारिक रूपमा महाअभियोग लगाउने बुँदागत अभियोग प्रस्ताव तयार गर्ने बताइएको छ।

यसैबीच ह्वाइट हाउसले उक्त प्रतिवेदनलाई एकपक्षीय भन्दै तीखो आलोचना गरेको छ। उसले महाअभियोगका लागि अनुसन्धान प्रक्रियालाई नै नक्कली प्रक्रिया भनेको छ।

ट्रम्प-युक्रेन महाभियोग अनुसन्धान प्रतिवेदनका आधारमा तल्लो सदनकै न्याय हेर्ने अर्को समितिले अब राष्ट्रपति ट्रम्पमाथि औपचारिक रूपमा महाअभियोग लगाउने प्रस्ताव तयार गर्ने बताइएको छ। यस हिसाबले हेर्दा ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया एक कदम अगाडि बढेको छ। 

राष्ट्रपति ट्रम्पविरूद्ध शक्तिको दुरुपयोग, न्याय प्रक्रियामा अवरोध र सदनलाई बेवास्ता वा निन्दा गरेको सहितका आरोपमा महाअभियोगको लगाउने प्रक्रिया जारी छ।

प्रकाशित मिति: : 2019-12-04 08:45:04

प्रतिकृया दिनुहोस्