बाल जोशी चुनिए डालसका चेम्बर नेता

इतिहास र वर्तमान : संस्थापक अध्यक्ष भण्डारी र नवनिर्वाचित अध्यक्ष बाल जोशी । तस्बिर : नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स, डालस टेक्सस

अमेरिकाको टेक्सास राज्यको डालस पछिल्लो समय अमेरिकाकै मिनी नेपालका रूपमा विकसित हुदैछ । ब्यापार ब्यावसायमा लागेर तरक्की गर्ने नेपालीको संख्या बढेसँगै उनीहरूले नेपाली व्यवसायीलाई सङ्गठित गर्ने उद्देश्यले पेशागत संस्था पनि स्थापना गरेका छन् ।

सन् २०१५ मा स्थापना भएको नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स, डालस टेक्ससले हरेक दुई वर्षमा नयाँ नेतृत्व पाउँदै आएको छ । यही क्रममा आगामी २०२०-२०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ। 

बाल जोशीको अध्यक्षतामा निर्विरोध चयन भएको नयाँ नेतृत्वको उपाध्यक्षमा सुदिप अधिकारी, महासचिवमा प्रदिप गिरी, सचिवमा डा. शिलु घिमिरे न्यौपाने र कोषाध्यक्षमा स्मृति कार्की रहेका छन् भने कार्यसमिति सदस्यहरूमा डा. विष्णुमाया उपाध्याय, सन्तोष चौधरी, सुरेश पोख्रेल, कृष्ण भण्डारी, शैलेन्द्र मानन्धर, सुनिल गौतम, विजयराज भट्टराई, प्रेम शाही र सुरज पौड्याल रहेका छन्।

केही समयअघि चयन भएको नयाँ नेतृत्वले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त वासुदेव भण्डारीले सपथ ग्रहण गराएका थिए। 

 

सपथ ग्रहणपछि आयोजित कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव भण्डारी, निबर्तमान अध्यक्ष मनोज सिग्देल र नवनिर्वाचित अध्यक्ष वाल जोशीले आआफ्नो मन्तव्य राखेका थिए । उनीहरूले संस्थाको इतिहास, वर्तमान र भविष्यका बारेमा प्रकाश पार्दै संस्थाको औचित्य, आवश्यकता र गरीमाको सन्दर्भ उप्काएका थिए । 

निर्वाचन समितिकी सदस्य डा. सङ्गीता तिवारीले स्वागत गरेको कार्यक्रम निर्वाचन समितिका सदस्य महेन्द्र पौडेलले सञ्चालन गरेका थिए । 

प्रकाशित मिति: : 2019-11-23 23:16:19

प्रतिकृया दिनुहोस्