अन्तत: ट्रम्पले 'बाइबाइ' गरे न्युयोर्कलाई !

बाइबाइ न्युयोर्क : मौका मिले फेरि भेटौला । फाइल तस्बिर

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो करसम्बन्धी कागजात सार्वजनिक नगर्ने अन्तिम उपायका रूपमा न्युयोर्क नै छोड्ने निर्णय गरेका छन् ।

न्युयोर्कका डेमोक्रेट्सहरू ट्रम्पको पोल खोल्ने अचुक अश्त्र ठानिएको करसम्बन्धी कागजात सार्वजनिक गर्न हात धोएर लागेपछि अत्तालिएका उनले अन्तत: यस्तो निर्णय गरेका हुन् ।

उनले आफ्नो स्थायी ठेगाना न्युयोर्कको म्यानहट्टनस्थित ट्रम्प टावरको सट्टा फ्लोरिडाको पामविचस्थित मार ए लागो रिसोर्ट बनाएका छन् । उनले त्यहाँ प्रथम महिला मेलानियासहित आफ्नो नाम मतदाता सूचीमा पनि दर्ता गरेका छन् ।

अन्तत: डोनल्ड ट्रम्पबाट न्युयोर्कले मुक्ति पाएको छ । न्युयोर्क र न्युयोर्कबासीले उनीबाट मुक्ति पाएको छ । यसको अर्थ हो एउटा क्रोनिक समस्याबाट न्युयोर्कले छुटकारा पाउनु । 
- एन्ड्रयु कुमो, गभर्नर न्युयोर्क 

ट्रम्पले ट्विट गर्दै यसको पुष्टी गरेका छन् । आफूले बर्सेनी करोडौ कर तिरे पनि न्युयोर्कका नेताले आफूसँग गलत ब्यवहार गरेको भन्दै यस्तो अप्रिय निर्णय लिनुपरेको बताएका छन् । उनले न्युयोर्कका जनताले आफूलाई माया गरेको पनि बताएका छन् । 

ट्रम्पले न्युयोर्कका डेमोक्रेट नेताहरूप्रति रोष प्रकट गरेकोमा गभर्नर कुमोले त्यसको जवाफ दिएका छन् । उनले अन्तत: ट्रम्पबाट न्युयोर्कले मुक्ति पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

आफूले बर्सेनी करोडौ कर तिरे पनि न्युयोर्कका नेताले आफूसँग गलत ब्यवहार गरेकोले यस्तो अप्रिय निर्णय लिनुपरेको हो । न्युयोर्कका जनताले भने आफूलाई माया गरेका हुन् । 
- डोनल्ड ट्रम्प, राष्ट्रपति अमेरिका 

राष्ट्रपति ट्रम्प आफ्नो करसम्बन्धी कागजात संसदलाई दिनु भनेर न्युयोर्कको म्यानहट्टस्थित एक न्यायालयले दिएको निर्णयबाट अतालिएका छन् । बुधबार नै दिनुभन्ने आदेश दिएकोमा त्यसलाई रोक्न उनी रातारात सर्वोच्च अदालतमा अर्जी लगाउन पुगे । रूढीवादी न्यायाधीशको बहुमत रहेको सर्वोच्च अदालतले तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न एक आदेश जारी गर्दै उनलाई राहत दिएको छ ।

दुई युवतीलाई रासलीला मच्चाउन ट्रम्पले दिएको हस मनीको विवरण कर दाखिलासम्बन्धी कागजातमा स्पष्टरूपमा हुने र त्यसले ट्रम्पलाई गम्भीर संकटमा पार्ने अनुमान गरिएको छ । त्यही हस मनीको भुक्तानीमा संलग्न उनका पूर्व वकील अहिले जेलमा छन् । र, उनले त्यसमा ट्रम्पको दोष देखाृका छन्। तर, ट्रम्पले भने त्यसको खण्डन गर्दै आएका छन् ।

यसमा ट्रम्प नराम्ररी फस्ने देखिएपछि राष्ट्रपतिलाई फौजदारी मुद्दा लगाउन नपाइने भनेर उनका वकीलहरू अर्को बाटो खोजिरहेका छन्। उनका आलोचकहरू भन्छन्, राष्ट्रपतिबाट हटेपछि ट्र्मप जेल जाने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । त्यसैले उनी जसरी भए पनि दोस्रो कार्यकाल लम्ब्याउन चाहन्छन्, महाअभियोग छल्न चाहन्छन् र करसम्बन्धी मुद्दा पनि तन्काउन चाहन्छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएर न्युयो्क नै फर्कदा उनी कुनै पनि समय जेल जान सक्ने भएकाले उनले त्यसबाट बच्ने द्वयाकअप प्लानका रूपमा फ्लोरिडा ठेगाना सारेको राजनीतिक पण्डितहरू बताउँछन् । 

प्रकाशित मिति: : 2019-11-20 19:51:41

प्रतिकृया दिनुहोस्