अमेरिकामा नेपालभन्दा एक दिनअगाडि नै तीज : कसैले मनाउला त ?

श्रद्धापूर्वक तीजको व्रत लिएर महादेव-पार्वतीको आराधना गर्दै एक हिन्दू महिला । फाइल तस्बिर ।

अमेरिकामा रहेका केही नेपाली ज्योतिषीहरू नेपालभन्दा अगाडि नै चाडबाड मनाउनुपर्छ भन्ने लंगडो तर्क गरिरहेका छन् । तर, केही धर्मभिरूलाई उनीहरूको कुरा मन परे पनि आम नेपालीलाई भने त्यो कुरा मन परिरहेको छैन ।

नेपालभन्दा लगभग १२ घण्टा ढिलो समय रहेको अमेरिकामा कसरी कुनै पनि चाड पहिला आउँछ ? यसका लागि ज्योतिषहरूले समय पूर्वबाट पश्चिमतिर अगाडि बढ्ने भए पनि तिथिचाँहि पश्चिमबाट पूर्वतिर सर्ने तर्क दिए पनि आजको वैज्ञानिक युगमा समय नै सत्य भएकाले उनीहरू त्यसलाई पत्याउन तयार छैनन् । 

यसैक्रममा अमेरिकामा नेपाली हिन्दू महिलाको रमझम चाड हरितालिका तीज पनि एक दिन अगाडि सारिएको छ । नेपालमा यस वर्ष सेप्टेम्बर २ मा पर्ने यो चाड अमेरिकामा सेप्टेम्बर १ मै मनाउन केही पण्डितहरूले सुझाएका छन् । यसरी अमेरिकामा एक दिन अगाडि नै तीजको साइत जुराइदिने पण्डितहरूमा अमेरिकाको टेक्सासस्थित पशुपतिनाथ तथा वुद्ध मन्दिरका मुख्य पूजारी डा. शेखर पण्डित र पूजारी आचार्य मेघराज निरौला रहेका छन् । उनीहरूले अगस्ट ३१ मा दर खाने, सेप्टेम्बर १ मा हरितालिका तीजको व्रत बस्ने र सेप्टेमबर ३ मा ऋषिपञ्चमी मनाउनुपर्ने बताएका छन् । 

तीज त जहिले मनाए पनि हुने भएकाले खासै फरक नपर्ला तर दशैको टीका भने नेपालमा आमाबुबाले नलगाई अमेरिकामा एक दिन अगाडि नै लगाइएला त ? परापूर्वकालदेखि नेपालकै साइतमा अमेरिकामा दशैंको टिका लगाउँदै आएका नेपालीले केही धर्मभिरूले भन्दैमा एक दिन अगाडि नै टीका लगाउलान् त ? 

उनीहरूको साइतलाई पछ्याउन नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हुन त अमेरिकामा छुट्टी मिलाएर चाडपर्व मनाइने भएकाले यसले खासै अर्थ नपार्ने एकथरिको तर्क छ । त्यसमा पनि तीज त कम्तिमा पनि एक महिना मनाइने भएकाले यसको साइत जहिले निकाले पनि फरक पर्दैन, उनीहरू भन्छन् ।  तीजलाई पार्टीका रूपमा मनाउन थालिएको यो बेला तीजको व्रत बस्ने, ऋषिपञ्चमीमा नुहाउने कति नै महिला होलान् र ? उनीहरू यस्तो प्रश्न गर्न पनि पछि पर्दैनन् ।

हिन्दू धर्मका केही विरालो बाँधेर श्राद्ध गर्नुपर्छ भन्ने खालका धर्मभिरू 'पण्डाहरू'मा वैज्ञानिक तथ्यलाई सहज रूपमा मान्ने सोच र चिन्तनको अभाव रहदै गएकाले यो धर्म खुम्चिदै गएको बताइन्छ । अमेरिकामा नेपालमा भन्दा एक दिन छिटो चाड मान्ने साइत निकाल्नु पनि त्यही अधोगतिको परिणाम हो ।

तीज त जहिले मनाए पनि हुने भएकाले खासै फरक नपर्ला तर दशैको टीका भने नेपालमा आमाबुबाले नलगाई अमेरिकामा एक दिन अगाडि नै लगाइएला त ? परापूर्वकालदेखि नेपालकै साइतमा अमेरिकामा दशैंको टिका लगाउँदै आएका नेपालीले केही धर्मभिरूले भन्दैमा एक दिन अगाडि नै टीका लगाउलान् त ? 

उनीहरूको यो निर्णयले भ्रम सिर्जना गर्ने भएको बताउँदै केही युवा नेपालीले यस्तो उटपट्याङ काम गरेर हिन्दू धर्मलाई उपहासको विषय नबनाउन अनुरोध पनि गरेका छन् । 

प्रकाशित मिति: : 2019-08-29 08:54:19

प्रतिकृया दिनुहोस्