अमेरिका र इरानका परस्पर विरोधी दावी : अमेरिका भन्छ- 'ड्रोन खसालें, इरान भन्छ- 'हैन'

इरानी ड्रोनलाई लिएर अमेरिका र इरानका परस्पर विरोधी दावी । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स लेआउट ।

खाडी क्षेत्रको ‘स्ट्रेट अफ होर्मुज' मा एक इरानी ड्रोनको भविष्यलाई लिएर अमेरिका र इरानले परस्पर विरोधी दावीहरू सार्वजनिक गरेका छन् । यता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक इरानी ड्रोन खसालेको दाबी गरेका छन् । तर, उता तेहरानमा इरानी उपविदेशमन्त्री अब्बास आरागचीले इरानका सबै ड्रोन सुरक्षित रूपमा फर्किसकेको बताएका छन् । 

राष्ट्रपति ट्रम्पका अनुसार ‘स्ट्रेट अफ होर्मुज’ मा अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरको दूरीमा देखिएको  इरानी ड्रोन ‘यूएसएस बक्सर’ ले खसाली दिएको हो । उनले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरिरहेको आरोप लगाउँदै अमेरिकाले आफ्ना अधिकारी, सामग्री र स्वार्थ रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएका छन् ।

इरानी उपविदेशमन्त्री अब्बास आरागचीले ड्रोन खसालेको दाबी अस्विकार गर्दै इरानको कुनै पनि ड्रोन अमेरिकी पानीजहाजसँग आमनेसामाने नभएको दाबी गरेका छन्ब । उनले इरानका सबै ड्रोन सुरक्षित रूपमा फर्किसकेको पनि जानकारी दिए । 

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अलग भएको घोषणा गरेर ‘तेहरानमाथि कडा आर्थिक प्रतिबन्ध’ लगाएपछि दुई देशबीच तनाव बढेको छ । त्यसयता अमेरिकाले खाडीमा आफ्नो उपस्थिति बढाइरहेको छ भने केही समयअघि मात्र इरानले एक अमेरिकी ड्रोन खसालिदिएको थियो ।

गत मे र जुन महिनामा इरानले दुई पटक ओमानको खाडीमा तेल ट्यांकहरूमाथि आक्रमण गरेको अमेरिकाको आरोप लगाएको थियो भने तेहरानले त्यसको खण्डन गर्दै आएको छ ।




प्रकाशित मिति: : 2019-07-19 23:43:16

प्रतिकृया दिनुहोस्