अमेरिकामा नेपालीमूलका अमेरिकीहरूको संस्था नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सन (एनएएएफए) गठन गरिएको छ। मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्ढारीको नेतृत्वमा गठित एनएएएफए अमेरिकामा रहेका गैरआवासीय नेपालीका लागि हैन, अमेरिकन नेपालीका लागि स्थापना गरिएको पहिलो यस्तो संस्था हो।
मेरिल्याण्डको बाल्टिमोरमा एक विशेष कार्यक्रमबीच एनएएएफएको विधिवत् उद्घाटन गरिएको छ।उद्घाटन समारोहमा डेमोक्रेटिक पार्टीकी मेरिल्याण्ड सभापति माया रकीमोर प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। उनले संस्थाको विधिवत उद्घाटन गर्दै यसको पूर्ण सफलताको कामना गरिन्। शुभकामना मन्तव्यका क्रममा उनले अमेरिकी सपना लिएर विश्वभरबाट आउनेका लागि अमेरिका अथाह सम्भावनाको देश भएको बताउँदै हरेक समुदायलाई आफ्नो ओरिजिनसँग जोडिने र त्यसका असल कुराहरूले अमेरिकालाई सिञ्चित गरेर समृद्ध बनाउने अधिकार र कर्तव्य रहेको बताइन्। उनले अगाडि भनिन्- अमेरिकाको नागरिक भैसकेपछि उनीहरू मूलत: अमेरिकी हुन जरूरी छ, त्यसपछि उनीहरूले आफ्ने जन्मभूमि र ओरिजिनका लागि पनि योगदान गर्नुपर्छ। त्यही नै अमेरिकी मूल्य र मान्यता हो।
उद्घाटन समारोहमा अमेरिकाका लागि अर्को व्यवस्था नभएसम्मका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले संस्थाको नेतृत्वलाई वधाई तथा संस्थालाई शुभकामना दिए। उनले यो संस्था अमेरिकन नेपाली र नेपालीबीचको भाइचारा, सहकार्य र सद्भावको पुल बन्नेमा आफू विश्वस्त रहेको बताउँदै यसले अमेरिकी नेपालीको सोच र कोेणलाई प्रतिविम्वित गर्नुपर्ने बताए।उनले आप्रवासीका माध्यमबाट हुने सांस्कृतिक कूटनीतका बारेमा आफ्नो धारणा पनि राखे। नेपाली आप्रवासीले पनि नेपाली संस्कृति भित्राएर अमेरिकालाई समृद्ध बनाएको उनको धारणा थियो।
मेरिल्याण्ड स्टेट सिनेटर क्याथी क्लाउज मेएरले स्टेट डेलिगेट ह्यारी भण्डारीको प्रसंग उप्काउँदै भनिन्- 'ह्यारीले पहिलोपटक निर्वाचनमा भाग लिनुअघि मसँग भेटेर डेमोक्रेटिक पार्टीको कुनै समितिमा जाने ईच्छा मात्र देखाएका थिए। मैले उनलाई सांसदमा उम्मेदारी दिने सल्लाह दिएको थिएँ।पहिलोपटक सफलता हासिल नभए पनि दोश्रोपटकमा बिजयी भएर राम्रो काम गरिरहेका छन्।यसो भन्दा खुशी लाग्छ।'
समारोहमा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर लिडरशिप परिषदका निर्देशक देभांग शाह, साउथ एसियन अमेरिकनका लागि गभर्नरका आयुक्त डा. श्याम कार्की, मेरिल्याण्ड इन्डिएन हेड नगर उपप्रमुख किरण सिटौला, हर्नडन नगर परिषद सदस्य प्रदीप ढकाल, एएनएका अध्यक्ष मेदिनी अधिकारी, पत्रकार तरूण पौडेलले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए।
अमेरिकन्स एलाइन्स फर एक्सन (एनएएएफए )का शिक्षा, सम्मिलन र नीति प्रमुख प्रा. डा. उत्तम गौलीले संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सेकेण्ड भाइस प्रेसिडेन्ट अर्जुन हमालले संस्थाका बारेमा प्रकाश पारेका थिए।
मेरिल्याण्ड डेमोक्रेटिक दलका कार्यकारी निर्देशक बेन स्मिथले सञ्चालन गरेको कार्यक्रममा उनले नै सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रमको प्रारम्भमा नेप्लिज अमेरिकन्स एलायन्स फर एक्सन (एनएएएफए) का अध्यक्ष ह्यारी भण्डारीले सबैलाई स्वागत गर्दै एनएएफए स्थापना गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए। उनले भने- हामी मातृभूमि नेपालका ऋणी छौं र सकेको त्यो ऋणबाट मुक्त हुन प्रयत्न गर्छौ नै। यसबीचमा हामी आफ्नो राजिखुशीसाथ अमेरिकन भएका छौं, त्यो हुनुको नाता हाम्रो यो देशप्रति पहिलो दायित्व बनेको छ। त्यसैले अब हामीले नेपालीको आँखाबाट हैन, अमेरिकी नेपालीको आखाबाट हरेक विषयवस्तुलाई हेर्नुपर्ने हुन्छ। त्यसैका लागि यो संस्था स्थापना गरिएको हो।'
उनले एनएएएफए नेप्लिज अमेरिकनको एक राष्ट्रव्यापि स्वयंसेवी संस्था भएको जानकारी दिदै यसले अमेरिकामा रहेको नेप्लिज अमेरिकी समुदाायलाई जोडेर एक साझा दृष्टिकोण बनाउने बताए। उनले अगाडि भने- 'यसब़ स्रोत र विचारलाई गतिशील बनाउन पनि योगदान दिन्छ।'
समारोहमा नेजा महासचिव किरण मरहट्टाको पुस्तक ‘हु इज हु’ इन द युएसए' को लोकार्पण पनि गरिएको थियो। लेखक मरहट्टा पश्चिमी राज्य क्यालिफोर्नियामा पुस्तक लोकार्पण गरेर त्यसको प्रवर्द्धनात्म्क भ्रमणका लागि बाल्टिमोर पुगेका थिए। उनका लागि यो समारोह एक अप्रत्यासित प्लेटफर्मका रूमा स्मरणीय रहने खालको भयो।