अमेरिकाको पूर्वीतटीय राज्य मेरिल्याण्डको बाल्टिमोरमा आउँदो जुलाई ५ देखि ७ सम्म नेपाली राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको छ।
सम्मेलनको आयोजना अमेरिकाको नेपाली डायस्पोरामा रहेका चार नेपाली संस्था– एसोशियसन अफ नेपालीज इन दी अमेरिका(एनएनए), एसोशियसन अफ नेप्लिज इन मिड–वेस्ट अमेरिका (एएनएमए), अन्तर्राष्ट्रिय साहित्य समाज(आईएनएलएस) र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।
बाल्टिमोरको नेपाली संस्था बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) स्थानीय आयोजक रहने नेपाली सम्मेलनको संरक्षक अमेरिकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत रहेका छन्। यसैगरी एएनए बोर्ड अफ डाइरेक्टर विजय श्रेष्ठ अध्यक्ष, बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष सुवोध विलास पन्त संयोजक र एएनए सल्लाहकार कुलमणि आचार्य सम्मेलनको स्थानीय अध्यक्ष रहेका छन्।
सम्मेलन २००४ ग्रीनस्प्रिङ ड्राइभ टिमोनियम बाल्टिमोरस्थित रेडलाइन होटलमा आयोजना हुने छ।
आयोजकका तर्फबाट एसोशियसन अफ नेपालीज इन दी अमेरिका(एनएनए) का सभापति मेदिनी अधिकारी, एसोशियसन अफ नेप्लिज इन मिड–वेस्ट अमेरिका (एएनएमए) का सभापति बलराम पन्थी, अन्तर्राष्ट्रिय साहित्य समाज(आईएनएलएस) का सभापति राधेश्याम लेकाली र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) का सभापति सुवोध विलाश पन्तले एक संयुक्त विज्ञप्ती जारी गरेका छन्।
नेपालीहरुको एउटै र संगठित आवाज भयो भने मात्र प्रवासमा हाम्रो उपस्थिति बलियो र देखिने खालको हुन्छ भन्ने विश्वास उनीहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।सम्मेलनमा सहकार्य र सहभागिताका लागि अमेरिकाभरका नेपाली संघ-संस्था र नेपालीलाई आव्हान पनि गरिएको छ।