अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै बन्ने भयो- 'काठमाडौं भिलेज'

अमेरिकाको राजधानी वासिङ्टन डीसी मेट्रो एरियामा काठमाडौं भिलेज बनाइने भएको छ। यस क्षेत्रका १८ नेपाली परिवारले मेरिल्यान्ड राज्य सरकारसँग जग्गा किनेर सामुदायिक नेपाली आवास क्षेत्र निर्माण गर्न लागेका हुन्।

आयोजनाका एक अभियन्ता आर. के. धमलाका अनुसार उनीहरूले काठमाडौं भिलेजका लागि मेरिल्यान्डको डिष्ट्रिक हाइटमा ११.४८ एकड अर्थात् झन्डै ९४ रोपनी जग्गा खरिद गरेका छन्। अप्रिल २३ मा जग्गाको धनीपुर्जा उनीहरूको हातमा आएको छ।

ख़रिद गरिएको जमिनमा 'काठमान्डौ भिलेज' नामक सामुदायिक बस्ती बनाइने उक्त आयोजनाका एक अभियन्ता आर के धमलाले जानकारी दिएका छन्।सांस्कृतिक र सामाजिक दृष्टिकोणले पनि नेपाली जाति समुदायमै बस्न रुचाउने भएकोले धेरैजना मिलेर एकै ठाउमा घर बनाएर बसोवास गर्नका लागि यो परीक्षण आयोजना हुनेछ, धमलाले ब्रेक एन लिंक्सलाई बताए।

सामुदायिक बस्तीको औचित्यका बारेमा प्रकाश पार्दै धमला भन्छन्- 'बिशेषत: नेपाली चाडपर्व, सांस्कृतिक उत्सव र घरको पूजाआजालगायतमा नेपाल खट्किने अनुभव सबैलाई छ। नेपालबाट बुबा-आमाहरु आउँदा हिडेर जाने ठाउँमा मन्दिर र सार्वजनिकस्थान नहुनाले हामी सबैको मन चसक्क छोएकै हुन्छ।त्यसैले हामी १८ परिवार मिलेर एउटा परीक्षण गरौं भनेर सल्लाह गर्यौ ।यहाँको काउन्टीले घर बनाउन दिने हो भने हामीले चाहेको पुग्छ होला भनेर जग्गा खोजी गर्यौ र अप्रिल २३मा जग्गा किन्न सफल भएको छौ।

प्रस्तावित काठमाडौं भिलेज सामुदायिक बसोवास आयोजनाको बारेमा थप जानकारी दिदै धमला भन्छन्- 'यो जग्गा वासिङ्टन डीसीको केन्द्र भाग, यहाँको संसद भवन क्यापिटल हिलबाट नौ माइलको दुरीमा, यहाको रिङ्गरोड अर्थात् क्यापिटल बेल्टवे भित्र पर्छ।'

यहाको काउन्टी र स्थानीय कानुनको परिधिभित्र रहेर, एउटा मन्दिर, एउटा सामुदायिक हल, सानो खेल्ने चौरसहितको ३० देखि ४० वटा घर हुनसक्छन भन्ने अनुमान गरेको बताउँदै उनले भने- 'हामीले काठमाडौं भिलेज बनाउँन सक्यौै भने यो एक नमुनाबस्ती हुनेछ र अरू ठाउँका नेपालीले पनि यो अभ्यास गर्नेछन्।'

जग्गाको ठेगाना:1705 Ritchie Road, District Heights, MD 20747

 

प्रकाशित मिति: : 2019-04-25 06:36:49

प्रतिकृया दिनुहोस्