नेपालको फुच्चे स्याटलाइट 'पाँच मिनेट' मात्र रहन्छ नेपाली आकाशमा

फुच्चे नेपाली स्याटलाइटको ठुलो हल्लिखल्ली ..! स्केच: कान्तिपुर

नेपालले अन्तरिक्षमा पठाएको फुच्चे स्याटलाइट 'नेपास्याट-१' नेपाली आकाशमा पाँच मिनेट मात्र रहने बताइएको छ। 

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाका अनुसार अहिले अन्तरिक्ष केन्द्रमा स्टोरेज गरिएको फुच्चे स्याटलाइट जुलाई २३ मा अन्तरिक्षमा छोडिने छ। 

नेपास्याट १ लाई लिएर गएको अन्तरिक्ष यानले जुलाई २३ मा अन्तरिक्ष केन्द्र छोड्दा उसले यसलाई पनि अन्तरिक्षमा छोड्ने हो। 

नेपाली आकाशमा पाँच मिनेट रहने, १.३ किलोको त्यो पनि जापानले बनाएर अमेरिकाले उडाइ दिएको एउटा फुच्चे स्याटलाइटका बारेमा बढी नै हल्ला भएको भनेर अहिले त्यस विषयका जानकारहरूले बोल्न थालेका छन्। 

दूरसञ्चारमा विद्यावारिधि गरिरहेका मधुसूदन दाहलले ठूलै हल्ली–खल्ली गरिएको यो विषय यसको खास हकदार नभएको विचार राखेका छन्। उनी भन्छन्- 'यो विशुद्ध अध्ययन–अनुसन्धानका लागिमात्र बनाइएको हो । यस्ता स्याटेलाइटहरू जापानका धेरै विश्वविद्यालयका लागि यति सामान्य हुन्, कलेज स्तरमै यिनको प्रतिस्पर्धासमेत हुने गर्छ ।'

हामी पुग्नुपर्ने बाटो निकै टाढा भएको बताउँदै उनले भनेका छन्- 'न्यानो स्याटेलाइटले  कम्तीमा जाने बाटो त देख्न सकेका छौं।'

उनी अगाडि भन्छन्- 'त्यति धेरै तामझम गरिएको विषय अब विस्तारै सेलाउँदै नजाओस् ।'

नेपाली समाजमा कुनै पनि विषय वा घटना नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो हुने स्थिति छ तर फुच्चे स्याटलाइट 'नेपास्याट-१' भने यसमा अपवाद देखियोस्, सबैको यही कामना छ। 

 

प्रकाशित मिति: : 2019-04-24 10:15:08

प्रतिकृया दिनुहोस्